पाल्पा । नेपाल रेडक्रस सोसाइटी श्री कालिका उपशाखा र लायन्स क्लव अफ पाल्पा प्राईडको आयोजना तथा शसस्त्र प्रहरी बल ३५ नं. गुल्म र नेपाल प्रहरीको सहकार्यमा तानसेनको श्रीनगरमा आगलागी नियन्त्रणका लागि बन उपभोक्ता, महिला समूह, टोल विकास तथा स्थानीय जनसमुदायको सहभागीतामा सचेतना तथा घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
हरेक वर्ष आगलागी भइरहने स्थानमै गएर आगलागीको घटना अभ्यास गरिएको हुँदा स्थानीय जनसमुदाय लाभान्वीत भएका छन् । फागुन देखी जेठ महिना सम्म आगलागीको उच्च जोखिम हुने गर्दछ त्यसका लागि पूर्व तयारीका लागि हरेक घरमा जगेडा पानी जम्मा गरी राख्ने, जंगलमा अग्नीरेखा बनाउने र नियमित सरसफाई गर्ने , आगो नियन्त्रणका लागि घरमै राख्न सक्ने सामग्रीहरु तयारी राख्ने र आवश्यकता अनुसार प्राथमिक उपचारका सामग्री समेत राख्नु पर्ने कुराहरुको छलफल गरीएको थियो ।
घटना अभ्यासमा जंगलमा आगो लगाएर कुन भागबाट निभाउदा सुरक्षित तरीकाले निभाउन सकिन्छ र कति दुरीमा अग्नी रेखा बनाउने भनेर अभ्यास समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा तानसेन वडा नं. ५ का अध्यक्ष राम बहादुर रावल, १ का अध्यक्ष सुनिल कुमार बस्याल, नेपाल रेडक्रस सोसाइटी पाल्पाका सभापति बाबुराम कार्की, नेपाल प्रहरीका इन्सपेक्टर कमल प्रधान, शसस्त्र प्रहरीका इन्सपेक्टर कमल पन्थी, नेपाल रेडक्रस सोसाइटी पाल्पाका कार्यालय प्रमुख बिनोद भारती लगाएतले आ–आफ्नो धारणा राख्दै प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम संस्थाकी सचिव कलावती दाहालको संचालन र सभापति एन्जिना खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।