युबराज थापा
प्रति जैविक (Antibiotic) त्यस्तो औषधि हो, जुन सुक्ष्म जीवनहरूबाट वा रासायनिक प्रतिक्रियाबाट उत्पादन गरी सुक्ष्म जीवाणहरूको विरुद्धमा तिनीहरूलाई मार्न वा तिनीहरूको वृद्धि र विकास रोक्नको लागि अर्थात् जीवाणु जन्य (Bacterial) संक्रमण तथा रोगको उपचारको लागि प्रयोग गरिन्छ । कुनै पनि जीवाणुजन्य रोगलाई पूर्णरुपमा निको पार्नको लागि चिकित्सक तथा स्वास्थ्यकर्मीले जाँचेर रोगको निधान गरिसकेपछि रोगको प्रकृति र अवस्था अनुसार प्रतिजैविक (Antibiotic) औषधिहरू नियमित र सही मात्रामा सही समयमा कम्तिमा पाँच देखि सात दिनसम्म प्रयोग गर्नुपर्दछ । जसले सूक्ष्मजीवाणु (Micro-organism) लाई मार्दछ र रोग निको पार्दछ, तथापि हाम्रो जस्तो विकासशील देश तथा समुदायमा चेतनाको कमी आर्थिक अवस्था कमजोर साथै लापरवाही जस्ता विभिन्न कारणले प्रतिजैविक औषधिहरूको समुचित प्रयोग (Rational use) हुन सकेको छैन ।
कतिपय अवस्थामा पढेलेखेका सभ्य र शिक्षित नागरिकहरूले पनि एन्टिबायोटिक साथै अन्य औषधिहरूको उपयुक्त प्रयोगमा व्यवस्था गरेको पाइन्छ । हाम्रो समुदायका आम मानिसहरू रोग लागेपछि ढिलो गरी स्वास्थ्य संस्था पुग्ने र चिकित्सकले जाँचेर सिफारिस (Prescribe) गरेको औषधिहरु सकेसम्म खान दुःख मान्ने र खाए वा प्रयोग गरिहाले पनि नियमित रुपमा प्रयोग नगर्ने प्रचलन व्याप्त छ । प्रतिजैविक औषधिहरूको दुईचार मात्रा (2/4 Dose) प्रयोग गरेपछि रोगको चिन्ह र लक्षणहरू केही मात्रामा कमी हुने भएकाल बिरामी तथा सर्वसाधारणहरूले यसलाई निको भएको भ्रमपूर्ण अनुभूति गर्दछन् र औषधि प्रयोग गर्न बीचमै बन्द गरिदिन्छन् । जसले गर्दा जुन जीवाणुको विरुद्धमा सिफारिस गरिएको प्रतिजैविक औषधिको दुई चार मात्रले मात्र पूर्ण रुपमा मार्न सक्दैन र यसरी अपुरो प्रतिजैविक औषधिको मात्राको प्रयोगबाट घाइते भएर बाँचेका जीवाणुहरूले उक्त प्रतिजैविक औषधि विरुद्ध Antibody विकास गरी आफूलाई बचाउन सफल हुन्छन् र पुन यस्तै प्रकृतिको रोग लाग्दा उक्त प्रतिजैविक औषधिहरुले काम गर्न वा ती जीवाणुहरूको विरुद्धमा असर गर्न सक्दैन जसलाई हामी एन्टीबायोटिक रेसिस्टेन Antibiotic/Antimicrobial Resistance (AMR) भनिन्छ । Antibiotic resistant हुनुमा बिरामी साथै बिरामीको अभिभावक वा कुरुवा साथै चिकित्सक र स्वास्थ्यकर्मीहरू पनि उत्तिकै जिम्मेवार रहेको पाइन्छ ।
धेरैजसो बिरामीहरुले औषधि प्रयोग गरेपछि तुरुन्त निको हुन चाहने (Quick result) र सकेसम्म थोरै औषधिको मात्रा खान चाहनाले गर्दा एन्टी माइक्रोबियल रेसिस्टेन्ट बढ्दै गएको छ भने अर्को तर्फ नेपाल जस्तो भूपरिवेष्ठित मुलुकमा एन्टिबेटिक सिफारिस गर्नका लागि गरिनुपर्ने सम्पूर्ण प्रयोगशाला सेवाहरू सबै ठाउँमा नभएका कारणले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले धेरै जसो अवस्थामा बिरामीहरूको चिन्ह र लक्षणका आधारमा मात्रै पनि एन्टीबायोटिक सिफारिस गर्नुपर्ने अवस्था छ। जसले गर्दा बिरामी तथा आम जनताहरुले अनावश्यक प्रतिजैविक औषधिहरु साथै अन्य औषधिहरु पनि प्रयोग भइरहेको छ, जसले गर्दा एन्टीबायोटिक रेसिस्टेन्ट बढ्दै गइरहेको छ ।
Antibiotic resistant बढ्नुमा मानव जातिमा मात्रै Antibiotic को प्रयोगले नभई पशुपंक्षीहरूमा प्रयोग गरिने एन्टिबायोटिक तथा अन्य औषधिहरू को अनुपयुक्त प्रयोग र औषधि प्रयोग गरिसकेपछि निश्चित तोकिएको समय भन्दा अगाडि नै मासुको प्रयोग गर्नु पनि अर्को एउटा महत्वपूर्ण कारण हो । नेपालमा पछिल्लो समय व्यावसायिक रुपमा पशुपालन तथा तरकारी खेती गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ, जहाँ पशुपंक्षी तथा तरकारी खेतीमा उपचारको लागि एन्टिबायोटिक तथा विभिन्न खालको औषधिहरू प्रयोग हुने गरेको र यसरी एन्टिबायोटिक तथा औषधि प्रयोग गरिएका पशुपंक्षीको माछामासु वा तरकारीहरु निश्चित समय भन्दा अगाडि नै बजारमा प्रयोग गर्नाले पशुपंक्षीलाई प्रयोग गरिएको Antibiotic तथा अन्य औषधिहरू तरकारी तथा माछा मासु मार्फत सिधै मानिसको शरीरमा प्रवेश हुन्छ जुन प्रक्रिया पनि एन्टीबायोटिक रेसिस्टेन्टको मूल कारण बनेको छ ।
एन्टिमाइक्रोबियल प्रतिरोध (AMR) तब हुन्छ जब ब्याक्टेरिया तथा परजीवीहरु समय संग परिवर्तन हुन्छ र अब औषधिहरु लाई प्रतिक्रिया गर्दैन, संक्रमणको उपचार गर्न गाह्रो बनाउँछ र रोग फैलने, गम्भीर रोग र मृत्यु को जोखिम बढाउँछ । Antibiotic औषधि प्रतिरोधको परिणामको रूपमा एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल औषधिहरू प्रभावहीन हुन्छन् र संक्रमणहरू बढ्दो रूपमा गाह्रो वा उपचार गर्न असम्भव हुन्छ । हालका वर्षहरुमा विश्वमा १ लाख ३० हजार जनाले एन्टिबायोटिक्स प्रतिरवधका कारण उपचार गर्न नसक्दा मृत्यु भएकोछ भने सन २०५० सम्ममा यो आँकडा ५ लाख पुग्ने विश्व स्वास्थ्य संघले प्रक्षेपण गरेकोछ । एन्टिबायोटिक्स र अन्य Antimicrobial औषधिहरूको प्रतिरोधको बढ्दो समस्यालाई सम्बोधन गर्नको लागि विश्वव्यापी कार्य योजना २०१५ को अठौं विश्व स्वास्थ्य सभामा अनुमोदन गरिएको थियो । योजनाको मुख्य उद्देश्यहरू मध्ये एक प्रभावकारी सञ्चारको माध्यमबाट AMR को बारेमा आम जनमानसमा चेतना र धारणालाई सकरात्मक सुधार गर्नका लागि हरेक वर्ष Nov 18 देखि 24 सम्म विश्व AMR सचेतना सप्ताहलाई विश्वव्यापी अभियानको शुरु गर्यो जुन AMR को बारे मा जागरूकता र बुझाइ सुधार गर्न र जनता, एक स्वास्थ्य सरोकारवाला र नीति निर्माताहरु माझ उत्कृष्ट अभ्यासहरु लाई प्रोत्साहित गर्न को लागी वार्षिक रूपमा मनाइन्छ । आधुनिक चिकित्साको सबै भन्दा महत्वपुर्ण उपलब्धि एन्टिबायोटिकको आविस्कार हो भने 21 औं शताब्दीकको सबैभन्दा ठूलो विश्वव्यापी जन स्वस्थ्य समस्या एन्टिबायोटिक प्रतिरोध (Antibiotic Resistance) हो ।
केहि जीवहरु को लागी, विशेष गरी ग्राम नेगेटिभ ब्याक्टेरिया जस्तै Pseudomonas, Escherichia coli र Klebsiella त्यसका लागि अत्यधिक सीमित उपचारात्मक विकल्पहरू हुन्छन् । संसार भर एन्टिबायोटिक प्रतिरोध गराउने देशको उच्च सुचिमा चिन, कुवेत र संयुक्त राज्य अमेरिका रहेका छन जहा ४१ प्रतिसत एन्टिबायोटिक प्रतिरोध भएको तथयांक छ । नेपालमा एन्टिबायोटिक रेसिस्टेन बढ्नु मा नेपालको सरकारी तथा गैरसरकारी संस्थाहरू दुवै बराबर जिम्मेवार रहेको पाइन्छ । निजी तथा प्राइभेट संस्था वा क्लिनिकहरु तिर व्यावसायिक दृष्टिकोण र जनताको छिटो निको हुने चाहना पुरा गर्नका लागि अनुचित रुपमा Antibiotics औषधिको सिफारिस गर्नु र उक्त औषधिहरू बिरामीले नियमित र उचित मात्रामा पूरा नगर्नु साथै यता सरकारी स्वास्थ्य संस्थाहरूमा Logistic Supply पर्याप्त नभएको र स्वास्थ्य संस्थामा आउने सबै बिरामीहरूलाई औषधि पुर्याउनुपर्ने बाध्यता वाहनामा आम स्वास्थ्यकर्मीहरूले पनि Amoxicillin, Ciprofloxacin तथा Metronidazole जस्ता Antimicrobial औषधिहरूको पूर्ण मात्रा नपुर्याईकन वितरण गरेको पाइन्छ । तर मेरो अनुभवमा राज्य पुनरसंरचना भएपछि आधारभूत औषधिहरूको सप्लाई पालिका आफैले गर्ने भएको हुँदा उल्लेखित औषधिहरूमा खासै अभाव भएको छैन र प्रतिजैविक औषधिहरू सिफारिस गर्दा पूर्ण मात्रामा पुग्ने गरी सिफारिस गर्न पाइएको छ । तर हामी यसबारे पनि चनाखो हुन आवश्यक छ कि हामीले वितरण गरेको Antibiotics tथा अन्य औषधिहरु पनि बिरामी तथा सेवाग्राहीहरुले पूरा मात्रामा प्रयोग गर्यो कि गरेन भनेर फलोअप गर्नुपर्छ । धेरैजसो त हामीहरुले बिरामीलाई follow up मा बोलाउँछौं तर न्यून सङ्ख्यामा मात्रै बिरामीहरू फलोअपमा आएको पाईन्छ । AMR रोकथामका लागि अब यसरी फलोअपमा नआउने बिरामीहरूका लागि पनि छुट्टै प्रोटोकल बनाएर पूर्ण रुपमा फलोअप गर्नुपर्ने देखिन्छ । निजी स्वास्थ्य संस्थाहरूको अभ्यास अनि बिरामीहरूको र सरकारी स्वास्थ्य संस्थाको अभ्यास वास्तवमा जनस्वास्थ्यको लागि घातक छन् । साथै एन्टिबायोटिक रेसिस्टेन्टकै कारण किटाणु जन्य रोगहरूको उपचार जटिल र महँगो पनि बन्दै गएको छ ।
यद्यपि यस खालको अभ्यास र प्रवृत्ति हाम्रो समुदायमा दिनानुदिन बढ्दै छ । WHO को अनुसार नेपालमा Global Antibiotic Resistance Partnership (GARP) गरेको अध्ययन अनुसार Amoxicilin ३९.६%, Ctrimoxazole १५.९%, Ciprofloxacin ९% र Azithromycin ९.८% रेसिस्टेन्ट भएको अध्ययनले जनाएको छ । त्यस्तै Streptococcus, Salmonella Typhi, Neisseria Gonococcus, E-coli र Pneumococcus जस्ता Bacteria हरुले उल्लेखित बाहेक अन्य एन्टिबायोटिकहरु मध्ये ३०% Antimicrobial औषधिहरु रेसिस्टेन्ट भएको अध्ययनले बताएको छ । Antibiotics Resistance आम जन मानिसहरूको स्वास्थ्यमा प्रत्यक्षरूपमा नकारात्मक असर पार्ने भएकाले र विगत ३० वर्षदेखि यता नयाँ Antibiotic औषधिको आविष्कार नै नभएको अवस्थामा यसबारे हामी सचेत हुन अपरिहार्य छ । यसको अलावा हाम्रो देश नेपालको विशेषगरी ग्रामीण समुदायमा कुखतको ठिम्रा भन्दै Tetracycline Antibiotic जथाभावी प्रयोग गरेको पाइन्छ । आज भन्दा तीन/चार दशक अगाडिसम्म हैजा (Cholera) रोगको सबैभन्दा प्रभावकारी औषधि Tetracycline Antibiotic औषधिलाई जनताहरुले सामान्य ARI तथा रुघाखोकीमा पनि कुखतको ठिम्राको रुपमा अनियमित र अनियन्त्रित प्रयोग गर्दा सबैभन्दा बढी रेसिस्टेन्ट हुन पुगेको छ । Tetracycline औषधिलाई हिजोआज पनि छिटफुट विशेषगरी प्राइभेट क्षेत्रमा विना जाँच विना पुर्जी पनि सर्बसाधरणले over the counter किन्न माग्ने र दिने प्रवृत्ति कायमै छ ।
अझै मैले कतिपय स्वास्थ्यकर्मी साथीहरुले कुखतको ठिम्रा नै हो अझै राम्रो काम गर्छ भनेर Amoxycilin Antibiotic बिना चेक जाँच त्यो पनि अपूर्ण मात्रामा दिएको देखेको छु । AMR को लागि सबैभन्दा गलत र गैर जिम्मेवार अभ्यास अनि प्रवृत्ति पनि यही हो । यसमा आम जनता हामी स्वास्थ्यकर्मी र सरोकारवालाहरू सबै जिम्मेवार छौँ । हाम्रो समुदायमा स्वास्थ्य सेवा क्षेत्रको यो अभ्यास र Antibiotic Resistance विकास यही क्रममा बढ्दै गयो भने यसले नकारात्मक असर पार्नुको साथै मेडिकल साइन्सलाई नै चुनौती थपिदिनुको साथै ठूलो संकट उत्पन्न भइसकेको छ । रोक्नका लागि हामीले हाम्रो अभ्यासलाई परिमार्जन गर्नुपर्छ र बिरामीहरूको अवधारणालाई पनि उपयुक्त परामर्श मार्फत परिवर्तन गर्नु आवश्यक छ र एन्टिबायोटिक तथा अन्य औषधिजन्य पदार्थहरूको समुचित प्रयोगबारे नयाँ ढङ्गबाट सचेत गराउनु अपरिहार्य छ ।
भनिन्छ, ५० प्रतिशत रोग परामर्श र सुझाव सल्लाहबाट निको हुन्छ । त्यसैले प्रश्न हामी चिकित्सक तथा स्वास्थ्यकर्मीहरु बीच आइसकेको छ हाम्रो काँधमा भएको दायित्वलाई सकारात्मक ढंगले पुरा गर्न कतै पछि परिरहेका त छैनौ ? आउनुस् अब हामीले नेपालमा अनावश्यक रूपमा Antibiotic तथा अन्य औषधिहरुको सिफारिस गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै सरकारी स्वास्थ्य संस्थाहरूमा आउने बिरामी तथा सेवाग्राहीहरूलाई उपयुक्त परामर्श गर्ने बानीको विकास गरौं र हाम्रो दैनिक जीवनमा काम गर्दा हरेकपटक आवश्यकता अनुसार सम्पूर्ण बिरामी सेवाग्राही तथा आम जनताहरुलाई Antibiotic र अन्य औषधिजन्य पदार्थहरूको समुचित प्रयोग गर्न (6R) Right Patient/Disease, Right Medicine, Right Dose, Right Rime, Right Route and Right Documentation को बारेमा परामर्श प्रभावकारी रुपमा दिने बानीको विकास गरौं । हामीले हाम्रो पालिका भित्र यो अभ्यास सुरु गर्दा राज्य र जनसमुदाय स्वास्थ्यमा ठूलो परिवर्तन त ल्याउन नसकिएला तर कम्तीमा Antibiotic Resistance र अन्य औषधि हरुको गलत (Irrational) प्रयोगले हुने र हुन सक्ने सम्भावित असरहरुमा कमी आउने र प्रत्यक्ष रुपमा बिरामी जनता र हामी सबै स्वास्थ्यसँग सम्बन्धित कर्मचारीहरुलाई पनि काम गर्न सहज हुने साथै हाम्रो अभ्यास पनि सकारात्मक हुनेछ । मैले व्यक्तिगत र संस्थागत दुवै रुपमा उल्लेखित गलत अभ्यासहरुलाई निरुत्साहित गर्ने प्रयास गर्दै आएको छु, आउनुस् यस विषय र मुद्दासँग सम्बन्धित हामी सबै मिलेर अगाडि बढौँ जसले स्वस्थ र समृद्ध कालीगण्डकी गाउँपालिका र सिङ्गो नेपाल निर्माणमा सकारात्मक इट्टा थपोस् ।
(सि.अहेव)
कालीगण्डकी अस्पताल प्रशासन प्रमुख