पाल्पा । पाल्पामा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभि खोप लगाउने तयारी गरिएको छ । जिल्लाका १० हजार ४ सय ५८ जना किशोरीहरुलाई उक्त खोप लगाइने तानसेनमा आयोजित एक कार्यक्रममा जानकारी गराइएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाले जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक तथा संचारकर्मी अभिमुखीकरण कार्यक्रमको आयोजना गरी यस सम्बन्धी जानकारी गराइएको हो । १० देखि १४ वर्ष उमेर समुहका किशोरी र कक्षा ६ देखि १० सम्मका छात्रालाई उक्त खोप दिइने बताइएको छ ।
२ चरणमा हुने खोप अभियान अन्तरगत पहिलो चरणमा माघ २२ गतेदेखि २६ गतेसम्म रम्भा, माथागढी, पुर्वखोला, निस्दी गाउ“पालिका र रामपुर नगरपालिका त्यस्तै दोस्रो चरणमा माघ २८ गतेदेखि फागुन ४ गतेसम्म रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, तिनाउ“ र तानसेनमा अभियान चल्ने बताइएको छ ।
७० जना किशोरी बिद्यालय बाहिरका र अन्य बिद्यालयमा रहेका किशोरीहरुलाई खोप दिइनेछ । उक्त खोप पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लगाईने खोप रहेको यसले ९८ प्रतिशत पाठेघरको मुखको क्यान्सर रोक्ने रामपुर अस्पतालका मेडिकल अधिकृत डा. सागर पोखरेलले बताउनुभयो । नेपालमा प्रत्येक वर्ष १ हजार ३ सय १३ जना (प्रत्येक दिन ४ जना) महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने गरेको तथ्यांक छ । स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन विश्वनाथ न्यौपानेले गर्भवती महिला, क्यान्सर भएका, अपरेसन गरेका सिकिस्त बिरामी बाहेक अन्य व्यक्तिले खोप लगाउन मिल्ने बताउनुभयो ।