पाल्पा । निस्दी गाउपालिकाले स्वास्थ्य क्षेत्रको प्रवर्धनमा बिशेष जोड दिएको छ । आम नागरिकलाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने गरी गाउँपालिका लागिपरेको छ ।
स्थानीय स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाई मार्फत नागरिकहरुलाई सहज रुपले स्वास्थ्य सेवा प्रवाह गर्नेमा गाउँपालिका लागिपरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रेम बहादुुर दिशाले बताउनुभयो ।
हाल स्वास्थ्य चौकीबाट प्रवाह भइरहेको सेवा भन्दा अझ गुणस्तरीय बिशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा प्रवाह गर्ने गरी अस्पताल निर्माणको काम अगाडि बढेको छ । आधारभूत अस्पताल निर्माणका लागि १६ करोड ६८ लाख रुपैयाँमा ठेक्का भई ४ वर्षअघि देखि नै भवन निर्माण कार्य भइरहेको छ । उक्त अस्पताल संचालनमा आएपछि निस्दी बासीले बिशेषज्ञ डाक्टर सहित अझ गुणस्तरीय स्वास्थ्य सेवा पाउने उहाँले बताउनुभयो ।
गाउँपालिकाले बिभिन्न वडाहरुमा आह्वान गरेको एकीकृत घुम्ती शिविरमा स्वास्थ्य शाखा मार्फत निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण तथा परामर्श सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । बिभिन्न योजनाहरुको सम्झौताका लागि र सामाजिक सुरक्षा भत्ता लगायतका सेवाका लागि घुम्ती शिविरमा आइपुगेका नागरिकलाई यसप्रकारको शिविरले धेरै सहज बनाएको उहाँले बताउनुभयो ।
आम नागरिकहरुमा मुखको स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा पछि झनै जटिल समस्या बल्झिने भएकोले नागरिकलाई मुख स्वास्थ्य सम्बन्धी जानकारी गराउने र उनीहरुको मुख स्वास्थ्यको अवस्थाबारे परीक्षण शिविर संचालन गरिएको उहाले बताउनुभयो । पछिल्लो समय नसर्ने रोग फैलदो अवस्थामा रहेको र सर्ने रोगबाट भन्दा नसर्ने रोगबाट मानिसलाई धेरै समस्या हुने गरेको र उपचारमा समेत धेरै रकम खर्च हुने तथा समस्या बढी भइसकेको अवस्थामा खर्च पनि हुने र ज्यान पनि गुमाउनुपर्ने अवस्थाको सृजना भएको भन्दै गाउपालिका स्वास्थ्य शाखाले नसर्ने रोगहरुको पहिचान र यस सम्बन्धी जनचेतना मूलक कार्यक्रम चलाएको उहाले बताउनुभयो । मधुमेह, ब्लड प्रेसर लगायतका नसर्ने रोगहरुको स्कृनिङ कार्य गरिएको उहाँले बताउनुभयो । यसमा ३० वर्ष माथि उमेर समूहका ब्यक्तिहरुलाई सहभागी गराइएको थियो । किशोरीहरुमा रक्तअल्पताको अवस्था पहिचानका लागि रक्त अल्पता परीक्षण कार्यक्रम गरिएको छ ।
जेष्ठ नागरिकलाई घरमै सेवा
अहिले ग्रामीण क्षेत्रमा धेरै जेष्ठ नागरिक र बालबालिका छन् । युवा पुस्ता रोजगारीको सिलसिलामा घर बाहिर रहनुपर्ने अवस्था छ । यस्तो अवस्थामा जेष्ठ नागरिक बिरामी पर्दा स्वास्थ्य संस्थासम्म पु¥याउन धेरै समस्या रहेको अवस्था छ । यसै समस्यालाई मध्यनजर गरी निस्दी गाउँपालिकाले जेष्ठ नागरिकलाई घर घरमै सेवा प्रवाह गर्दै आएको छ । यस कार्यमा गाउँपालिकाका बिभिन्न वडाहरुमा रहेका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू परिचालित हुने गरेका छन् । जेष्ठ नागरिकको घरघरमा पुग्ने, उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने, उनीहरुलाई औषधी र अन्य परामर्श दिने गरिएको छ । स्वास्थ्य शाखा प्रमुख दिशाले बताउनुभयो । यो अभियान निरन्तर चलिरहेको उहाँले बताउनुभयो । यसप्रकारको कार्यक्रमबाट जेष्ठ नागरिकले स्थानीय सरकारप्रति अभिभावकत्व महसुस गर्ने मौका पाएका छन् ।
महिला स्वास्थ्यमा बिशेष जोड
निस्दी गाउँपालिका आफैमा पनि सदरमुकामबाट टाढाको पालिका हो । यस पालिकाभित्र कतिपय वडा तथा टोलहरु दुर्गम छन् । यसकारण पनि महिलाहरुमा अझै पुरै सचेतना पुगिसकेको अवस्था छैन । घरायसी काममा ब्यस्त रहेका महिलाहरुले स्वास्थ्य समस्या भएमा कतिपय अवस्थामा अरुलाई सुनाउन लजाउने, कतिपय अवस्थामा जचाउन नजाने गर्दा धेरैको समस्या बल्झिएको अवस्थामा हुन सक्ने भन्दै गाउपालिकाले महिला स्वास्थ्यमा बिशेष जोड दिएको छ । जस अन्तरगत महिलाहरुको प्रजनन् स्वास्थ्य समस्या, पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तनक्यान्सर, आङ खस्ने समस्या लगायतका महिला सम्बन्धी समस्याको पहिचान र उपचारमा गाउँपालिकाले बिशेष जोड दिएको छ ।
पालिकाभित्रका महिलाहरुले पालिकाकै स्वास्थ्य संस्थामा रहेका बर्थिङ सेन्टर मार्फत सुत्केरी सेवा लिन पाएका छन् । नियमित गर्भजाचको काम पनि पालिका भित्रकै स्वास्थ्य संस्था मार्फत भइरहेको छ ।