यम्घाका वडाध्यक्षलाई २ लाख १० हजार रुपैयाँ जरिवाना

0
642

पाल्पा । नदीजन्य पदार्थको अवैध चोरी निकासी गरेको आरोपमा बगनासकाली गाउँपालिका वडा नं. ६ यम्घाका वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीलाई २ लाख १० हजार जरिवाना हुने भएको छ । बगनासकाली गाउँपालिकाको हालै सम्पन्न गाउँ कार्यपालिका बैठकले वडाध्यक्ष अधिकारीले यम्घा दर्पुकको मचेटाघाटबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको पुष्टि भएपछि उक्त निर्णय गरेको हो ।

वडाध्यक्ष अधिकारीले अवैध रुपमा ढुंगा, गिट्टी, बालुवा चोरी निकासी गरी ४२ ट्याक्टर नदीजन्य पदार्थ दर्पुक क्षेत्रको विभिन्न तीन स्थानमा राखेको पाइएको र प्रति ट्याक्गर रु ५ हजारका दरले जम्मा २ लाख १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय कार्यपालिकाको बैठकबाट भएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । आर्थिक ऐन २०७९ को दफा नं. २५ अनुसार जरिवाना गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

बैठकले दर्पुक बस्ती क्षेत्रको नाली तथा सडक स्तरोन्नतिको योजनामा सोही स्थानमा निकालिएको अवैध नदीजन्य पदार्थ प्रयोग गरेको भन्दै पारिलेक कन्स्ट्रक्सनका सञ्चालक दामोदर गैरेलाई १५ ट्याक्टरको प्रति ट्याक्टर ५ हजारका दरले जम्मा ७५ हजार जरिवाना गर्ने निर्णय गरेको छ ।

वडाध्यक्ष अधिकारीकै अग्रसरतामा अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गरेको भन्दै स्थानीय नागरिकहरुले गुनासो गरेका थिए । सो विषयमा गत वैशाख १८ गते गाउँपालिकाले अध्यक्ष सरस्वती चिदीको नेतृत्वमा स्थलगत अनुगमन भएको थियो । प्रतिवेदनका आधारमा समन्वय समितिले वैशाख २० गते गाउँपालिकालाई अवैध कार्य तत्काल रोक्न र संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्यायर कारबाही गर्न पत्रद्वारा निर्देशन गरेको थयो ।

कार्यपालिका बैठकको निर्णय बमोजिम जरिवाना बुझाउन गाउँपालिकाले साउन ५ गते वडाध्यक्ष अधिकारी र निर्माण व्यवसायीलाई पत्राचार गरेको बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here