पाल्पामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन सकेन

0
380

पाल्पा । स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ भएको जिल्ला पाल्पामा नै यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । यसअघि तानसेनका मुख्य अस्पताल युनाईटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज तथा पाल्पा अस्पताल लगायतका सरकारी संस्थामा यो कार्यक्रम सञ्चालन भएकोमा अव यो कार्यक्रम सरकारी अस्पतालमा मात्र सीमित हुने अवस्थामा पुगेको छ ।

समयमा दाबी बापतको रकम नपाएपछि लुम्बिनी मेडिकल कलेजले यो कार्यक्रम गत वर्षबाट नै बन्द गरेको थियो । यद्यपी सरकारको बजेटले समेत बीमा कार्यक्रम सरकारी र सामुदायिक अस्पतालमा मात्र सीमित राख्ने विषय सम्बोधन गरेको थियो । अहिले बीमा स्थगित भएपछि बिरामी ठप्प भएपछि यो कलेज पुनः बीमा कार्यक्रम सरकारले दिए सेवा दिने तयारीमा छ ।

यता सामुदायिक अस्पतालको रुपमा रहेको मिसन अस्पतालले स्वास्थ्य वीमा अन्तर्गतको उपचार सुबिधा स्थगित गर्ने निर्णय गरेको छ । अस्पतालले स्वास्थ्य वीमा बोर्डबाट लामो समयसम्म भुक्तानी नपाएको, सेवावापत वीमा बोर्डले दिने रकम समयअनुकुल परिमार्जन नभएको र दावी भुक्तानी गरेअनुसारको रकम नपाएको भन्दै वीमा अन्तर्गतको उपचार सुबिधा स्थगित गर्ने निर्णय गरेको हो ।

अस्पतालले आगामी साउन २१ गतेदेखि स्वास्थ्य वीमा गरेवापत बिरामीले पाउने उपचार तथा अन्य सुबिधा नदिने निर्णय गरेको, वीमा सेवा सञ्चालन गर्ने चाहना हुँदाहुँदै पनि स्थगित गर्न बाध्य भएको जनाएको छ । अस्पतालमा आउने बिरामीलाई वीमा सेवा अन्तर्गतको उपचार सुबिधा दिने चाहना हुँदाहुँदै पनि अस्पताल बचाउने उद्देश्यले सेवालाई निरन्तरता दिन नसकेको अस्पतालकी निर्देशक डा. रचेल कारखले बताउनुभयो ।

वीमा बोर्डले दिने विभिन्न सेवावापतको भुक्तानी अत्यन्त कम हुँदा अस्पताल नियमित सञ्चालनमा समेत अप्ठेरो परेको प्रशासकीय अधिकृत जीवन भट्टराईले बताउनुभयो । वीमा सेवा अन्तर्गतको सेवा हाललाई स्थगित भएपनि अस्पतालले विपन्न परिवारका लागि दिने निशुल्क सेवा, तथा अन्य बिरामीका लागि दिन सहुलियतपूर्ण सेवा कायमै रहने उहाँले बताउनुभयो ।

यो अस्पतालले वीमा बोर्डबाट १२ करोड बढी रकम भुक्तानी पाउन बाँकी छ । वीमा बोर्डबाट बजार मुल्य अनुसारको रकम नपाउँदा र भुक्तानी दावीमा समेत ३० प्रतिशत रकम कटौती हुँदा अस्पताल नै बन्द हुने अवस्था सृजना भएको भट्टराईले बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here