पाल्पा । बगनासकाली गाउँपालिकाको नव निर्मित प्रशासकीय भवन उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बगनासकाली गाउँपालिकामा आउनु हुने भएको छ ।
प्रधानमन्त्रीको सार्वजनिक कार्यतालिका अनुसार उहाँ माघ ११ गते शुक्रबार विहान १० बजे हेलिकप्टरमार्फत काठमाण्डौबाट बगनासकाली गाउँपालिका आउने कार्यक्रम रहेको छ । बगनासकाली गाउँपालिकाले १ नं. वडाको चिलाङ्दीमा निर्माण सम्पन्न भएको प्रशासकीय भवन उद्घाटन पछि उहाँ प्रधानमन्त्री ओली अन्तराष्ट्रिय सम्मेलन केन्द्र, बुटवल प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले शुक्रावर साढे १२ बजे तिनाउँ गाउँपालिकाको भवन उद्घाटन, सिद्धबाबा सुरुङ्गमार्गको ब्रेक थ्रु र मन्दिर शिलान्यास गरी दिउँसो २ बजे बुटवल गोरुसिङ्गे चाल लेनको सडक शिलान्यास सभालाई सम्बोधन गर्ने जितगढी पुगेर साढे ३ बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र बुटवलबाट हेलिकप्टरमै काठमाण्डौ फर्कने तालिका रहेको उहाँको सचिवालयले जनाएको छ ।
भवन उद्घाटन कार्यक्रमलाई भव्य बनाउनका लागि आवश्यकता अनुसार समन्वय बैठक, प्रचारप्रसारका साथै उपस्थितिका लागि सम्पूर्ण महानुभावहरुलाई सार्वजनिक रुपमा निमन्त्रणा गरिएको बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताउनुभयो ।