सिकाई र अनुभवले निर्खादैछः माथागढीका महिला जनप्रतिनिधि

0
336

पाल्पा । माथागढी गाउँपालिका–१ चिदीपानीकी वडा सदस्य लिला कुमारी विकको दैनिकी फेरिएको छ । बिहान घरधन्दा सकिएपछि छोराछोरीलाई स्कुल पठाई उहाँ वडा कार्यालयमा पुग्नुहुन्छ । वडामा मात्रै हैन टोल समुदायमा रहेर जनताको गुनासो सुन्ने र सक्दो समन्वय गर्ने कार्य उहाँले गर्दै आउनुभएको छ ।

उहाँ भर्खर २७ वर्षकी हुनुभयो । गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई बिजयी भएपश्चात् आफुमा पनि समाजप्रतिको जिम्मेवारी बढेको उहाँको अनुभव छ । “गाउँघरमा रहदा वा मेलापातमा जाँदा पनि सेवाग्राहीले विभिन्न सुझावहरु दिनुहुन्छ र उहाँहरुका समस्या सुनाउनुहुन्छ । सुझावलाई ग्रहण गर्दै समस्या समाधानमा वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुसँग सहकार्य गर्दै लागिपरेकी छु ।” उहाँले भन्नुभयो ।

लिलाकुमारीलाई जनप्रतिनिधिको रुपमा काम गर्न परिवारको तर्फबाट पनि राम्रो साथ छ । परिवारको राम्रो साथ भएकै कारण आफु यसरी जनप्रतिनिधिको रुपमा अगाडि बढ्न पाएको उहाँले बताउनुभयो । “श्रीमान्ले पनि सामाजिक काममा लाग्नुपर्छ भन्नुहुन्छ, घरमा सासुससुराले पनि राम्रो साथ दिनुभएको छ ।” उहा“ले भन्नुभयो ।

गाउँ कार्यपालिका सदस्य लिला चिदी पनि गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट पहिलो पटक जनप्रतिनिधिको भूमिका आउनुभएको हो । कार्यपालिका सदस्यको रुपमा आएदेखि आफ्नो सामाजिक जिम्मेवारी थप बढेको चिदीले बताउनुभयो । “टोलटोलका समस्या टिपोट गर्ने, वडामा लैजाने र वडाबाट सम्वोधन हुन नसक्ने समस्या कार्यपालिका बैठक र गाउँसभा सम्म लैजाने गरेकी छु ।” चिदीले भन्नुभयो ।

कार्यपालिका बैठकमा महिला, जनजाति, दलित लगायत लक्षित वर्गहरुको समय सापेक्ष विकास, विकास योजना लगायत आयआर्जन लगायतका विषयको छलफलमा आफू पनि सक्रिय रुपमा सहभागी हुने गरेको चिदीले बताउनुभयो । समय सापेक्ष सिकाई र अनुभवले पनि आफुहरुलाई निखार्दै लगेको उहाँको भनाई छ । कार्यपालिका सदस्य रुकुमी सुनारीले पनि जनप्रतिनिधि भएपछि आफूमा धेरै कुराको परिवर्तन आएको बताउनुभयो । महिलाहरुको मात्रै हीतमा नभई समग्र समुदायको विकास र पालिकाको विकास योजनाबारे आफूहरू छलफलमा सक्रियतापूर्वक सहभागी हुने गरेको उहाले बताउनुभयो । “अवसर र जिम्मेवारी पाए महिलाहरुले पनि धेरै काम गर्न सक्छन् भन्ने कुराको उदाहरण दिने गरि काम गर्दैछौं ।” उहाँले भन्नुभयो ।

२८ वर्ष स्वास्थ्य क्षेत्रको सेवा पश्चात् गाउँपालिका उपाध्यक्षमा निर्वाचित बिष्णुमाया लुङचेको पनि पहिलो जनप्रतिनिधि अनुभव हो । माथागढीका महिला जनप्रतिनिधिहरुको नेतृत्व व्यक्तित्व विकाससँगै जनप्रतिनिधिको तर्फबाट गर्नुपर्ने भूमिकामा निखारता आएको उहाँले बताउनुभयो । अवसर पाउने हो भने महिलाहरुले पनि सही रुपमा जनप्रतिनिधिको भूमिका निर्वाह गर्न सक्छन् भन्ने उदाहरण दिने गरि माथागढीका सबै महिला जनप्रतिनिधिहरू लागिपरेको उहाले बताउनुभयो । “हामीले अघिल्लो पुस्ताका महिलाहरुलाई पनि भोग्यौ र अहिलेको पुस्तासँग काम गर्दैछौं, धेरै परिवर्तन आएको छ ।

जनप्रतिनिधि महिला मात्रै हैन सर्वसाधारण महिलाहरुको पनि नेतृत्व व्यक्तित्व विकास हुदै गएको छ ।” उहाँले भन्नुभयो । माथागढी गाउँपालिकाको कार्यपालिका १६ सदस्यीय छ । जसमा महिला ६ जना छन् । त्यस्तै ४२ सदस्यीय गाउसभामा महिलाको संख्या १९ रहेको छ । विषयगत समितिहरुमा २ जना महिला संयोजक रहनुभएको गाउँपालिकाका सूचना अधिकारी नित्यानन्द खनालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here