अर्गानिक खेतीतर्फ पाल्पाका किसानहरू

0
139

विष्णुप्रसाद घिमिरे
कृष्ण बहादुर विष्ट स्वास्थ्य क्षेत्रमा काम गर्नुहुन्छ । ५ वर्ष अगाडीदेखी पशुपालन गर्दै आएपनि तरकारी खेती गर्ने आँट भने आएको थिएन् । विषादी नहाली तरकारी उत्पादन नै हुदैन भन्ने लागेको थियो । साथीभाई र छिमेकले पनि विषादीविना तरकारी फल्दैन भन्दथे । विष्टलाई कृषि पाठशालाले विषादी मुक्त तरकारी खेती गर्न सिकायो । उहाँले अहिले गोठेमल र झोलमल प्रविधिमा अर्गानीक तरकारी उत्पादन र विक्री गर्दै आउनुभएको छ ।

तानसेन ६ ओढारे पाल्पाका कृष्ण बहादुर विष्टले १२ रोपनी जग्गामा टमाटर, काक्रा, तिते करेला, वोडी, सिमी लगायतका तरकारीहरु फलाएर विक्री समेत गर्नुभयो । हेफर ईन्टरनेशनल नेपालको सहयोगमा ग्रामिण आर्थिक विकास संघ रेडा पाल्पाले विषादी मुक्त तरकारी खेती प्रविधि सिकाउँदा विष्ट र उहाँका छिमेकीहरु पनि अर्गानीक तरकारी उत्पादन गर्दै आउनुभएको छ । विष्टले गएको ६ महिनामा २ लाख वढीको तरकारी विक्री गर्नुभयो ।

विष्ट जस्तै कृषिमा कर्म गर्न खोज्नेहरुलाई हेफर ईन्टरनेशनलले सघाएको छ । तानसेन स्थित ग्रामिण आर्थिक विकास संघ रेडा मार्फत विउ, मल, टनेल, मल्चिङ्ग, तालिम र प्राविधिक सहयोगमा हातेमालो गरेको छ । कृषकहरुलाई गोलबद्ध गरी कृषि पाठशाला मार्फत हेर्दै सिक्दै गर्ने व्यवस्था गरिएको छ । कृषि प्राविधिकहरुको प्रत्यक्ष निगरानीमा तरकारी खेती गर्दा सहयोग पुगेको रेडाकी कृषि प्राविधिक प्रतिक्षा क्षेत्रीले बताउनुभयो ।

तानसेन मदनपोखराका, नर बहादुर सार्की पनि अर्गानीक तरकारी खेती गरी आम्दानी गर्दै आउनुभएको छ । १२ रोपनी जग्गा वार्षिक ४५ हजार रुपैया भाडामा लिएर कृषि कर्म गर्दै आउनुभएको छ । ज्यामीको काम गर्दै आउनुभएका नर बहादुरलाई घरपरिवार चलाउन हम्मे हम्मे परेपछी तरकारी खेती सुरु गर्नुभएको थियो ।

गएको जेठमा लगाएको काक्राले राम्रो उत्पादन दियो, ४८ हजारको विक्री गर्नुभयो । काक्राले मात्रै जग्गाको भाडा उठाईदिएको छ । टमाटर, वोडी, करेला २ लाखको विक्री गर्नुभयो । अहिले काउली, वण्डा, सिमी लगायतका तरकारी हुर्कदै छन् । वार्षिक खर्च कटाएर ५ ६ लाखको विक्री गर्दै आउनुभएका नरबहादुरलाई घर खर्च चलाउन र छोराछोरी पढाउन तरकारीले सहज बनाएको नर बहादुरको भनाई छ ।

तानसेन प्रभासकी अम्बिका कोईरालालाई कृषि काम गर्छु भन्ने नै लागेकै थिएन् । मास्टर दोश्रो सेमेष्टर अध्ययन गर्दै गर्नुभएकी अम्बिकाले कृषि पाठशालाको तालिममा सहभागी भएपछि भने उत्प्रेरणा र हौसला मिल्यो । अन्तत समूह बनाएर ५५ रोपनी जग्गा भाडामा लिएर व्यवसायिक कृषि अंगाल्नुभयो । उहाँहरुको समूहले खुर्सानी, बोडी ,करेला, काक्रा लगायतका तरकारीहरु खेती गर्दै आउनुभएको अम्बिका बताउनुहुन्छ ।

हेफर ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ग्रामिण आर्थिक विकास संघ रेडाले कृषि परियोजना संचालन गरेपछी कृषकहरु अर्गानीक तरकारी खेतीतर्फ आर्कषित भएका हुन् । परियोजनाले पाल्पा जिल्लाका तानसेन, रिब्दीकोट, निस्दी, रम्भा र पूर्वखोला गरी ५ वटा पालिकाहरुमा काम गर्दै आएको छ । यहाँका कृषकहरुलाई वर्षभरी तरकारी उत्पादन गरी आत्मनिर्भर बनाउन विउ विजनहरु, मल्चिङ्क, टनेल, सिंचाई प्रविधि लगायतका सहयोग गर्दै वजारीकरणमा प्रतक्ष्य हातेमालो गरेको परियोजना संयोजक नृप परियारको भनाई छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here