पाल्पा । लामो समयदेखि अलपत्र अवस्थामा रहेको चिलाङ्दी चापपानी–राम्दी सडक निर्माणको कामको निरन्तरताको माग सहित स्थानीय अगुवाहरुले ५ सय जना बढीको हस्ताक्षर संकलन गरी जिल्ला प्रशासन कार्यालय, सडक पुर्वाधार विकास कार्यालय पाल्पा र बगनासकाली गाउँपालिकामा ध्यानाकर्षणपत्र सहित बुझाएका छन् ।
वाइ.पी.÷जय रक्तकाली जे.भी.पुल्चोकले उक्त बाटो निर्माणका लागि सम्झौता गरेर सम्पन्न गर्ने मिति ७ वर्ष अघि नै सकिएपनि काम राम्रोसँग हुन नसकेको र बाटो थप जीर्ण भएको भन्दै हस्ताक्षर संकलन सहित ध्यानाकर्षणपत्र बुझाएको अभियन्ता इन्द्र खाम्चा मगरले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउने क्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले यो बाटोको स्तरोन्नतीको काम समयमा हुन नसक्दा बाटो थप जीर्ण बन्दै गएको र स्थानीय समुदायबाट पनि बाटोको काम समयमा गराउन पालिकमा समेत दवाव आएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बाटोको काम तत्काल सुरु गराउने गरी लाग्न सम्बन्धित कार्यालयलाई आग्रह गर्नुभयो । सडक पूूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख बासुदेव भण्डारीले कार्यालयको तर्फबाट आर्थिक तथा अन्य विषयमा कुनै समस्या नरहेको निर्माण व्यवसायीले काम गर्दा काम अनुसारको भुक्तानी दिन सकिने अवस्था रहेको बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले निर्माण व्यवसायीले बीचमा केही काम गरेपनि सम्पन्न हुने गरी काम नगरेकोले यसअघि बनेको बाटो समेत बिग्रदै गएको बताउनुभयो । उहाँले निर्माण व्यवसायीले काम गर्दा स्थलगत रुपमा गर्नुपर्ने सहयोगका लागि गाउँपालिका तयार रहेको बताउनुभयो ।
पहिलो चरणमा २०७५ साल बैशाखमा महिनामा मालारानीदेखि गेझासम्म झण्डै ४ किलोमिटर पिच भएको थियो । त्यस्तै २ वर्ष अघि गेझादेखि गरनडाँडा सम्मको बाटोमा निर्माण व्यवसायीले पिच तथा स्तरोन्नती गरेपनि जीर्ण बन्दै गएको छ ।
८ किलोमिटर सडक कालोपत्रे गर्न २०७३ असोज १९ गतेदेखि काम सुरु गरेर २०७४ पुस २० गते सम्पन्न गर्नेगरि २०७३ असोज ४ गते तत्कालीन जिल्ला प्राविधिक कार्यालय पाल्पा र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । विश्व बैंकको ८ करोड ३१ लाख रुपैयाँको सहयोगमा एसएनआरटिपि परियोजना मार्फत चापपानीको ठकुरीबारीबाट गरनडाँडासम्मका लागि पिच गर्ने गरि निर्माण व्यवसायी कम्पनीले जिम्मा लिएको थियो ।
चिलाङ्दी चापपानी तथा राम्दी सडक उत्तरी पाल्पाको प्रमुख सडकको रुपमा रहेको छ । सडक पूर्ण रुपमा पिच भएपछि तानसेन आर्यभञ्ज्याङ्ग राम्दी सडकको बैकल्पिक मार्गको रुपमा चिलाङदी चापपानी सडकलाई प्रयोग गर्न सकिने वडा सदस्य प्रकाश न्यौपानेले बताउनुभयो । सिद्धार्थ राजमार्गको तानसेन राम्दी भन्दा यो सडक १५ किलोमिटर छोटो दुरीमा रहेको छ । उत्तरी पाल्पाका जनताहरु स्याङ्जा गल्याङ, वालिङ तथा पुतलीबजार पोखरा लगायतका स्थानमा आवतजावतको लागि यो सडक प्रमुख मार्गको रुपमा रहने छ ।