गोपाल प्रसाद वश्याल
सदरमुकाम तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयमा तीन दिने डिजिटल एवम् वित्तीय साक्षरता र अभिप्रेरणामूलक सन्देश कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका कक्षा ९ र १० का ६४ जना विद्यार्थीहरू र ३० जना शिक्षकहरू सहभागी भएको यस कार्यक्रममा डिजिटल साक्षरतासम्बन्धि अभिमुखीकरण कार्य विद्यालयका कम्प्युटर विभाग संयोजक ईञ्जिनियर तिलक राम भण्डारीले आधारभूत सञ्चालन सिप, इन्टरनेटको सहायताबाट गरिने क्रियाकलाप, अनलाइन सञ्चार र सुरक्षित प्रयोगजस्ता डिजिटल साक्षरताका चार आधारभूत तत्वहरूको सविस्तार प्रस्तुति गर्दै यसका लागि डिजिटल साधनको पहुँच र सञ्चालन सिप विकास गर्न आवश्यक भएको बताउनुभयो । उहाँले सुरक्षित मोबाइल सिकाइको प्रयोगात्मक अभ्यास प्रदर्शन गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो दिन डा. झपेन्द्र ढकाल, ईञ्जिनियर लक्ष्मण गैरे र पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष एवम् युवा ब्यवसायी शैलेन्द्र भट्टराईले आ—आफ्ना सफलताका कथाहरू सुनाउँदै त्यस क्रममा गर्नुपरेका संघर्षहरू, सफल—असफल हुँदै सफलता प्राप्त गरेका अनुभव, प्राविधिक अध्ययन र ब्यवसायिक सफलताका लागि प्राप्त हुने अप्ठेरा तथा सजिला उपायहरूको विवरण दिंदै निरन्तर प्रयाश गर्नाले अन्य असजिला अवरोधहरू पञ्छाउन सकिने र सफलता प्राप्त गर्न सकिने दृष्टान्तहरू बताउनुभयो । यी उत्प्रेरणामूलक विचारहरूका कारण विद्यार्र्थीहरूमा निरन्तर लगनशीलताबाट सफल जीवन निर्माण गर्न सकिने विश्वास बढेको बृत्ति परामर्श शिक्षक इन्दु खनालले बताउनुभयो ।
त्यसैगरी कार्यक्रमको तेस्रो दिन वित्तीय साक्षरतासम्बन्धि नेपाल एसबिआइ बैंक लिमिटेड पाल्पा शाखाका प्रबन्धक बिजय घिमिरे र सञ्चालन प्रमुख बैभव खरेलले अभिमुखीकरण गर्नुभएको छ । खरेलले बैंक र बैंकका कार्यहरूका बारेमा प्रस्तुत गर्नुभयो भने प्रबन्धक घिमिरेले बैंकिङ्ग कारोबारमा डिजिटल सचेतना तथा साइबर सुरक्षासम्बन्धि घटनाहरूसहित सचेतनामूलक प्रस्तुति गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपक प्रसाद ज्ञवाली र विद्यालय ब्यवस्थापन समिति अध्यक्ष विधान प्रसाद श्रेष्ठले यी कार्यक्रमहरूबाट विद्यार्थीमा सचेतता बृद्धि भै पढ्दै आफ्नो भविष्यको लक्ष्य निर्धारण गर्न सहयोग पुग्ने बताउनुभयो ।
दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना (इन्स्योर) को प्राविधिक सहयोगमा तानसेन नगरपालिकाका पाँचवटा विद्यालयमा सञ्चालित कार्यक्रमले कक्षा ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरी शिक्षाको संसारबाट कामको संसारमा रुपान्तरण कार्यक्रम सञ्चालन गरेको छ । यस कार्यक्रमले विद्यार्थी परामर्श, उद्यमशीलता विकासका लागि अवलोकन, र अनुशिक्षण कार्यशाला सञ्चालन गर्ने गरेको र विद्यालयमा बृत्ति प्रयोगशाला स्थापना गरेको शिक्षक खनालले बताउनु भयो ।