कमलराज तिमिल्सेना
बगनासकाली गाउँपालिका–८ बराङ्दी घिउसीबासमा रहेको सिद्धबाबा मन्दिरको आफ्नै बेग्लै धार्मिक एवम् ऐतिहासिक पहिचान छ । यो मन्दिर अहिले सिद्धबाबा धामकै रुपमा बिकसित हुँदै गएको छ । जसका कारण यहाँ पुग्ने धार्मिक पर्यटकहरुको संख्या पनि बढ्दै गएको छ ।
ऐतिहासिक किंवदन्ती
श्री सिद्धबाबा मन्दिर तथा वातावरण संस्कृति संरक्षण समितिको रुपमा समेत परिचित यो मन्दिरको आफ्नै महत्वपुर्ण किंवदन्ती रहेको मन्दिरका जानकार एवम् बराङ्दीका निवर्तमान वडाअध्यक्ष गणेशप्रसाद बस्यालले बताउनुभयो ।
किवदन्ती अनुसार करिव ३ सय बर्ष अगाडि यो ठाउँमा ठुलो सिमल र चिलाउनीको रुख थियो । चिलाउनीलाई मगर भाषामा घिङसी भन्ने गरिन्छ । घिङ्सी शब्द परिमार्जित हुँदै घिउसीबास भएको हो । अहिले यो ठाउँलाई नै घिउसीबासको नामले चिनिन्छ ।
त्यतिबेला गाउँमा गाई बस्तुमा पड्के व्यथा देखिएपछि स्थानीय गोठालाहरुले यहाँ जिउदै कुखुराको चल्ला छोडिदिएर बानसकन्नी, शिकारी झाक्रीको पनि धार दिने गर्थे । करिव १ सय बढी अगाडि गाउँलेहरुले गाई बस्तु चराउन लैजाने क्रममा गाई बस्तु हराएपछि स्थानीय जयमंगल बस्याल नामका लामा हल्लिने क्रममा म सिद्ध हुँ, मेरो हेरचाह गर्नु, धार दिनु भनेर गाई बस्तु लगेर आफुले बयालाघारी भन्ने ठाउँमा लुकाइदिएको बताएको गोठालाहरुले खोज्दै जादा लामाले भनेकै ठाउँमा गाई बस्तु फेला पारेपछि त्यसपछि निरन्तर दुध धार हुदै आएको छ । यहाँ स्थानीय मगर समुदायले दुधधार दिने, कुखुराको चल्ला छोड्ने कार्यको सुरुवात गरेका थिए ।
आजभन्दा करिव १ सय ५० वर्ष अघि राधाकृष्ण बस्यालको नेतृत्वमा तयार पारिएको घण्ट अहिले पनि मन्दिरमा राखिएको छ । मुख्य रुपमा धार्मिक ठाउँ भनेर चिनिने ठूलो सिमलको रुख यहाँ अहिले पनि जस्ताको तस्तै छ । आजभन्दा करिव ६०,७० वर्ष पहिले उक्त सिमलको रुखलाई बिचमा पारेर रुद्रलाल बस्यालको नेतृत्वमा मन्दिर स्थापना गरिएको निवर्तमान वडाध्यक्ष बस्यालले बताउनुभयो । पछि त्यो मन्दिर संरक्षण नहुदा भत्किएपछि २०३५÷०३६ सालतिर डिल्लीराम बस्याल, डिल्लीराज गैरे र गणेशप्रसाद बस्यालको नेतृत्वमा सबै समुदायहरुसँग चन्दा संकलन गरि सिमलका अगाडि पट्टिको सानो मन्दिर निर्माण गर्नुभएको थियो ।
मन्दिर निर्माणको इतिहासदेखि बर्तमानसम्म
२०५६,०५७ सालतिर यस क्षेत्रका सम्पुर्ण बुद्धिजीविहरुको पटक पटकको भेला बसी छलफल पश्चात आफैमा शिवलिंग स्वरुपको उक्त स्थानमा मन्दिर, यज्ञशाला हमनकुण्ड बनाउने निर्णय गरि गणेश बस्यालको नेतृत्वमा तसर्थ समिति र डिल्लीराम गैरेको नेतृत्वमा आर्थिक समिति बनाई पाल्पा रुपन्देही, लगायत बिभिन्न ठाउँहरुबाट आर्थिक संकलन गरि माथि उल्लेखित मन्दिरहरु स्थापना गरिएको थियो । सोही बेला भव्य रुपमा मन्दिरको प्राणप्रतिष्ठा समेत गरिएको थियो ।
स्याङजा चापाकोटका एक साधु बाबा घुम्दै मन्दिरमा आएर यो शिवलिंग स्वरुप स्थानमा १०८ पिपली रोप्नुपर्छ तपाइहरुले खाल्टा खन्ने र बिरुवा रोप्नेभए बिरुवा म आफैले ल्याउछु भनेपछि सबै समुदाय मिलेर पिपली लगाई हुमराज गैरे र लक्ष्मणप्रसाद घिमिरेको नेतृत्वमा चैत महिनामा पिपली लगाई सबै समुदायले खडेरी भरि पानी बोकेर बिरुवा बचाउने कार्य गरेका थिए । अहिले यहाँ १०८ पिपलीको जल खानका लागि बिशेषगरि साउन महिनामा धर्माबलम्बीहरुको बिशेष भिड लाग्ने गर्दछ ।
मन्दिरका लागि धेरैले जग्गादान समेत गर्नुभएको छ । टिमुरे निवासी गुञ्जेश्वरी बस्यालले २ रोपनी, घिउसीबास निवासी मोतीलाल बस्यालले १ रोपनी, घिउसीबास निवासी रिखीराम बस्यालले करिव १ रोपनी र घिउसीबास निर्वासी चुरामणी बस्यालले १० आना मन्दिर परिसरकै जग्गा मन्दिरलाई उपलब्ध गराउनुभएको छ । पुनः मोतिलाल बस्याल ख को नेतृत्वमा ंसंचालक समिति गठन गरियो । उक्त समितिले मन्दिरलाई २०६५ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेको छ । मोतिलाल बस्याल नेतृत्वको समितिले लगातार १७ वर्ष समितिमा रहेर काम अगाडि बढायो । हाल ओम कारको रुपमा रहेको १०८ शिवलिंग निर्माण गर्न मोतिलाल बस्यालकै नेतृत्वमा समिति गठन गरि तत्कालिन गाविस, जिविस र बिभिन्न मन्त्रालयहरुसँग आर्थिक सयोग जुटाउने र स्थानीय समुदायहरु सँग पुनः चन्दा संकलन गरि ओम कारेश्वर १०८ शिवलिंग स्थापना गर्ने कार्य सम्पन्न भएको थियो ।
शिवलिंग स्थापना पश्चात युवराज गैरेको नेतृत्वमा बनेको समितिले तत्कालीन रक्षामन्त्री भिम रावललाई ल्याई १०८ शिवलिंगको उद्घाटन गराउने र सत्रुद्री कार्य सम्पन्न गराएको थियो । पुनः मोतिलाल बस्यालकै नेतृत्वमा गठन भएको समितिले मन्दिरको सचिवालय निर्माण, चर्पी निर्माण, सुर्य नारायणको मूर्ति निर्माण गराउने कार्य गरेको थियो । मोतिलाल बस्यालकै नेतृत्वमा रहेको समितिले ढावखोला निवासी ठानेश्वर बस्यालको छोरा पुरुषोत्तम बस्यालले लक्ष्मी नारायणको मन्दिर स्थापना गराउनुभएको थियो । त्यसै ग्वासिङ निवासी माधव बस्यालले जटाधारी सिद्धबाबाको मन्दिर स्थापना गर्नुभएको थियो भने लाहुरेखण्ड कृष्ण बस्यालले गणेशको मुर्ति स्थापना गर्नुभएको थियो ।
२ वर्षको कार्यकाल रहने यो मन्दिरको समितिमा फेरिएका हरेक अध्यक्षहरुको समयमा नविनतम कार्यहरु भएका छन् । यसअघि एकदेव कोइरालाको नेतृत्वमा रहेको समितिले मन्दिरको प्रचारप्रचार तथा प्रवर्धनका लागि काम गरेको थियो ।
हाल यो मन्दिरको अध्यक्षको रुपमा स्थानीय समाजसेवी मोहन अर्याल रहनुभएको छ । उहाँले यो मन्दिरलाई धार्मिक पर्यटकहरुको गन्तव्यको रुपमा थप विकास गर्ने गरि लागिपरेको बताउनुभयो । हालै १०८ शिलवलिंगमाथि प्रदेश सरकारको सहयोगमा ट्रस्ट राख्ने कार्य भएको उहाँले बताउनुभयो ।
अक्षयकोष, आजिवन सदस्यता, मुष्ठीदान, बिभिन्न भक्तजनहरुबाट मन्दिरमा चढाईएका भेटी, बिभिन्न निकायहरुबाट प्राप्त सहयोग तथा योजना यो मन्दिरको आम्दानीको स्रोतको रुपमा रहेको छ । मन्दिरमा हाल पुजारी राखि बिहान साँझ पुजा आरधाना हुँदै आएको छ । यो मन्दिरमा शिवरात्री, बैशाख महिनाका प्रत्येक शनिवार, साउन महिनाको प्रत्येक सोमवार, जनैपुर्णिमा, कृष्णजन्माष्टमीमा बिशेष मेला लाग्दछ भने यसै मन्दिरमा स्वस्तानी वर्तकथा पनि श्रवण् गरिने भएकोले स्वस्तानीको समयमा पनि दशनार्थीहरु बढी आउने गर्दछन् भने साँझको समयमा स्वस्तानीसँगै भजनकृतन हुने गर्दछ ।
यस मन्दिरमा मंसिर महिनाको पञ्चमी÷पुर्णिमामा हरेक वर्ष दुधधार दिने प्रचलन रहेको छ । मन्दिर समितिले हरेक बर्ष लेखापरीक्षण गराई मन्दिरलाई जिल्ला प्रशासन कार्यालयमा नविकरण गराउँदै आएको छ । मन्दिरको कोषमा हाल रहेको छ । यो क्षेत्र धार्मिक हिसावले मात्र नभई पर्यटकीय हिसावले पनि निकै महत्वपुर्ण रहेकोले यसको उचित प्रचार प्रसार एवम् प्रवर्धन गर्नु आवश्यक रहेको मन्दिरका पुर्व अध्यक्ष एवम् बराङदीका वडाध्यक्ष मोतिलाल बस्यालले बताउनुभयो ।
–बगनासकाली फिचर संग्रहबाट साभार