किसानले गोरू बेचेर लैनो भैसी किन्न थाले

0
166

पाल्पा । केही वर्ष अघिसम्म बराङ्दी, चापपानी, खानीगाउँका अधिकांश किसान बिहान सबेरै दुध दही बेच्न तानसेन आउथे । अहिले गाउँमै सहकारी संचालनमा आएपछि उनीहरुलाई सहज भएको छ । मान्छेले बोकेर तानसेन ल्याउनुपर्ने समस्या टरेको छ, गाडीले बजारसम्म पु¥याउँछ ।

बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था बराङ्दीले भैसी प्रवर्धन कार्यक्रम संचालन गरेपछि किसानहरू खुशी भएका छन् । भैसी पालनबाट राम्रो आम्दानी हुन थालेपछि कतिपयले हलगोरू बेचेर लैनो भैसी किनेका छन् ।

स्थानीय ६३ वर्षीय गोपी गैरेले दैनिक १० लिटर दुध बेच्ने गरेको बताउनुभयो । गोठमा एउटा लैनो र अर्को बर्केनो गरी २ ओटा भैसी छन् । दुध बेच्न समस्या छैन । गैरेका ४२ वर्ष हलो जोतेरै बिते । ३० वर्ष हलगोरू आफै पाल्नुभयो । बेशीको स्याले खेतमा गोठ बनाएर गोरु पाल्दै आउनुभएका गैरेले गत असारमा गोरू बेचेर अर्को लैनो भैसी थप्नुभयो । “गाउँ गाउँमा हाते ट्याक्टर आएपछि जोत्न समस्या छैन । गोरू पाल्न भन्दा भैसी पाल्न ठिक ठानेर भैसी पाल्न थाले ।” उहाँले भन्नुभयो । अव बर्केनो बेचेर लैनो थप्ने तयारीमा रहेको उहाँको भनाई छ ।

४२ वर्ष अघि हलो जोत्न जाँदा दिनको ५ रुपैयाँ ज्याला आउथ्यो । त्यसै गरी यो बीचका वर्ष बिते । अहिले दैनिक १ हजार ज्याला पुगेको थियो । भैसी पाल्न थालेपछि दैनिकी पनि फेरिएको छ । आयआर्जन पनि बढेको छ । उहाँले भन्नुभयो ।

बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाले भैसीपालन किसानका लागि प्रोत्साहन तथा दुध संकलन र बिक्रीमा सहयोग गर्न थालेपछि गैरे जस्तै धेरै किसानले भैसीपालन थालेका छन् । ११ वर्ष कतार बसेर २०७५ सालमा घर फर्कनुभएका स्थानीय ४८ वर्षीय बिष्णु प्रसाद भुसालको दैनिकी पनि सहकारीकै कारण फेरिएको छ । सहकारी मार्फत भकारो सुधार र गोठ सुधारमा ५० प्रतिशत अनुदान पाएपछि उहाँले ३ ओटा भैसी पाल्नुभएको छ । १ वर्षमा ३ हजार ४ सय २५ लिटर दुध बिक्री गरी उत्कृष्ट किसानको रुपमा पुरस्कृत भुसालले सरकारको तर्फबाट अझ केही सहयोग पाएमा भैसी थप गर्ने योजना रहेको बताउनुभयो ।

सहकारीले भैसीपालन प्रवर्धनका साथै कुरियो, बेसार पकेट क्षेत्र बनाई काम गरेको छ । सहकारीका अध्यक्ष कृष्ण भुसालका अनुसार कृषकहरुलाई भैसी खरिद देखि दुधको वजारीकरणसम्मको काममा सहकारीले सहयोग गर्दै आएको छ । यहाँ अहिले १ सय वढी भैसीपालक कृषकहरुले व्यवसायिक भैसी पालन गरी दुध विक्री गर्दै आएका छन् । प्रति परिवार दैनिक ३ लिटर देखि १५ लिटर सम्म दुध विक्री गर्छन् ।

२०७६ साल असोजमा ३ वटा सहकारीहरुलाई एकीकृत गरि सञ्चालन गरिएको यो सहकारीले कृषि उत्पादन र वजारीकरणलाई प्राथमिकता दिँदै आएको छ । भैसी खरिद, थरी र गोठ सुधारमा ५० प्रतिशत अनुदान दिएपछि किसान भैसीपालनमा आर्कषित भएका हुन् ।

सहकारीले बराङ्दीमा डेरी र तानसेनको नारायणस्थानमा संकलन र विक्री कक्ष स्थापना गरेको छ । शुद्व दुधको नामबाट सहकारीले परिचय बनाएको छ । यहाँ दैनिक ४ सय देखि ५ सय ५० लिटरसम्म दुध संकलन आएको छ । दुधको साथै शुद्ध घिउ र कुराउनी बनाएर सहकारीले नै बजारीकरण गर्दै आएको छ । सहकारीका सचिव कमलराज तिमिल्सेनाले भैसी पालन र डेरी संचालनको अलावा सहकारीले कुरिलो खेती देखि अकवरे खुर्सानी प्रर्वद्धन सम्मका कार्यक्रमहरू संचालन गर्दै आएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here