यज्ञमूर्ति तिमिल्सिना । पाल्पा
बगनासकाली–९ चापपानी देउराली डाँडाका शंकर पराजुलीको सानो घरको कोठामा १ छोरा, १ छोरी र श्रीमान श्रीमतिको सहितको ह्याप्पी फेमिली लेखिएको तस्बिर भित्तामा छ । सायद उक्त फोटो खिच्ने बेला उनीहरुको मुहारमा धेरै खुशी थियो । परिवार पनि धेरै नै खुशी थियो । शंकरको परिवारको अनुहारमा खुशी हराएको धेरै भइसक्यो ।
त्यही फोटोको मुनि लामखुट्टे छेक्ने झुलभित्र बेडमा शंकरकी पत्नी सिताको पुरै चेत गुमेको पातलो शरीर एकमुठी सासको भरमा छ । त्यही सास पनि कृतिम रुपमा दिनुपर्छ । बिजुली गएका बेला आफ्नी पत्नीले सास फेर्न पाउदिनन् कि भनेर शंकरले महंगो मूल्यको जेनेरेटर किनेर राख्नुभएको छ ।
सिता पराजुली ३६ वर्षकी हुनुभयो । सिताका पति शंकर रोजगारीका लागि साउदी अरवमा हुनुहुन्थ्यो । उता शंकरले कमाएर पठाउने, यता सिताले घर ब्यवहार राम्रोसँग चलाउने र छोराछोरी पढाउने । खुशीका साथ जिन्दगी चलिरहेको थियो ।
२०८० कार्तिकताका सितालाई रिंगाटा लाग्ने, वाकवाकी हुने लगायतको समस्या भयो । छरछिमेकी र आफन्तहरुको सहयोगमा अस्पतालमा चेक जाच गर्ने क्रममा गर्धनको नशा च्यापिएको पाइयो । अपरेशन नगरे अरु बढी समस्याहरु निस्कन सक्ने चिकित्सकले बताएपछि २०८० मंसिर २३ गते काठ्माण्डौ ट्रमा सेन्टरमा अपरेशन भयो । अपरेशनपछि सिता स्वस्थ होलिन् भन्नेमा परिवार आशावादी थिए । समस्या झनै बल्झिएपछि पुनः पुस १ गते सिताको दोस्रो अपरेशन भयो ।
अपरेशन कक्षबाट निकालेपछि सिताको होस सधैका लागि गुम्यो । पुस २ गते पति शंकर बिदेशबाट फर्कदा पत्नीको होस् गुमिसकेको थियो । यसअघि पति शंकरसँग भिडियो कलमा “मैले उपचार गरेर धेरै पैसा खर्च गरे, निको पनि हुनी भएन” भन्दै रुने गरेकी सिता पतिसँग १ शब्द बोल्ने अवस्थामा हुनुहुन्थिएन । शंकरले सिता सिता भनेर धेरै बोलाउने कोसिस गर्नुभयो । अहः सिताले न पति आउनुभयो भनेर चिन्नुभयो र न त १ शब्द नै बोल्नुभयो ।
त्यसपछि पत्नी निको हुने आशले शंकरले अचेत पत्नीलाई धेरै अस्पतालमा लैजानुभयो । महिनौ अस्पतालमा बित्यो । १५ महिना वर्ष बढी भइसक्यो शंकर र उहाँका छोराछोरीले सिता÷ममि भन्दै बोलाउन थालेको । उत्तिकै समय भयो सिताले नसुनेको र हजुर भनेर नबोलेको । सिताकी आमा आएर धेरै पटक छोरी सिता÷सिता भनेर धेरै पटक बोलाउनुभयो । तर अहः सिताले केही बोल्नुभएन । न त आमा आउनुभयो भनेर चिन्नुभयो । शंकर अझै पनि पत्नी निको हुने आशमा हुनुहुन्छ । अहिले सितालाई घरमै ल्याएर राखिएको छ । १ वर्ष अघि सिताको अवस्था जस्तो थियो । केही सुधार छैन । खाइलाग्दो ज्यान सुकेर हलुङ्गो भइसक्यो ।
शंकरले परदेशको जागिर छोड्नुप¥यो । शंकरलाई समस्या माथि समस्या थपिएको छ । एकातिर उपचारमा धेरै खर्च भएपछि आर्थिक संकट छ । काम गर्न जाने अवस्था छैन । आफु जहाँ पुगेपनि कम्तीमा २ घण्टामा श्रीमतिको स्यहारका लागि घरमा पुग्नैपर्छ । सितालाई श्वास फेर्न घाटीबाट पाइप लगाइएको छ । पातलो खानेकुरा पनि पाइपबाट खुवाइन्छ ।
शंकर र सिताका छोराले कक्षा १० र छोरीले कक्षा २ मा पढ्छन् । काम गरेर पैसा कमाउने मान्छेनै घरमा बस्न पर्ने भएपछि उपचारमा समेत आर्थिक समस्या उहाँले बताउनुभयो । महिनामा कम्तीमा ६÷७ हजारको औषधी मात्रै लाग्छ । महिना सकिन लाग्दा अव औषधीको लागि पैसा कसरी जुटाउने भन्ने पिरलो हुने गरेको शंकरले बताउनुभयो ।
श्रीमति सिता निको हुने आशमा शंकरले निरन्तर सेवा गर्नुभएको छ । श्रीमतिको सरसफाई लगायतमा बिशेष ध्यान दिनुहुन्छ । सिता बिरामी भएपछि छरछिमेकीको राम्रो साथ भयो । केही रकम जुटेको पनि थियो । तर उपचारमा सबै सकियो । एकातिर गरिबी र अर्कोतर्फ श्रीमतिलाई दीर्घरोगले च्यापेपछि सबैकुरा भताभुङ्ग भएको शंकरले बताउनुभयो ।