जंकफुडको नाममा कुहिएका खानेकुरा बिक्री

0
277

मिलन विश्वकर्मा । पाल्पा
कुहिएका जंकफुड पाल्पाका विभिन्न गाउँमा रहेका बालबालिकालाई बिक्री गरेको फेला परेको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले गरेको अनुगमनका क्रममा यस्तो फेला परेको हो । जिल्लाको सदरमुकाम तानसेनमा कोठा लिएर सामग्री राखेको पाइएको छ ।  फोहोर कोठामा लथालिङ्ग तरिकाले सामग्री राखिएका छन् । प्रायः सामग्री कुहिएको अवस्थामा छन्। म्याद गुज्रेका र उत्पादन मिति समेत उल्लेख नभएका बालबालिकाले खाने सामग्री भेटिएका जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत रमा श्रेष्ठले बताउनुभयो ।

केही व्यापारीले ती कुहिएका र म्याद गुज्रेका जंकफुड गाउँमा पुगेर बिक्री गर्दै आएका रहेछन् । उपभोक्ताले गुनासो गर्न थालेपछि आकस्मिक अनुगमन गरिएको हो । बालबालिकाले अत्याधिक मन पराउने इमिलीमा ढुसी लागेको फेला परेको छ । प्याकेटमा भएका कतिपय इमिली, चना र धमका खजाना कुहिएका अवस्थामा भेटिए ।

अनुगमनका क्रममा म्याद गुज्रेका तथा सडेगलेका अवस्थामा फ्लेबर चकलेट, बर्फी, डेरी मिल्क, ट्याङ्ग, जिरा, मेथी, अजिना, करेन्ट मसला, पिरोरोल चकलेट लगायतका सामग्री फेला परेका थिए ।

यसरी व्यापार गर्ने व्यापारी पाल्पा बाहिरका छन् । घर रौतहट बताउने ती व्यापारीले पसल सञ्चालनका लागि घरेलु कार्यालय र तानसेन नगरपालिकामा दर्ता गरेका छन् । तर सामाग्री राखिएका पसल कहिल्यै खुल्दैनन् । उनीहरूले बोरामा पोका पारेर मोटरसाइकलमा बोकेर गाउँमा बिक्री गर्न लैजाने गर्छन् ।

तानसेन नगरपालिका ४ मा रहेका शिव मंगल जनरल स्टोर्स, फूल कुमारी सप्लायर्सले मापदण्ड विपरित सामग्री बिक्री गरेका भेटिएका हुन् । शिव मंगल जनरल स्टोर्सका कमोद कुमार यादवले रिब्दीकोट गाउँपालिका १ ख्याहास्थित एक विद्यालयमा पुगेर ती सामग्री बिक्री गरेको श्रेष्ठले बताउनुभयो । ती व्यापारीले विद्यालयका बालबालिकालाई बढी प्राथमिकता दिएर बिक्री गर्दा रहेछन् । गाउँघरमा सामग्रीको गुणस्तरीयता र अवस्थाबारे ध्यान दिदैंनन् । बालबालिकालाई त झन यसबारे केही थाहा हुँदैन् । ती व्यापारीले बजारभन्दा पनि बढी गाउँ केन्द्रित व्यापार गर्दै आएको पाइएको उहाँले बताउनुभयो ।
फूलकुमारी सप्लायर्सका दिलिप शाहले पनि तानसेन बजार र गाउँमा सामग्री बिक्री गर्दै आएको स्वीकार गरेका छन् ।
रुपन्देही जिल्लामा दर्ता गरेका कम्पनीले पाल्पामा ढुंग्रा उत्पादन गर्दै आएको छ। पाल्पामा दर्ता गरेर उत्पादन गर्न एक हप्ताको अल्टिमेटम दिइएको छ ।

पसल दर्ताको प्रकृतिअनुसार उनीहरूले जुन ठाउँमा पसल खोलेका छन् । त्यहीँ नै बिक्री गर्नुपर्छ । पोका पारेर अन्यत्र कुनै ठाउँमा लगेर बिक्री गर्न नपाउने घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख श्यामकुमार पौडेलले बताउनुभयो ।
आवश्यक प्रक्रिया पूरा गरेर पसल सञ्चालन गर्न भनिएको छ । अर्को पटकको अनुगमनमा पनि यही अवस्था फेला परे कानुन बमोजिम कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत रमा श्रेष्ठले बताउनुभयो । अनुगमनका क्रममा करिब ५० हजार बराबरको मापदण्ड विपरितका सामग्री जफत भएका छन् । प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेसहितको सरोकारवाला निकायको रोहबरमा ती सामग्री जलाएर नष्ट गरिएको छ ।

यो समाचार पाल्पा समाचारपत्र साप्ताहिकमा प्रकाशित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here