साँघुरो भवनबाट स्वास्थ्य सेवा लिन दिन असजिलो

0
128
पाल्पा । तानसेन नगरपालिका–७ कुनसरेमा ८ वर्षदेखि कृषि सेवा केन्द्रको भवनमा संचालन भइरहेको आधारभुत स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्दै गएपनि भवन साँघुरो भएका कारण सेवा लिन दिन समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।
तानसेन नगरपालिकाका वडा नं. ६, ७, ८ र ९ सहित बगनासकाली गाउँपालिकाको वडा नं. १ र २ बाट समेत यहाँ बिरामी आउने गरेका छन् । दैनिक ३० जनासम्म बिरामी सेवा लिन आउने गरेपनि एउटा साँघुरो कोठाबाट सेवाप्रवाह हुने भएकोले सेवा लिनका लागि लामो समय कुर्नपरेको सेवाग्राहीको गुनासो छ ।
तानसेन–७ की कमला नेपालीले आफू नियमित गर्भचाजका लागि यो सेवा केन्द्रमा आउने गरेको बताउनुभयो । भवन कोठा साँघुरो र बिरामीहरू आइरहने हुँदा सेवा लिन पालो कुरेर बस्नु पर्ने अवस्था रहेको बताउनुभये ।  केन्द्रमा बिरामी जाँचका लागि एउटा मात्रै बेड छ । एउटै कोठामा अन्य बिरामीहरु पनि पालो कुरेर बस्नुपर्ने भएकोले कतिपय बिरामीले आफ्नो समस्या खुलेर स्वास्थ्यकर्मीसामु राख्न नपाएको उहाँले बताउनुभयो । गाउँमै यो सेवा केन्द्र खुल्दा धेरैलाई सहज भएपनि सेवा केन्द्रलाई अझ ब्यवस्थित बनाउने नगरपालिकाको ध्यान जानुपर्ने उहाँको भनाई छ ।
तानसेन–७ की महिला स्वास्थ्य स्वयम्सेविका रिता भट्टराइले आफूहरुको सम्पर्कमा आउने बिरामीहरुलाई गाउँकै सेवा केन्द्रमा पठाउने गरेको बताउनुभयो । केन्द्रको कोठा साँघुरो छ बिरामीले पनि चाहेजस्तो सेवा पाउन सक्दैनन् । उहाँले भन्नुभयो । स्थानीय सरिता खनालले प्रेसर चेक गराउन जाँदा एक घण्टा नै कुर्नुपरेको बताउनुभयो । उहाँले एउटै कोठामा सबै बिरामीले सेवा लिने, बेड पनि एउटै भएको कारण एउटा बेडमा सेवा लिनुपर्ने बिरामी आएमा अर्को बिरामीले बेडको सेवा नपाउने अवस्थामा रहेको बताउनुभयो ।
केन्द्रकी अहेव शोभा बिश्वकर्माले ३ जना स्वास्थ्य कर्मचारी कार्यरत रहेको बताउनुभयो । आफूहरुले केन्द्रमा आउने बिरामीहरुको सहज उपचारका लगि सक्दो प्रयास गरिएपनि पर्याप्त उपकरणको अभाव र साँघुरो कोठा एउटा मात्रै बेड भएका कारण सोचेजति सेवा प्रवाह गर्न नसकिएको बताउनुभयो ।
तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले यो सेवा केन्द्रले धेरै अप्ठ्यारो अवस्थामा अधिकतम नागरिकहरुलाई स्वास्थ्य सेवा प्रवाह गर्दै आएको बताउनुभयो । एउटै कोठाबाट सबै सेवा दिनुपर्ने अवस्था छ । यस विषयमा आगामी दिनमा नगरपालिका र वडा कार्यालयको समन्वयमा केन्द्रलाई व्यवस्थित बनाउने योजना रहेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here