जुम्लाका ‘काफ्ले बा’ २५ वर्षदेखि घरदैलोमा ब्यापार गर्दै

0
85

सुशीला रेग्मी
विहान उज्यालो हुनासाथ पिठ्युमा कपडा बोक्यो गाउँ निस्क्यो । कपडाको ओजनले शरीर थकित हुन्छ । तरपनि मुहारमा झल्किएको त्यो हँसिलोपन र मुस्कानले थकितजस्तो अनुभुती नगर्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको बिशेषता हो । घामपानी, जाडो गर्मी जुनसुकै याममा पनि उहाँ कामको बोँझले भित्रभित्रै थाकेपनि बाहिर भने सबैका सामु खुशी र हँसिलो बनेर आफ्नै दैनिकीमा हिड्नुहुन्छ ।

जुम्लाको कनका सुन्दरी गाउँपालिका वडा नं ८ सिंजा बस्ने काफ्ले ढाका टोपी, ईस्टकोटको भेषमा पिठ्युमा राडीपाखी, गलैचा बोकेर गाउँ–गाउँमा पुग्ने गर्नुहुन्छ । जुम्लामा उत्पादन भएका राडीपाखी, गलैचा, स्वीटर बोकेर गाउँका वस्तीमा व्यापार गर्नु उहाँको दिनचर्या बनेको छ । उमेरले पाँच दशक नाघेका काफ्लेलाई घुमन्ते व्यापारले अझै छोडेको छैन । उहाँको यो कार्य रहरले होइन बाध्यताले गर्नु परेको छ । तैपनि उहाँ यसमै रमाउनुभएको छ ।

उहाँले बिगत २५ वर्षदेखि पिठ्युमा कपडा बोकेर घुमन्ते व्यापार गर्दै आउनुभएको छ । अहिले उहाँ पाल्पाको रामपुरमा कोठा भाडा लिएर यस आसपासका स्थानमा व्यापारका लागि पुग्नुहुन्छ । रामपुरमा निरन्तर व्यापार गर्न थालेको उहाँले १४ वर्ष भयो । करिव पाँच वर्ष भारतको अलमुढा, नैनताल, बागेश्वर, गढवाल, हिमान्चल, पिथरागढ, चम्पाव, डिडिहाट लगायतका बजारमा राडीपाखीको व्यापार गरेको उहाँले बताउनुभयो ।

स्वदेशी उत्पादन स्वदेशमै बिक्रि गर्ने उद्धेश्यले भारतको व्यापार छाडेर नेपालका विभिन्न जिल्लामा व्यापार गर्न पुग्नुभयो । उहाँले पोखरा, पर्वतको कुश्मा, बुटवल, तानसेनमा बसेर लामो समय व्यापारिक अनुभव बटुल्नुभएको छ । तानसेनमा व्यापार गर्ने क्रममा उहाँ रामपुर आउनुभएको हो ।

“तानसेनमा व्यापार अलि कम हुन थाल्यो, तानसेनका एक जना बुबाले रामपुर ग्रामीण भेग भएकाले व्यापार व्यवसाय कम छ, त्यहाँका गाउँ–गाउँमा राम्रो व्यापार हुन्छ भन्नुभयो, म त्यही आशा बोकेर करिव २०६८ सालतिर रामपुर आएर व्यापार सुरु गरेको हुँ, अहिलेसम्म पनि यहीँ निरन्तर लागिरहेको छु” उहाँले भन्नुभयो ।

रामपुरमा अन्य ठाउँको तुलनामा सुरुका वर्ष राम्रै कमाई भयो । पछिल्ला वर्षमा भने अघिल्ला वर्षको तुलनामा व्यापार अति कम छ । यहाँ पसल, व्यापार, व्यवसाय बढ्दै जादा घुमन्ते व्यापारमा असर पुगेको उहाँ बताउनुहुन्छ । पछिल्लो समय गाउँघरमा हुने मेला महोत्सवले गर्दा पनि व्यापारमा कमी आएको उहाँले सुनाउनुभयो । उहाँको व्यापार भनेको राडीपाखी हो । तर अहिले बढि मात्रामा गलैचा, तन्नाको व्यापार हुन्छ । गलैचा, राडीपाखी एक पटक किनेपछि धेरै समय प्रयोग गर्न पाइने भएकाले गलैचा, राडीपाखीसँगै तन्ना, स्वीटर, ईस्टकोटपनि व्यापार गर्ने गरेको उहाँ बताउनुुहन्छ । व्यापारमा ईमान्दारिपन, अनुशासित, बोलीमा मिठासका कारण उहाँलाई धेरैले मन पराउँछन् ।

गाउँमा कहिलेकाँही मौकाको फाइदा उठाउने गरी आउने व्यापारीले स्थानीयलाई ठगेर जाने गरेका घटना बाहिर आउँछन् । यसकारण पनि घुमन्ते व्यापारीलाई विश्वास गर्दैनन् । तर काफ्लेप्रति भने सबै उमेर समूहका मानिसको विश्वास छ । सुरुमा गाउँ–गाउँमा जादा डर, धम्की समेत भोग्नुप¥यो । तर अहिले त्यस्तो छैन ।
उहाँ भन्नुहुन्छ, “सबैले आफ्नै परिवारको सदस्यको व्यवहार गर्नुहुन्छ, राम्रोसँग चिन्नुहुन्छ, चलेको दरभाउ अनुसार व्यापार गरिरहेको छु, दुई पैसा अहिलेसम्म ठगेर व्यापार गरेको छैन, सबैको माया र साथ पाएको छु, यहाँ बस्न ढुक्क छ, कसैको डर, धम्की छैन, त्यही भएर अन्यत्र ठाउँको तुलनामा रामपुरमा धेरै समय बसिरहेको छु” ।
पहिला दिनमा २० हजारसम्म कमाई गर्ने गरेकोमा अहिले व्यापार घटेर दिनमा बढीमा ४ हजार जति कमाई हुने गरेको उहाँ बताउनुहुन्छ । ठूलो सपना छैन, सामान्य खाना, लाउन पुगेकोमा यसमै खुशीका साथ जीवन बिताइरहेको उहाँले बताउनुभयो । राडीपाखीका सामान जुम्लाबाट खरिद गरेर ल्याउनुहुन्छ भने अन्य सामान काठमाडौंबाट खरिद गरी व्यापार गरिरहनुभएको छ ।

जुम्लामा राडीपाखी लिन उहाँ चार÷चार महिनामा जानुहुन्छ भने काठमाडौंमा एक दिनको बाटोमा पुगिने भएकाले एक÷एक महिनामा पुग्ने गरेको उहाँले सुनाउनुभयो । जाडोयाममा राडीपाखीको व्यापार बढी हुने हुनाले सो समयमा व्यापार गर्ने लक्ष्यका साथ सामग्री पहिले नै बन्दोबस्त गरेर राख्नुहुन्छ । राडीपाखी बिशेषगरी पुजाआजामा प्रयोग गरिने भएकाले बजारका सामान भन्दा राडीपाखी नै ग्राहकले रोज्ने गर्छन् । भेडाको उनबाट बनेको हुनाले पूजाआजा गर्न चोखो हुन्छ भनेर राडीपाखी खोज्छन् भने कतिपयले जाडोमा न्यानोका लागि खोजी–खोजी खरिद गर्ने गरेको काफ्लेको भनाई छ ।

उहाँको परिवारमा श्रीमती, एक छोरी, दुई छोरा छन् । उनीहरुको पालनपोषण, पढाइ खर्च काफ्लेको काँधमा छ । एक व्यक्तिको घुमन्ते व्यापारको कमाईले दुखले परिवारको गुजारा अहिलेसम्म चलेको उहाँ बताउनुहुन्छ । जेठो छोरो स्नातक अध्ययन पुरा गरी अहिले लोकसेवा आयोगको तयारीमा छन् । कान्छो छोरो एसईई उत्र्तिण गरेपछि वैदेशिक रोजगारीका लागि कोरियन भाषा पढ्दैछन् । छोरी कक्षा ११ मा गाउँकै स्कुलमा अध्ययनरत रहेको उहाँले जनाउनुभयो ।
“अहिले छोराछोरी हुर्के बढेसँगै परिवारको खर्च बढ्दै गयो, सानो खर्चले घरखर्च धान्न मुस्किल छ, व्यापार भने पहिलाको तुलनामा घट्दैछ, एक व्यक्तिको कमाईले जीविका चलाउन हम्मेहम्मे परेको छ, बाध्यताले गाउँ गाउँमा राडीपाखी, गलैचा लगायतका कपडा बोकेर व्यापारमा हिडेछु” उहाँले भन्नुभयो ।

बाउबाजेको पालादेखि नै चलिआएको यो पेशा उहाँले अहिलेसम्म पनि निरन्तरता दिइरहनुभएको छ । यसरी व्यापार गर्ने हिजोआज पूराना व्यक्तिले छाड्दै गएका छन् । बाउबाजेले गरेको पेशा आजसम्म धान्दै आउनुभएका काफ्ले यो पेशा आफ्ना सन्ततीलाई हस्तान्तरण गर्न ईच्छुक हुनुहुन्न । परिवारको आर्थिक अवस्था कमजोर हुँदा पढ्ने रहर भएपनि पढ्न नपाएको उहाँको गुनासो छ । कक्षा १० सम्म पढ्नु भएका काफ्ले आफूले दुख गरेरै भएपनि छोराछोरीको उज्ज्वल भविष्य बनाउने सपना बुनेर गाउँ–गाउँमा व्यापारमा खट्नुभएको छ ।

अहिले उहाँले रामपुरका अलवा पाल्पाकै पुर्वखोला, रम्भा, बगनासकाली गाउँपालिका, स्याङजाको चापाकोट नगरपालिका, मालुङ्गा, मिर्मि, बयरघारी, वालिङ, चिन्नेबास, गल्याङका गाउँमासम्म व्यापार गर्नुहुन्छ । घुमन्ते व्यापारमा उहाँको साथमा पहिला २÷३ जना साथि थिए, अहिले भने उहाँ एक्लै व्यापारको शिलशिलामा गाउँ वस्तीमा पुग्नुहुन्छ । उहाँसँगै व्यापार गर्ने साथीहरु पछिल्ला समय सन्तोषजनक व्यापार नभएपछि यो व्यवसाय छाडेर गएका छन् ।

लामो समयसम्म रामपुरमा व्यापार गर्दै आउनुभएका काफ्लेले अब अर्घाखाँची र गुल्मी जिल्लामा पुगेर व्यापार गर्ने सोँच बनाउनुभएको छ । उहाँले आफ्नो व्यापारिक सम्बन्धलाई फराकिलो बनाउन रामपुरलाई आधार बनाएर रामपुरसँगै अर्घाखाँची र गुल्मी पुग्ने योजना बुन्नुभएको छ ।

“पहिला गाउँघरमा म जस्तै राडीपाखी बेच्ने धेरै व्यापारी थिए, अहिले पूराना व्यापारी यसरी हिड्ने कम छन्, अब नयाँ पुस्ताले यो व्यवसायल अँगालेका छैनन्” उहाँले भन्नुभयो,–“मेरो पनि छोराले कमाउने भएपछि यसरी व्यापार गर्दिन्, अहिले छोराछोरीका लागि गाउँघर छाडेर अर्काको ठाउँमा पिठ्युमा कपडको भारी बोकेर हिड्नु परेको छ” ।
उहाँको गाउँ जुम्लाबाट व्यापार गर्ने थलो पाल्पा रामपुर आउन वा रामपुरबाट जुम्ला जान एकतर्फी मात्रै तीन दिनको यात्रा गर्नुपर्छ । जुम्लाबाट सुरु गरेको यात्रा कालिकोट, दैलेख, सुर्खेत, कोहलपुर, बुटवल हुँदै पाल्पा रामपुर आइपुगिन्छ । ठाउँ ठाउँका गाडी स्टेशनपिच्छे ओर्लदै एक गाडीबाट अर्को गाडीमा सामान राख्दै अर्काको गाउँमा व्यापार गर्न सहज छैन । आफ्नो परिवारको पेट पाल्न र छोराछोरीको पढाई खर्चका लागि यसरी काम गर्नु उहाँको बाध्यता छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here