रामपुर, पाल्पा
ठेकेदार, यो शब्द सुन्दा धेरैको दिमागमा छोरा मान्छेको चित्र आउँछ। स्वभाविकै हो, धेरैजसो ठेकेदार पुरुष नै छन्। तर पाल्पा रामपुरकी सुमन खाम्चा मगर अपवाद भएकी छिन् । जसले पुरुषहरुको पकड रहेको निर्माण व्यवसायमा हात हाल्ने साहास गरिन् । मजदुरीबाट सुरु मजदुरबाट ठेकेदार: आत्मविश्वासले फेरिएको सुमनको जीवनगरेर मिस्त्री हुँदै ठेकेदार बनिन्।
रामपुरमा निर्माण व्यवसायीको कमी छैन। दर्जनौं ठेकेदारले मजदुरहरुलाई काम दिएका छन्। घर ठड्याएका छन्। पुल बनाएका छन्। अनि बनाईरहेका छन् मठ, मन्दिरसँगै अनेकौं संरचना।
मन्दीको समयमा पनि सुमनले खाली बस्नु परेको छैन। दर्जन बढी मजदुर र मिस्त्रीहरुलाई काम दिन पाएकी छिन्। उनलाई नगरपालिकाले असल ठेकेदार भनेर सम्मान समेत गरेको छ। जुन उनका लागि सयौं संरचना बनाएर कमाएको लाखौं रुपैंयाभन्दा मुल्यवान छ।
सुमनको ज्यानलाई सन्चो थिएन। काठमाडौंमा उपचार गराएर भर्खरै रामपुर फर्किएकी सुमनसँग उनकै घरमा भेट भयो। अरुका सयौं घर बनाएकी सुमनले आफ्नो घरको कथा सुनाईन्। घरअगाडि काँचो ईंट्टाको मक्केको छाप्रो छ। त्यो छाप्रोमा सुमनको परिवारले वर्षौं आश्रय लियो। त्यो छाप्रो उनका हरेक सुख र दुःखको साक्षी बन्यो। माइतीको जग्गामा रहेको त्यो छाप्रोसँग उनका अनेकौं सम्झना छन्। जसलाई देखेर उनी हरेक दिन मनै कुँड्याउने विगत सम्झिन्छिन् । आफ्नै बलबुताले पक्की महलमा सर्न सफल भएको सम्झेर आफैँले आफैँलाई धन्य भन्छिन्।
तानसेनतिरका घर बनाउने मिस्त्रीसँग रामपुरमा उनको भेट भयो । बाख्रा गोठालो लाग्दै गर्दा मायाप्रिति बस्यो। सुमन पढाईमा भन्दा खेती किसानीमा अब्बल थिइन्। अर्मपर्म र खेतबारीको काम गर्न निकै फुर्तिली। उनको जाँगरले खेती सप्रन्थ्यो।
बिहेपछि सुमनको जिन्दगीले नयाँ मोड लियो । बुढा दिनभरि काममा जान्थे । सुमन घरमा एक्लै हुन्थिन् । एकजनाको कमाईले दुई ज्यान पाल्न गाह्रो गाह्रै हुन्थ्यो । कति रातहरु भोकै पनि सुत्नुपर्यो । मेहनती सुमनलाई बुढाको कमाइ खाँदै चुपचाप हात बाँधेर घरैमा बस्न मन लागेन । श्रीमानसँगै मजदुरी गर्न हिँडिन्। बालुवा चालिन्। ईंटा बोकिन्। सिमेन्टी मसला घोलिन्। निर्माण मजदुरले गर्ने सारा काम गरिन्। माइती गाउँमा उनले गरेको काम चित्त नबुझाउने थुप्रै थिए। ‘इज्जतको ख्याल गरिन’ भनेर कतिपयले त मुखै फोरेर पनि भने। तर सुमनलाई माइतीको इज्जत भन्दा पेट पाल्नु महत्वपूर्ण थियो।
उनले अरुका कुरा नसुनेर मजदुरी गरि रहिन्। बालख छोरी पिठ्युँमा बोकेर दुवैजनाले खुब मेहनत गरे । श्रीमान् ले विस्तारै ठेक्कामा काम लिन थाले । सुमन भारी बोक्ने सिमेन्टी घोल्ने काममै सिमित थिइन् । सिमेन्टी बालुवा घोलिरहँदा प्लाष्टर कसरी गर्ने रहेछन् भनेर घोत्लिरहन्थिन् । उनीहरुले जस्तै प्लाष्टर गर्न, धागो तान्न, गाह्रो लगाउन पाए पनि हुने भनेर कल्पिन थालिन् । बुढासँग एकदिन मनको कुरा फुकाइन् । तर बुढाले पत्याएनन् – ‘महिलाले कहाँ त्यस्तो काम गर्छन्!’ भनेर उल्टै हप्काए ।
सिक्ने रहर जागिसकेको थियो । श्रीमानकै गाउँ आरूभन्ज्याङतिरका दाईहरु सँगै काम गर्थे । तिनै दाइहरुले उनलाई काम सिकाइदिए । ‘सुरुमा मलाई ईंट्टाको गारो लगाउन सिकाइदिनुभयो । उहाँहरुले काम गरेको हेरिबसेकाले पहिलोपल्ट नै मैले राम्रोसँग गारो लगादिए।’ त्यो एक दिन आँट गरेर काम नसिकेको भए शायद म पनि श्रीमानले भनेजस्तै ‘महिलाले पनि यस्तो काम गर्ने हो र !’ भनि बस्थे होला – ‘सबैभन्दा ठूलो कुरा त आँटै रहेछ।’ बुढाको आँखा छलिछलि उनले काम सिकिन् ।
‘एकदिन प्लाष्टर गर्दै थिए । बुढा आइपुग्नुभएछ । रिसाउनुहोला कि भनेर डर लागेको थियो तर केही नभनि जानुभयो ।’ त्यसयता उनी बेफिक्री काम गर्न थालिन् । प्लाष्टर गर्ने, झ्याल ढोका हाल्ने सबै काममा उनी पोख्त भइन् । सुमनलाई काम सिकाउने दाजु यो संसारबाट बिदा भइसके, तर उनले सिकाएको सीप सुमनसँगै छ । निर्माणको सबै काममा सिपालु भएपछि सुमनको जिन्दगीले नयाँ मोड लियो । उनले आँट गरिन् । आफैँले ठेक्कामा बोल कबुल गरेर काम लिइन्। आफैँ खटेर सोचेभन्दा राम्रोसँग काम फत्ते गरिन्। घरहरु मात्र ठडिँएनन् उनको आत्मविश्वासका पिल्लरहरु पनि बलिया हुँदै गए ।
भूकम्पपछि उनले भ्याई-नभ्याई काम पाइन्। त्यो समय २५ जनालाई रोजगारी दिएकी थिइन्। अहिले काम घटेको छ तर पनि ८, १० जनालाई पुग्ने काम उनको हातमा टुटेको छैन। कोभिडको बेलामा पनि उनी हात खाली बस्नुपरेन ।
विशेषगरी श्रीमान विदेश भएका महिलाहरुले घर बनाउन सुमनलाई सम्झन्छन्। छिटो काम सक्नुपर्नेहरुले पनि सुमनलाई गुहार्छन् । सुमन थोरै काम लिन्छिन् तर गुणस्तरमा सम्झौता गर्दिनन् । ज्यानले साथ दिएसम्म हरेक काममा आफैँ खट्छिन्। कामको निरिक्षण निर्मम भएरै गर्छिन्। कोही बिरामी परेर काम रोकिने स्थिति भए आफैँ फिल्डमा उत्रिन्छिन्। उनी भन्छिन्, ‘अधिकांश काम मलाई आउँछ। त्यसैले काम रोकिएर ढिला होला भन्ने चिन्ता हुँदैन। त्यसैले पनि मप्रति मान्छेको विश्वास बढेको होला।’
लेनदेनमा पनि सुमन खरो छिन्। सानो डायरीमा हरेकको दिनगन्ति हिसाब राखेकी छिन्। कतिपय ठेकेदारले मजदुरलाई पैसा नदिएर विभिन्न लफडा भएको समाचार उनको कानमा गुन्जिरहन्छ। त्यस्तो बेलामा उनी आफुले मजदुरी गर्दाको बेला सम्झिन्छिन् । मजदुरी गर्नेलाई ज्यालाको महत्व कति हुन्छ उनले भोगेकी छिन् ।
‘एक दिन नाइकेले ज्याला नदिएर श्रीमान् रित्तै हात घर आउनु भएको थियो । हामीसँग जम्मा १० रुपैयाँ मात्रै थियो । एउटा चाउचाउ दुईजनाले बाँडेर खायौं ।’ आफूसँग काम गर्नेले त्यस्तो दिन भोग्नु नपरोस् भनेर उनी सचेत हुन्छिन् । सँगै काम गर्नेहरुको दुखसुखमा साथी भइदिन्छिन् । आफ्ना कामदारलाई ज्यालामा अन्याय नहोस् भनेर हरहिसाबमा उनी चुस्त र पारदर्शी छिन्। अप्ठ्यारो पर्दा ऋण खोजेर पनि कामदारको ज्याला भरिदिनु ठेकेदारको कर्तव्य सम्झन्छिन्। त्यसैले उनीसँग काम गर्न रुचाउनेहरुको कमी छैन।
उनीसँग काम गर्ने महिला र पुरुष दुबैले बराबरी ज्याला पाउँछन् । निर्माणको क्षेत्रमा धेरै महिलाहरु छैनन् । यो व्यवसायमा महिलाहरु अझै धेरै आउन् भन्ने उनको चाहना छ । आफूसँग काम गर्ने बहिनीहरुलाई उनी ज्याला मजदुरी बाहेकका सीप सिक्न हौस्याइरहन्छिन् । अहिले उनीसँग दुई बहिनीहरु काम सिक्दैछन् । अलि अलि सामान खेर गएपनि काम सिके भने उनीहरु आत्मनिर्भर हुन्छन् । मैले दाइलाई सम्झे जस्तै उनीहरुले पनि भोलि मलाई सम्झिन्छन् । सुमन भन्छिन् – ‘आँट गरे सिक्न गाह्रो छैन । केटाहरुले गर्न सक्ने हामीले गर्न नसक्ने भन्ने हुन्न।’
एउटा मजदुर जसले अरुका घर ठड्याउन दिनभर पसिनाले नुहाउँथ्यो । तर आफ्नै पक्की घर उसको कल्पनामा समेत हुँदैन थियो । न उच्च शिक्षाको सर्टिफिकेट थियो न त पुर्ख्यौली सम्पत्ती । सुमनले भाग्यमा भन्दा कर्ममा विश्वास गरिन् । ज्यालादारी कामबाट सुरु गरेर अरुलाई रोजगारी दिने अवस्थामा पुगिन् ।
अहिले उनी आफ्नै पक्की घरमा बस्छिन्। छोरीलाई काठमाडौं शहरमा कम्प्युटर इन्जिनियरिङ पढ्दै छिन् । ‘इन्जिनियरिङ परीक्षा दिन जाँदा म पनि छोरीसँगै काठमाडौं गएको थिए । जाँच दिएर आएपछि छोरी निकै आत्तिएकी थिई ।’ तर एकहप्ता पछि नाम निस्क्यो भन्ने खबर आयो । ‘पहिलोपल्ट आफैले गारो लगाउन जानेको दिन र छोरीको नाम निस्केको दिन मेरो जिन्दगीकै सबैभन्दा खुशीको क्षण हो ।’
छोरीले सरकारी जागिर खाएको हेर्ने उनको ठूलो धोको छ। बग्रेल्ती सन्तान पाउन उनले चाहिनन्। छोराको लोभ पनि भएन । बरु एउटी छोरीलाई राम्रो शिक्षा दिएर आफूले भोगेका दुख र अभावको समुन्द्रबाट पार लगाउने उनको एक मात्र इच्छा छ।
यो श्रृंखला अष्ट्रेलियन सरकार बैदेशिक मामिला तथा व्यापार विभागको द एशिया फाउण्डेसन नेपालसँगको साझेदारीमा सञ्चालित स्थानीय सरकार सबलीकरण कार्यक्रमको “नेतृत्वमा महिला” पहल अन्तर्गत पर्दछ।