पाल्पा । हरेक त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंकसम्म पुग्नुपर्ने झण्झटिलो प्रक्रियाको अन्त्य गर्दै बगनासकाली गाउँपालिकाले गाउँघरमै पुगेर भत्ता वितरण गर्न थालेको छ । यसबाट लाभग्राहीहरू खुशी भएका छन् ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता पनि गाउँपालिकाले नेपाल बैंक सँगको सहकार्यमा वडावडामै पुगेर बितरण गरिरहेको छ । पालिका भित्रका ३ हजार १ सय ८७ जना लाभग्राहीले वडा कार्यालयबाटै भत्ता बुझ्न पाउनेछन् । तेस्रो त्रैमासिकमा ३ करोड, १९ लाख, ९८ हजार ९ सय ४५ रुपैंया नेपाल बैंकमा रहेको लाभग्राहीको खातामा जम्मा गरिएको र बैंकसम्म पुग्न नसक्नेहरुलाई गाउँमै पुगेर भत्ता बितरण गर्दै आएको गाउँपालिकाका आइएमएस अपरेटर भोजराज भट्टराइले बताउनुभयो । उहाँले वडा कार्यालयमा पुग्ने शिविर मार्फत सहज रुपमा भत्ता प्रदान गर्दै आएको बताउनुभयो ।
आफूहरुले निर्वाचनको समयमा गरेको प्रतिबद्धता अनुसार नै हरेक किस्ताको भत्ता वडा वडामा पुगेर वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताउनुभयो । उहाँले गाउँपालिकाले सामान्य सहजीकरण गर्दा पनि भत्ता लिनेहरुका लागि ठूलो राहत र सहयोग हुने भएकोले नेपाल बैंकसँगको सहकार्यमा आफूहरु निर्वाचित भएदेखि नै यसैगरी वडामा पुगेर भत्ता वितरण गर्दै आएको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले भत्ता वितरणका समयमा आम नागरिक, बृद्ध बुवा आमा लगायतबाट गाउँपालिकाका लागि आवश्यक सुझाव सल्लाह समेत ग्रहण गर्दै आएको बताउनुभयो । उपाध्यक्ष पाठकले यसअघि गाउँपालिका मार्फत सबै बिद्यालयहरुमा पुगेर निःशुल्क रुपमा आँखा शिविर संचालन गरेको बताउनुभयो । जनतालाई सहज रुपमा सेवा कसरी दिन सकिन्छ भन्नेमा गाउँपालिका दत्तचित्त भएर लागिपरेको उपाध्यक्ष पाठकको भनाई छ ।
ग र घ बर्गका अपाङ्गता भएका ब्यक्तिलाई पनि भत्ता
बगनासकाली गाउँपालिकाले लोककल्याणकारी कार्यक्रम अन्तरगत ग र घ वर्गका लाभग्राहीलाई पनि मासिक रुपमा निर्वाह भत्ता उपलब्ध गराउँदै आएको छ । उक्त भत्ता हरेक ६ महिनामा लाभग्राहीको खातामा जम्मा हुन्छ । उक्त रकम पनि लाभग्राहीहरुले वडाबाटै पुगेको टोली मार्फत बुझ्न पाउँछन् ।
गाउँपालिकाले ग वर्गका ८३ र ३ वर्गका ३२ गरीे ग वर्गका अपाङता भएकाको लागि मासिक ५ सय र घ वर्गका अपाङ्गता भएकाको लागि मासिक ३ सय रुपैंया निर्वाह भत्ता प्रदान गर्दै आएको छ । उक्त निर्वाह भत्ता पाउन थालेपछि यहाँका अपाङ््गता भएका ब्यक्तिहरु खुशी भएका छन् । ग र घ वर्गका अपाङ्गता भएका ब्यक्तिहरुको निर्वाह भत्ताको ब्यवस्था गाउँपालिकाले आफ्नै स्रोतबाट गर्दै आएको छ ।
त्यस्तै गाउँपालिकाले लोककल्याणकारी कार्यक्रम तथा अभिभावकत्व ग्रहण कार्यक्रम अन्तरगत गाउँपालिका भित्रका अभिभावक बिहीन बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई मासिक रुपमा रु १ हजार शैक्षिक सहयोग समेत गर्दै आएको छ । यसरी अभिभावकत्व ग्रहण गर्नेमा बगनासकाली जिल्लाकै पहिलो पालिका हो । बगनासकालीको अभ्यासपछि अन्य पालिकाहरुले समेत यो कार्यक्रम अगाडि सारेका थिए ।