पाल्पा । रम्भा गाउँपालिकाले पालिका कार्यालयको पहुँचमार्ग कालोपत्रे गरेको छ । पिपलडाँडाको अंगाहाखोलादेखि पालिका कार्यालय खोक्खोलाको बाटो जीर्ण र जोखिमपूर्ण अवस्थामा थियो ।
गाउँपालिकाले आफ्नै बजेटबाट यो सडक अन्तरगत १ हजार ५० मिटर बाटो पिच गरेको छ । गाउँपालिकाले आफ्नै स्रोतबाट १ करोड २१ लाख, २६ हजार १ सय ६९ रुपैयाँ ६३ पैसामा ठेक्का सम्झौता गरी बाटो कालोपत्रे गरेको हो । जिल्लाकै सानो भुगोलमा रहेको रम्भा गाउँपालिकाको आन्तरकि आम्दानी समेत अन्य पालिकाको तुलनामा कम छ । तर आफ्नै स्रोतबाट यसरी बृहत योजना सञ्चालन गर्नेमा रम्भा जिल्लाकै नमुना पालिकाको रुपमा रहेको छ ।
खनाल इन्फ्रा प्रालि रेसुङ्गा गुल्मीले उक्त बाटोको ठेक्का लिई कार्य गरेको हो । यो बाटोको २०८१ कार्तिक ६ गते सम्झौता भएको र सम्पन्न हुने मिति २०८२ असार २० गते रहेको साइड इन्चार्ज बिशाल सिंहले बताउनुभयो । बाटो निर्माण कार्य लगभग सम्पन्न भइसकेको छ ।
गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले गाउँपालिकाले आफ्नै लगानीमा उक्त बाटोको पिच कार्य गरेको बताउनुभयो । उहाँले अंगाहाखोलाबाट गाउँपालिका कार्यालय आउने बाटो कतै उकालो, कतै साँघुरो र कतै निकै जोखिमपूर्ण रहेको अवस्थामा गाउँपालिकाले नै आफ्नै लगानीबाट उक्त बाटोको पिच कार्य गरेको बताउनुभयो । यसरी बाटो पिच भएपछि स्थानीय समेत खुशी भएका छन् ।
गाउँपालिकाकै आफ्नै बजेटबाट ब्यवस्थापन गर्ने गरी कार्य अगाडि बढाइएको र यो रम्भा गाउँपालिकाको ठोस योजनाको रुपमा यो यो योजना रहेको उहाँले बताउनुभयो ।
यसबाट रम्भा गाउँपालिकाका सबै नागरिकहरु प्रत्यक्ष लाभान्वित हुने गरी योजना अगाडि बढाइएको उहाँले बताउनुभयो । यसलाई एउटा बिशेष किसिमको योजनाको रुपमा रहेको उहाँले बताउनुभयो । बिगत बर्षमा ग्रेड मिलाउने लगायतका काम भएको र यस वर्ष पिच कार्य गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाको केन्द्र खोक्खोलामै तय भएपछि पालिका केन्द्रसम्को पहुँचलाई ब्यवस्थित गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
उहाँले रम्भा गाउँपालिकाको प्रशासकीय भवन केन्द्रको टुंगो लागेपश्चात भवन निर्माणको कामको प्रक्रिया समेत अगाडि बढेको बताउनुभयो । रम्भा गाउँपालिका आफैमा कृषि तथा पशुपालनका हिसावले अगुवा पालिका भएकोले पनि यस गाउँपालिका अन्तरगत वडा नं. १ हुँगीमा औद्योगिक ग्राम निर्माणको काम अगाडि बढेको बताउनुभयो । यो औद्योगिक ग्रामको गुरुयोजना समेत बनाइएको र यसबाट रम्भाको कृषि तथा औद्योगिक क्षेत्रमा राम्रो प्रभाव पर्ने अध्यक्ष भण्डारीले बताउनुभयो । औद्योगिक ग्रामभित्र कृषि उत्पादन बजारीकरण, अन्य उद्योगहरु समेत रहने र यसबाट यस क्षेत्रको विकास र समृद्धिमा ठूलो टेवा पुग्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।
होम स्टे नमुना बन्दै
रम्भा गाउँपालिकाले यसैबर्षदेखि वडा नं. २ फोक्सिङकोटमा होम स्टे संचालनमा ल्याएको र यसबाट यहाँको आन्तरिक तथा बाह्य पर्यटनमा टेवा पुगेको अध्यक्ष भण्डारीले बताउनुभयो । होमस्टे संचालनमा आएपछि रानीबासको मुहार फेरिएको उहाँले बताउनुभयो ।
होम स्टे संचालनमा आएपछि किसानहरु अर्गानिक उत्पादनतर्फ लागेका छन् । यहाँको कला संस्कृतिको प्रवर्धन भएको छ । रानीबासमा सुरुमा १६ घरमा होमस्टे संचालन गरिए पनि आगन्तुकहरूको संख्या बढ्दै जाँदा होमस्टे संख्या बढाउनेपर्ने अवस्था आएको रानिबास होमस्टेका सचिब बिरबहादुर गुरुङले बताउनु भयो । होम स्टेको प्रारम्भिक चरणदेखि नै गाउँपालिकाले सहयोग गर्दै आएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
फोक्सिङकोट आफैमा पनि उद्यमशील गाउँ हो । बाख्रापालनबाट यहाँका किसानले मनग्ये आम्दानी गर्दै आएका छन् । बाखा्रपालन किसानलाई समेत गाउँपालिकाले प्रोत्साहन गर्दै आएको छ ।
रम्भा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि पशुपालन लगायतलाई पनि उत्तिकै महत्व दिएको अध्यक्ष भण्डारीले बताउनुभयो । स्वास्थ्य सेवा अन्तरगत ताहुँमा १५ शैयाको अस्पताल भवन निर्मााण् कार्य चलिरहेको र उक्त अस्पताल निर्माण कार्य सम्पन्न भएपश्चात त्यस क्षेत्रका नागरिकले बिशेषज्ञ सहितको स्वास्थ्य सेवा प्राप्त गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।