पाल्पा । बगनासकाली गाउँपालिका–५ सुनादीमा ब्राह्मण होमस्टे संचालनको तयारी गरिएको छ । यहाँ आगामी वर्षदेखि होमस्टे सञ्चालनमा ल्याउने गरी तयारी अगाडि बढाइएको हो ।
सुनादी आफैमा ब्राह्मण भजन संस्कृतिको खानी हो । यहाँका बच्चादेखि बुढापाकासम्मले भजन कृतन मजाले गाउन र रमाउन सक्छन् । यहाँको भुगोल पनि राम्रो र कृषियोग्य रहेको छ । सुनादीमा मौसमी तथा बेमौसमी तरकारी, गेडागुडी प्रसस्त पाइन्छ । सिंचाइको समेत खासै समस्या छैन । यहाँका किसानले गाई भैसी पाल्ने र दुध उत्पादन गरी राम्दी बजार र बाँकी रहेको दुध राम्दीमै रहेको दुध संकलन केन्द्रमा लगि छुर्पी जमाउने तथा दही जमाई बिक्री गर्दै आएका छन् ।
सुनादीमा अहिले दैनिक १ सय ५० लिटर बढी दुध उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित तरकारी राम्दी तथा स्थानीय बजारहरुमा बिक्री हुँदै आएको छ । यो क्षेत्रलाई कृषि तथा पशुपालनको पकेट क्षेत्रको रुपमा बिकास गर्दै यहाँ उत्पादित दुधको गाउँमै प्रसोधन मार्फत दुधबाट बन्ने बिभिन्न परिकार बनाई बजारीकरण गर्न सकिन्छ । सुनादी गाउँमा ब्राह्मण होस्टे मार्फत यहाँको धार्मिक प्रचार, कृषि तथा पशुपालनको प्रवर्धन गर्ने उद्देश्यसहित उक्त अभियान चलाइएको स्थानीय एवम् बगनासकाली गाउँपालिकाकी कार्यपालिका सदस्य खुमादेवी भट्टराइले बताउनुभयो । सुनादीकै भजन कृतन समूहलाई पनि आन्तरिक तथा बाह्य पर्यटनको मुख्य आकर्षण बनाउन सकिने उहाले बताउनुभयो ।
सुनादीमा ३२ घरपरिवार रहेकोमा सबै घर भट्टराई परिवार रहेका छन् । यहाँका ब्राहमण समुदायका मानिसहरूले संस्कार र संकृतिको संरक्षणमा आफ्नै खालको भुमिका निर्वाह गरेको पाइन्छ । समय समयमा धर्म संस्कृतिको संरक्षणमा गरिने कार्यहरूलाई बचाई राख्न साविक वडा नं. २ सुनादी अग्रस्थानमा रहेको छ । यस ठाउँमा एकै जना भट्टराई बाजेका शाखा सन्तानहरू बसोबास गर्दै आएका छन् । पाल्पाको छेर्लुङबाट बि.सं. १८०० साल ताका मणिमुकुन्द सेनका पालामा एक जना भट्टराई बाजे बसाई सरि सुनादीमा आएका थिए ।
उनीहरू सुनादीको पहिचान बचाउन र उक्त ठाउँलाई व्यवस्थित गर्न, संस्कार र संस्कृतिको संरक्षण गर्न नयाँ पुस्तालाई संस्कृति संरक्षणमा अगाडि बढाउनका साथै सुनादीको विकास र पहिचानका लागि धार्मिक पर्यटकहरू भित्रयाउने उद्देश्यले ब्राहमण होमस्टे खोल्ने तयारीमा लागेका हुन् ।
स्थानीय अगुवा शोभाखर भट्टराइले रामनदीधाम राम्दी कालीगण्डकीको स्नानपछि सिद्धगुफा, जानकी मन्दिर, राम मन्दिर लगायत देवी देवताको दर्शन गरिसकेपछि सुनादीको होमस्टे बसाई फलाहार ग्रहण र भजन कृतनमा रमाउने गरी व्यवस्थित होमस्टे संचालन गरिने बताउनुभयो । भजन ख्याली र अन्य कलाको संरक्षणबाट मात्रै संस्कृतिको संरक्षण गर्न सकिने हुदा यसको संरक्षण र पहिचान जोगाउनु आजको आवश्यकता हो । पुराना कला संस्कृतिको संरक्षणबाट मात्र इतिहास जोगिने र पुस्तान्तरण पनि हुने उहा“ले बताउनुभयो । यस क्षेत्रकै प्रशिद्ध धार्मिक स्थल राम्दी सिद्धबाबा यही नजिकै रहेकोले पनि राम्दी धाममा आएका धार्मिक पर्यटकलाई होमस्टेसम्म पु¥याउन सकिने बिश्वास स्थानीयको छ ।
२०१८ सालमा भुकम्पको हल्ला सुनिसकेपछि भुकम्पबाट बाच्नका लागि गाउँलेहरु एकै ठाउँमा भेला भएर हरेराम गाउन थालिएको र त्यसै समयदेखि सुनादीमा भजन कृतनको शुभारम्भ भएको उहाँले बताउनुभयो ।
त्यसैबेला “इहलोक भुक्ती, परलोक मुक्ती” बाचुञ्जेल रमाईलो गर्ने भावका साथ भजन कृतन गर्न थालिएको हो । यस ठाउँका मानिसहरू कुनै संगीत पाठशालामा नगई गाउमा गाउदा गाउदै भजन कृतनमा पोख्त भएको भट्टराइले बताउनुभयो । पाल्पामै सुनादीको भजनकृतनको बिशेष महत्व रहेको छ ।
खैजेडी मजुरा हार्मोनियमको तालमा ताल मिलाई उनीहरू सुन सिद्धगुफा, राम मन्दिर, जानकी मन्दिर र वरपरका गाउँ ठाउँमा भजन कृतन गाउने गर्छन् । भजन कृतनसँगै बेलाबेलामा माया पिरतीका गीत पनि गाउने गर्छन् । जुन गीतमा दर्शक र श्रोतहरू थप उत्साहित भई नाच्ने गरेका हुन्छन् ।
३ दिने होमस्टे तालिम सम्पन्न
होमस्टे संचालन तयारीको लागि सुनादीमा ३ दिने तालिम सम्पन्न भएको छ । होमस्टे (घरबास) सम्बन्धी अभिमुखीकरण तथा आधारभुत तालिम कार्यक्रम बगनासकाली गाउपालिका वडा नं. ५ दर्लमडाँडाको आयोजना र होमस्टे महासंघ नेपालसँगको सहकार्यमा तालिम संचालन गरिएको हो ।
तालिममा होमस्टे महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष एवम् होमस्टे अभियन्ता धनीश्वर बस्यालले सहजीकरण गर्नुभएको थियो । उहाले होमस्टे संचालनका लागि सुनादी राम्रो स्थानको रुपमा रहेको बताउनुभयो । “यहाका ३२ घरमध्ये ३२ वटै घरमा मानिसहरुको बसोवास रहेको छ । अर्गानिक कृषि यहाको बिशेषता हो । सबै घरपरिवार होमस्टे संचालन गर्न उत्सुक हुनुहुन्छ ।” उहाँले भन्नुभयो ।
तालिम संचालनका लागि वडा कार्यालयको तर्फबाट चालु आर्थिक बर्षमा ५० हजार रुपैयाँ बिनियोजन गरिएको वडाध्यक्ष ओमप्रकाश गैरेले बताउनुभयो ।