पाल्पा । नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश समितिको आयोजना, लुम्विनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र पत्रकार महासंघ पाल्पाको समन्वयमा मंगलवारबाट पत्रकारहरुका लागि २ दिने क्षमता विकास तालिम संचालन गरिएको छ ।
पाल्पा र गुल्मीका ५० जना पत्रकारहरुको सहभागिता रहेको तालिमको उद्घाटन कार्यक्रममा वरिष्ठ पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले पत्रकारिता गरिरहेका पुस्ता र नयाँ प्रवेशी पत्रकारहरुलाई लक्षित गरी आयोजना गरिएको यो समय सापेक्ष तालिम प्रभावकारी र ब्यवहारिक हुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले विगतका दिनहरुमा हुदै आएको परम्परागत शैलीको पत्रकारिता अव प्रविधि उन्मुख भइसकेकोले अवका पत्रकारहरू विकसित प्रविधिको विषयमा दक्ष हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ लुम्विनी प्रदेश समिति उपाध्यक्ष मिना ढकालले डिजिटल पत्रकारिताको प्रभाव, महत्व तथा बर्तमान अवस्थाको बारे धारणा राख्नुभएको थियो । उहाँले अव प्रविधिको ज्ञान विनाको पत्रकारिता असम्भव जस्तै भएकोले लुम्बिनी प्रदेशमा क्रियाशील पत्रकारहरूलाई प्रविधिमा दक्ष बनाउने उद्देश्यले यो तालिमको आयोजना गरिएको उहाँको भनाई थियो ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले यो तालिमले युवा पुस्तालाई पत्रकारिता तर्फ ल्याउन मद्दत गर्ने बिश्वास ब्यक्त गर्नुभयो । तालिममा नेपाल प्रेश चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारी, लुम्विनी प्रदेश संसदीय मामिला पत्रकार समाजका अध्यक्ष घनश्याम गौतम र बरिष्ठ पत्रकार माधव नेपालले सहजीकरण गर्नुभएको थियो । बुधवार पत्रकार महासंघका प्रदेश समिति अध्यक्ष शुक्रऋषि चौलागाई, बरिष्ठ पत्रकार शंकर प्रसाद खनाल लगायतले सहजीकरण गर्ने कार्यक्रम छ । महासंघ लुम्विनी प्रदेश समिति उपाध्यक्ष राम प्रसाद आचार्यको अध्यक्षता र सचिव गोविन्द शर्माको संचालनमा कार्यक्रम चलेको थियो ।