पाल्पा । आदिवासी जनजाति समन्वय समिति बगनासकालीको आयोजना र बगनासकाली गाउँपालिकाको सहयोगमा ४ दिने उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।
तालिम बगनासकालीका ३ स्थानमा संचालन गरिएको थियो । वडा नं. १, २, ३ र ४ का लागि चिर्तुङधारामा, वडा नं. ५, ६ र ९ का लागि चापपानीमा र वडा नं. ७ र ८ का लागि बराङ्दीमा संचालन गरिएको थियो । ३ स्थानमा गरी तालिममा १ सय ३७ जना युवाहरुकोसहभागिता रहेको थियो ।
शनिवार बगनासकाली गाउँपालिकामा सहभागीहरुलाई प्रमाणपत्र बितरण गर्नुहुँदै बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले यो तालिमको सिकाईले जनजाति युवाहरुको नेतृत्व ब्यक्तित्वमा परिवर्तन आउने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले नेतृत्व विकास गर्दै आगामी निर्वाचनमा जनप्रतिनिधिको रुपमा उभिन सहभागीहरुलाई आग्रह समेत गर्नुभयो । “गाउँ गाउँमा आउदा यहाँहरुको नेतृत्व विकास भएको र बिभिन्न सामाजिक संस्थाहरुको नेतृत्व गरेको देख्न पाउने आशा छ ।” उहाँले भन्नुभयो ।
कार्यक्रममा बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले तालिममा सिकेका ज्ञान सीपलाई ब्यवहारमा उतार्दै अगाडि बढ्न आग्रह गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले तालिम तालिमका रुपमा मात्र सीमित राख्न नहुने र यसबाट सिकेको ज्ञान सीपबाट आफूलाई निखार्दै अगाडि बड्न आग्रह गर्नुभयो ।
गाउँपालिकाका प्रवक्ता टिका बहादुर थापा, प्रशिक्षक दयाराज न्यौपाने, आयोजक संस्था आदिवासी जनजाति समन्वय समितिका चेत बहादुर राना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । तालिम समापन कार्यक्रममा सहभागीहरुका तर्फबाट सरिता राना, रुबिसा चिदी, मिनादेबी गाहा मिधुन, डिलमाया चिदी, समिक्षा थापा, बेगम बुढाथोकी, उपासना थापाले तालिमबाट आफूहरुको क्षमतामा निखारता आएको अनुभव सुनाउनुभयो ।
तालिममा प्रशिक्षकहरु देव पचभैया, दल बहादुर गुरुङ, यज्ञमूर्ति तिमिल्सिना, रन बहादुर कुमाल, प्रेम बगाले, दयाराज न्यौपाने र बेन प्रसाद थापाले सहजीकरण गर्नुभएको थियो । तालिम समापन कार्यक्रम आदिवासी जनजाति समन्वय समितिका संयोजक गण बहादुर बुढाथोकीको अध्यक्षता र सचिव दिलिप गाहाको संचालनमा चलेको थियो ।