पाल्पा । पाल्पाको पुर्वखोला गाउँपालिकाले नागरिकको सहज स्वास्थ्य सेवाका लागि स्वास्थ्य क्षेत्रका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अगाडि बढाएको छ ।
पहिलो बर्थिङ सेन्टरयुक्त पालिका
पूर्वखोला जिल्लामै पहिलो बर्थिङ सेन्टर युक्त पालिका हो । यहाँका सबै वडामा रहेका स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति र उपकरण सहितको बर्थिङ सेन्टर रहेको छ । यसरी पायक पर्ने स्थानमा बर्थिङ सेन्टर संचालनमा आएपछि यहा नियमित गर्भजाच गराउने र स्वास्थ्य संस्थामै सुत्केरी हुनेहरुको संख्या बढेको छ । अहिले यहाँ घरमा सुत्केरी हुने महिलाहरुको संख्या सुन्य छ । २०७५ सालदेखि नै यहाँ घरमा सुत्केरी हुने महिलाहरू छैनन् । नियमित गर्भजाँच गराउने महिलालाई गाउ“पालिका मार्फत अण्डा बितरण हुदै आएको छ । त्यस्तै सुत्केरी गराउन ल्याउने महिलालाई ५ सय र सुत्केरी महिलालाई ५ सय रुपैयाँ यातायात खर्च उपलब्ध गराउने गरिएको छ ।
रेफर गर्नुपर्ने महिलालाई एम्बुलेन्स सेवा पालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको छ । त्यस्तै सुत्केरीलाई खानाको प्रवन्ध पनि पालिकाले गर्दै आएको छ ।
सबै स्वास्थ्य संस्था पोषणमैत्री
पूर्वखोला गाउँपालिकाका सबै स्वास्थ्य संस्था पोषणमैत्री भएका छन् । गाउँपालिकाका ६ वटै स्वास्थ्य चौकी पोषणमैत्री भएका हुन् । पालिकाभित्रका सबै स्वास्थ्य चौकीको अगुवाईमा स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम अभियान पश्चात निर्देशित गरिएका सुचकहरू पूरा गरेको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनुभयो । यसअघि समुदाय स्तरमा कुपोषण भएका बालबालिका रहे नरहेको बारे खोजपड्ताल अभियान चलाइएको उहाले बताउनुभयो ।
स्वास्थ्यकर्र्मीहरू मध्येबाट एक जना सम्पर्क व्यक्ति तोकेर स्वास्थ्य संस्थामा पोषण विशेष सेवा दिनका लागि आवश्यक पोषणसम्बन्धी कम्तीमा १ जना तालिम प्राप्त जनशक्ति उपलब्ध रहने गर्छ । स्वास्थ्य संस्थामा खानेपानी तथा स्वच्छतासम्बन्धी सबै सेवाग्राही तथा सेवा प्रदायकका लागि पहुँचयुक्त र सुरक्षित खानेपानीको सुविधाको व्यवस्था हुनुपर्छ ।
पोषणमैत्री स्वास्थ्य संस्था बन्न सबै सेवाग्राही तथा सेवा प्रदायकका लागि पहुँचयुक्त र सफा शौचालयको व्यवस्था गरिएको छ । सबै शौचालयहरू र सेवा कक्षहरुमा साबुन पानीसहितको हातधुने स्थानको व्यवस्था गरिएको छ । स्वास्थ्य संस्थामा बच्चाको तौल लिने मेसिन, उचाई, लम्बाई लिने मेसिन, मुआक टेप उपलब्ध छ ।
पोषण विशेष सेवा प्रदान गर्नका लागि आवश्यक औषधि तथा सामग्रीहरुको मौज्दात कम्तिमा एक महिनाको लागि उपलब्ध छ । स्वास्थ्य संस्थाहरुमा बाल स्वास्थ्य कार्ड, दुई वर्षमुनिका बालबालिकाहरुको पोषण रजिष्टर, गाउँघर क्लिनिक रजिष्टर तथा प्रतिवेदन फाराम, महिला स्वास्थ्य स्वयं सेविकाको रजिष्टर व्यवस्थित राखिएको छ । सबै स्वास्थ्य संस्थामा पोषण कर्नर स्थापना गरिएको छ । सोही अवसरमा पूर्वखोलालाई पू्र्ण खोपयुक्त पालिका समेत घोषणा गरिएको थियो ।
बिशेषज्ञ सहितको सेवामा बिशेष जोड
पूर्वखोलाले बिशेषज्ञ सहितको शिविरमा बिशेष जोड दिएको छ । हालै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना तथा पूर्वखोला गाउँपालिका पाल्पाको समन्वयमा सञ्चालित विशेषज्ञ शिविरबाट विभिन्न प्रकारका रोगबाट पीडित ४ सय ५१ जना बिरामीले सेवा लिएका छन् । गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले विशेषज्ञसहितको स्वास्थ्य शिविरले उपचार लिन जान नसक्नेहरुका लागि फाइदा पुगेको बताउनुभयो ।
पुर्वखोलाले बिगतका वर्षदेखि नै ३० वर्ष माथिका ब्यक्तिहरुको मधुमेह र उच्चरक्तचापको परीक्षण गर्दै आएको छ । यो कार्यक्रम जिल्लामै नमुना कार्यक्रम हो । त्यस्तै टिभी, क्षयरोगका बिरामीहरुको खोजपड्तालको अभियान समेत जारी रहेको छ । पुर्वखोलामा बिगतका बर्षहरुदेखि नै जारी रहेको जेष्ठ नागरिकलाई घरमै पुगेर दिइने सेवा समेत प्रभावकारी रुपमा चल्दै आएको छ । बिद्यालय स्तरमा किशोरीहरुको रक्तअल्पताको अवस्थाको परीक्षण कार्य अभियानकै रुपमा चलाइएको छ । बीरकोटमा १५ शैयाको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यो अस्पताल सञ्चालनमा आएपछि यस क्षेत्रका नागरिकले बिशेषज्ञ सहितको सेवा पाउने प्रमुख ढकालले बताउनुभयो ।