यज्ञमूर्ति तिमिल्सिना
सधै सुनसान जस्तै हुने दैलातुङका गजवीर बोटेको घरमा २०७९ फागुन २८ गते बिहानै देखि उत्साह थियो । गजवीर बोटे ८४ वर्ष पुग्नुभयो । उहाँको चौरासी पुजाका निम्तारीहरू आउने जाने क्रम चलिरहेको थियो । बगनासकाली गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित हामी पनि गजवीरको चौरासीमा सहभागी हुन गजवीरको घरमा पुगेका थियौ ।
घरमा निम्तारीहरुको ठूलै जमघट थियो । जेष्ठ नागरिकदेखि बालबालिकासम्म निम्तो मान्न आएका थिए । बोटे जाति मात्रै हैन ओल्लो पल्लो गाउँका हरेक जसो घरका निम्तारीहरू थिए । गजवीर यस क्षेत्रकै अल्पसंख्यक बोटे जातिको ज्यँुदो इतिहासको रुपमा रहनुभएको छ । गजवीर बोटेलाई सामाजिक क्षेत्रबाट एउटा असल अभिभावकको रुपमा चिन्छन् । गजवीर पाल्पाको बोटे जातिबाट ८४ पूजा गर्ने सम्भवतः पहिलो व्यक्तिको रुपमा रहनुभएको छ ।
को हुन् गजवीर
गजवीरको जन्म वि.सं. १९९७ फागुन १० गते हालको बगनासकाली गाउँपालिका–७ खानीगाउँ दैलातुङमा भएको हो । बुवा रनबीर र आमा नर्मती बोटेका ६ भाई छोरा मध्ये जेठा छोरा हुन् गजवीर । उनका २ दिदी बहिनी पनि थिए ।
गजवीरका बुवा रनवीर पनि कालीगण्डकी नदीमा डुंगा तार्ने काम गर्नुहुन्थ्यो । त्यतिबेला अहिले जस्तो मोटरबाटो र पुल थिएन । कालीगण्डकी वारी पारी गर्ने एक मात्र बिकल्प डुंगा नै थियो । १३ वर्षको उमेरदेखि अर्थात् २०१० देखि गजवीरले पनि डुंगा तार्ने काम थाल्नुभयो । त्यतिबेला एक जनालाई गण्डकी तार्दा गजवीरले २ पैसा पाउनुहुन्थ्यो । टाढाबाट आएका बटुवाले पैसा दिन्थे भने गाउँ नजिकका ब्यक्तिहरुबाट उहाँ बार्षिक बाली उठाउनुहुन्थ्यो । त्यो क्रम निरन्तर १२ वर्ष अघिसम्म चल्यो । १२ वर्ष अघि उहाँले डुंगा तारेको एकजनासँग २० रुपैयाँसम्म लिनुहुन्थ्यो । डुंगा बनाउनका लागि धेरै टाढाटाढासम्म पुगेको गजवीरको अनुभव छ ।
गजवीरले आफ्नो जीवनका ५९ वर्ष कालीगण्डकीमा डुङ्गा वारी पारी गरेरै बिताउनुभयो । त्यतिबेला दैलातुङमा ५ वटा डुङगा थिए । अन्य ४ डुंगा अलि पहिल्यै बिस्थापित भएपनि गजवीरले भने अन्तिम समयसम्म पनि डुंगा तार्ने काम गर्नुभयो । स्याङजा र पाल्पाको संगमस्थलमा रहेको कालीगण्डकी नदीमा उहाँले दैनिक ३०÷३५ जनालाई डुङ्गाबाट वारीपरी गराउनुहुन्थ्यो । त्यसैको आम्दानीबाट उहाँको गुजारा राम्रै्र चलेको थियो । स्थानीय कालीगण्डकी नदीमा झोलुङगे पुल बनेपछि उहाँ डुङ्गा चलाउने पेशाबाट बिस्थापित हुनुभयो ।
दैलातुङ गाउँ कालीगण्डकी नदी किनारमा अवस्थित छ । यहाँका बोटेको मुख्य पेशा नै डुंगा तार्ने थियो । दैलातुङदेखि पाल्पाको बगनासकाली, तानसेन तथा स्याङ्जाको कालीगण्डकी र गुल्मीसम्मका मान्छेहरू कालीनदी तरेर आउने जाने गर्थे । बोटे समुदायकै अगुवाको रुपमा रहनुभएका गजवीरको डुङ्गा वारीपारी गराएर मान्छे तार्ने मात्रै हैन व्यवस्था परिवर्तन गर्ने आन्दोलनमा पनि महत्वपूर्ण भूमिका छ । पञ्चायतकालमा जनतापक्षबाट अगुवाई, २०४७ मा बहुदलको आन्दोलन र २०६२÷०६३ को जनआन्दोलनमा पनि गजवीर सक्रियतापूर्वक लाग्नुभएको थियो । “धेरै व्यवस्था बदलियो तर अवस्था फेरिएन ।” गजवीरले भन्नुभयो । उहाँका ७ भाई छोरा र ५ छोरी छन् । सबै जनाको बिहेबारी भयो र सबै आ–आफ्नै कर्ममा छन् ।
गजवीरलाई स्थानीय समुदायले पनि श्रद्धापुर्वक हेर्छन् । उहाँले दैलातुङमा रहेर निरन्तर सामाजिक सेवामा दिएको योगदान महत्वपूर्ण रहेको स्थानीय अगुवाहरुको भनाई छ । स्थानीय समाजसेवी पुरुषोत्तम पाण्डेले गजवीर बोटे जातिको मात्रै नभएर सिंगो समाजकै पहिचानको रुपमा रहनुभएको बताउनुभयो ।
गजवीरले पढ्नका लागि विद्यालय जाने अवसर त पाउनुभएन तर गाउँमा बालबालिकालाई पढाउनुपर्छ भन्ने चेतना अहिले पनि बाड्दै हिड्नुहुन्छ । यद्यपी यहाँका बालबालिकाहरुलाई माध्यमिक तहको शिक्षा लिनका लागि झण्डै देढ घण्टाको उकालो निस्कनुपर्ने अवस्था छ । माध्यमिक विद्यालय टाढा भएकै कारण बोटे बालबालिकाहरुले आधारभुत तहको कक्षा सकिएपछि कक्षा छोड्ने दर बढी छ । अन्य जातिको तुलनामा बोटे जातिको जन्मदेखि मृत्युसंस्कार धेरै पृथक छ । यी सबै संस्कारहरुबारे बारेमा गजवीर अनुभवी हुनुहुन्छ । संस्कार संस्कृतिबारे अलमल भएमा दैलातुङका मात्रै नभएर दर्पुक र अन्य गाउँका बोटेहरुले पनि गजवीरसँग सल्लाह लिने गर्छन् ।
बगनासकालीमा बोटे जातिको अवस्था
बगनासकाली गाउँपालिकाको वडा नं. ७ स्थित खानीगाउँको दैलातुङ र वडा नं. ६ स्थित यम्घाको दर्पुकमा बस्छन् सीमान्तकृत बोटे समुदाय । यी दुवै गाउँ कालीगण्डकीको किनारमै छन् । दैलातुङमा बोटे समुदायका १७ घर छन् । त्यस्तै दर्पुकमा ८० घर बोटे समुदाय छन् । अहिले दैलातुङमा बोटे समुदायको जनसंख्या १२० छ भने दर्पुकमा यो समुदायको जनसंख्या ३ सय ५० छ । हुन त यी दुवै गाउँमा ब्राह्मण, मगर समुदायको पनि बसोबास छ तर बोटे समुदायको रहनसहन र सांस्कृतिक पहिचान भने बेग्लै छ । यहाँमात्रै हैन, पाल्पाको तानसेन नगरपालिकाको बौघागुम्हा, रामपुर नगरपालिकाको रामपुर र दर्छा तथा रम्भा गाउँपालिकाको हुँगीमा पनि बोटे समुदायको बसोबास छ । यी सबै बस्ती कालीगण्डकी किनारमै पर्छन् ।
२०६८ सालको जनगणनाअनुसार पाल्पामा यो जातिको जनसंख्या ८ सय ३ छ । जसमा महिलाको संख्या ४ सय ३९ छ भने पुरुषको संख्या ३ सय ६४ छ । पाल्पाको कुल जनसंख्या २ लाख ६१ हजार १ सय ८० रहेकामा जिल्लामा बोटे समुदायको जनसंख्या भने ०.३१ प्रतिशत हुन आउँछ । त्यस्तै ६ सय ७१ बोटेले मातृभाषा बोल्छन् । कुल जनसंख्याका आधारमा मातृभाषा बोल्नेको प्रतिशत ०.२६ छ ।
अन्यत्रका बोटे जस्तो यहाँका बोटेले गण्डकी किनारमा सुन खोज्ने काम गर्दैनन् । यहाँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक तथा भारत गएका छन् । छिमेकमा रहेका ब्राह्मण, मगर समुदायका व्यक्तिका घर र बोटेका घर त्यसै पनि फरक छन् ।
२ वर्ष अघि जनता आवास कार्यक्रम अन्तरगत गजवीर सहित केही बोटेहरुको २ कोठे घर बनाइएको छ । जनता आवासबाट निर्मित २ कोठे टिनको छानोयुक्त घरमा गजवीर आफ्नी पत्नीको साथमा बस्दै आउनुभएको छ । अन्य समुदायका घरमा टिनको छानो लगाइएको छ भने बोटेहरूका धेरैजसो घर टिनको छानो लगाइएपनि टिनको छाप्रोयुक्त छन् । वैदेशिक रोजगारीका अलावा पुरुषहरू सिकर्मी÷डकर्मी काम गर्ने, वल्लोपल्लो घरमा ज्याला मजदूरीमा काम गर्न जाने गर्छन् भने महिलाहरू छिमेकीका घरको कामधन्दासँगै उनीहरूका खेतबारीको काम पनि गर्छन् । यहाँका बोटे समुदायसँग उनीहरूलाई गरिखान पुग्ने जमिन छैन । त्यसैले उनीहरूले आफ्नो उत्पादनले नपुगेको समयावधिभर किनेर खानुपर्ने अवस्था छ ।
हुन पनि २० वर्षपहिले दैलातुङमा ३६ घर रहेका बोटे अहिले घट्दै गएर १७ घरमा सीमित भएका छन् । दर्पुकमा भने बोटेहरूको बसाइँ सराइ खासै छैन । कमाउन सक्ने जति कोही भारत गए, कोही नेपालकै विभिन्न ठाउँमा पुगेका छन् । कालीगण्डकी नदीमा डुङ्गा तार्ने र माछा मार्ने पेशा संकटमा परेपछि यहाँका बोटे समुदायका मानिस हातमुख जोर्नका लागि गाउँ छाड्दै गएको गजवीरको भनाई छ ।
अझै अवसर मिले डुंगा तार्छु–गजवीर
उमेरले ८४ पुग्दा बुढ्यौलीले गजवीरको शरीर कुप्री भइसकेको छ । कुप्री शरीर लठ्ठीको साहाराले उहाँ हिड्डुल गर्नुहुन्छ । करिव २० वर्ष अघि पर्यटकहरुलाई कालीगण्डकीमा डुंगा तार्न जाने क्रममा लडेर ढुंगाको कापमा परेपछि उहाँको ढाडमा समस्या भएको थियोे । उपचार पनि गर्नुभयो पछि उहाँको ढाडमा सुधार भएन कुप्री नै भइरह्यो । गजवीरले भन्नुभयो–“ अझै पनि वातावरण मिल्यो भने डुंगा तार्न सक्छु ।”
–नेतृत्व राष्ट्रिय त्रैमासिकबाट साभार