लिफ्ट सहितको बन्यो बगनासकालीको नयाँ प्रशासनिक भवन

0
413

पाल्पा । बगनासकाली गाउँपालिका वडा नं. १ चिर्तुङधारा चिलाङ्दीमा निर्माण गरिएको बगनासकाली गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएको छ ।

पक्रिया पूरा गरी छिटै यसै भवनबाट गाउँपालिकाको प्रशासनिक कार्य सुरू हुने गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । हाल वडा नं. १ चिर्तुङ्धारामा वडा कार्यालयसँगै रहेको गाउँपालिकालाई चिलाङ्दीमा सार्ने गरी भवन निर्माण गरिएको हो ।

हालको स्थानबाट सबै वडाहरुलाई पायक नपर्ने र यसअघि गाउँपालिकाको केन्द्र सबै वडाहरुलाई पायक पर्ने गरी चिलाङ्दी तय गरिएकोमा सोही बमोजिम नै भवन निर्माण गरिएको अध्यक्ष चिदीले बताउनुभयो । हाल पालिका रहेको स्थानका लागि चापपानी, यम्घा, बराङ्दी, खानीगाउँ र दर्लमडाँडाका लागि केही अपायक थियो । नवनिर्मित बनेको रहेको स्थानका लागि ९ वटै वडाको पायक पर्ने भएकोले सेवाप्रवाहमा पनि सहज हुनेछ ।

२०७८ फागुन महिना ८ गते ठेकेदार कम्पनी न्यू ड्रयागन आर आर जे.बीसँग ६ करोड ४७ लाख ८४ हजार उनानब्बे रुपैंयाँमा भवन निर्माणका लागि सम्झौता गरी काम भएको निर्माण व्यवसायी राजेन्द्र केसीले बताउनुभयो । कुल लागत मध्ये ६० प्रतिशत संघीय सरकारको समानीकरण अनुदान रहेको छ भने ४० प्रतिशत गाउँपालिकाले व्यहोर्ने गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो ।

लिफ्टसहितको भूकम्प प्रतिरोधी भवन निर्माणपछि गाउँपालिकाको कामकाजमा निकै सहजता आउने र सेवाग्राहीलाई अझ गुणस्तरीय सेवा प्रदान गर्नमा मद्दत पुग्ने उपाध्यक्ष पाठकले बताउनुभयो । भैरव मन्दिर सामुदायिक बनको गौचरनको जग्गा २५ वर्ष लिजमा प्रयोग गर्न लिइएको हो । गाउँपालिकाले भोगचलन गर्ने १३ रोपनी ३ आना जग्गामध्ये ११ आना जग्गाभित्र ४०१० वर्गफिटमा निर्माण भएको प्रशासकीय भवन ४ तलाको रहेको इन्जिनियर कुवरले बताउनुभयो ।

बगनासकाली गाउउँपालिकाका प्रवक्ता टिका बहादुर थापाले सबै वडाहरुका लागि पायक पर्ने गरी निर्माण गरिएको यो भवनबाट थप प्रभावकारी रुपमा सेवा प्रवाह गर्न सजिलो हुने बिश्वास ब्यक्त गर्नुभयो । भवनलाई अपाङ्गतामैत्री बनाइएको छ । माथिल्लो तलामा जान र आउनका लागि लिफ्टको समेत ब्यवस्था गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here