नारी दिवस बहिस्कार गरें

0
309
भूकम्प भत्खौरु
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा क्यामेराको ढुम्रो बोकेर बजार निस्कें । नारी दिवस मनाउन ताँती बाँधेर निस्केका महिला पुरुष सबैका अनुहार खुसी देखिन्थे । धेरै महिला थोरै पुरुष निस्केका । कसैका हातमा प्लेकार्ड, केही महिला पुरुषले व्यानर बोकेका । कसैले नारा भट्याएका त कसैले हैसेमा मच्चिदै कराएका । नारी एकता–जिन्दाबाद, ११४ औं नारी दिवस–मनाउँछौं मनाउँछौं, महिला पुरुष एकै हौं–एकै हौं, एकै हौं । यि र यस्तै विषयको हल्लाले तातेको माहोल ।
म बाटोको यौटो कुनोमा उभ्भेर व्यानर सहितको फोटो खिच्न क्यामेराको ढुम्रो ते¥स्र्याएँ । क्यामेराले क्लिक गर्न नपाउँदै मेरा हात लुलिए । फत्रक्क हात गले । मेरो क्यामेराले देखिहाल्यो–ब्यानर नेरै बसेको जनप्रतिनिधि । ति जनप्रतिनिधि जसका दुई श्रीमती छन् उही व्यानरको अगाडि नारी दिवस मनाउन हिँडेका । जेठी श्रीमती र आफ्ना नाबालक छोराछोरीलाई हेला गरेर कान्छी तिर घरजम गरेर बसेको कुपात्र नै मेरो क्यामेराले देखिहाल्यो । अनि नारी दिवसको त्यो फोटो खिच्नै सकेन मेरो क्यामेराको ढुम्रोले ।
त्यो देखेपछि मेरा मनले अनेकन सोंच्न थाले । केहिबेर बाटोमै उभिइरहें । र्याली केही अगाडि बढेपछि पुनः अर्को व्यानर सहितको लर्को आयो । यसलाई खिचेर समाचार लेख्छु भन्यो मनले र क्यामेरा व्यानर पट्टी ते¥स्र्याएँ । नियालेर हेरें । फेरी पनि फोटो खिच्न सकिन । ढुम्रोले देखिहाल्यो महिला हिंसाका नायक ।
उनका अल्ली धेरै श्रीमती । आफ्नै पेशामा रमेको व्यक्ति तर श्रीमती जम्मा गर्न सिपालु ।  तिनै मध्येकी एक श्रीमतीको निकै दर्दनाक कथा यस्तो थियो ।–“पहिले त तिमिलाई कान्छी बनाएर राख्छु भनेर नानाथरी प्रलोभन देखाएर फसायो । जब तेस्रोसँग पनि पल्केर उनलाई पनि ल्यायो अनि म झस्किएँ । मलाई देखाएका सपनाहरुका बारेमा सोधें । त्यसपछिका दिनमा मलाई निकै शारिरिक र मानसिक यातना दिन थाल्यो । यतिसम्म अमानवीय व्यवहार गर्यो कि–मेरो गुप्ताङ्गमा कहिले खुर्सानीको धुलो खन्याउथ्यो त कहिले चुरोटको ठुटोले झोस्थ्यो । कैयन दिन घरभित्रै थुनेर राख्थ्यो । यातना सहन नसकेपछि मैले डिभोर्स मागें र छुट्टै बसें । अहिले बल्ल होस खुलेको छ कि म सौता थपिन जानुको पाप व्यहोरेकी रहेछु । मैले अर्को एक नारी माथि नै हिंसा गरेंछु ।”
ति दिदी बोलेका आवाजहरु कानमा गुञ्जन थाले । केहिबेर टोलाएँ । क्यामेराको मुन्टो भूइँतिर फर्काएर उभिइरहेंँ । नारी दिवसका आवाजहरु ठूला स्वरमा बाटोमा घन्किरहेका थिए ।
म उभिएको ठाउँ फेर्ने निधो गरें र कार्यक्रमको मञ्च भएतिर जाने निधो गरें । भोलीको पेपरमा मञ्चको फोटो राख्छु भन्ने सोंच बनाएँ । मञ्चमा पनि कोहि महिला महिला हिंसा गरेका, कोहि महिला पुरुष हिंसा गरेका त कोहि पुरुषले महिला हिंसा गरेका धेरै देखें । क्यामेरा झिक्न मन लागेन र कार्यक्रम बाटै फर्कने निधो गरें । मेरो तर्फबाट आजको कार्यक्रम बहिस्कारै भयो ।
आइन्दा महिला दिवसमा यस्ता व्यक्ति उभिएका कार्यक्रमको फोटो नखिच्ने र समाचार नलेख्ने निधो गरें ।
फर्कदाँ चोकमा दुई दाजुहरु मज्जाले गफ चुटेका । छिमेकी दाइलाई सोधें –दाजु कता हो चट्ट परेर ? “बुढीयाले नारी दिवसको कार्यक्रममा आउनू भनेकी छ । आफूचाँही विहानै गइसकी म घरको मेलोमेसो मिलाएर आउँदा ढिला भयो ।” ति दाजुको बारेमा अलि पहिलै गाउँमा खुब गाँइगुईँ चलेको थियो । गाईँगुँई यस्तो थियो– “ जेठी श्रीमती सुत्केरी हुन नसकेका बेला आफै यौनाङ्गमा हात हालेर बच्चो थुते । श्रीमती पनि मरिन, बच्चो पनि मर्यो । त्यो अपराधि हो ।” हरेक क्षण भेट हुँदा उनको अनुहार हेर्नासाथ यहि कुराले मन विझेको हुन्थ्यो । आज पनि विझायो ।
महिला माथि हुने अनेक हिंसाका बारेमा बोल्ने दिन आज । लेख्ने दिन आज । छलफल गर्ने दिन आज । घर भित्र बर्षदिनका काममा कतै महिला हिंसा त भएनन् भरेर सल्लाह गर्ने दिन आज । आफ्नो समाजमा बर्षदिनमा केही घट्ना घटेकी भनेर खोज्ने दिन आज । आफ्नो वार्ड भित्र महिला हिंसाका घटना खोज्ने र निराकरणका लागि योजना बनाउने दिन आज । आफ्नो पालिका भित्र महिला हिंसाका घटना खोज्ने र समस्या समाधानका लागि योजना बनाउने दिन आज । साथसाथै महिला हिंसा सम्बन्धी विविध कार्यक्रम मार्फत जागरण ल्याउने र हिंसाका घटना न्यूनीकरण गर्न काम थाल्ने दिन आज ।
तर आज पनि विहान महिला हिंसा गरेको पुरुष दिउँसो नारी दिवस मनाउन हिड्यो छ । हिजो महिलामाथि कुकर्म र अपराध गरेको मान्छे पनि नारी दिवस मनाउन हिड्यो छ । दाइजो थोरै भयो भन्नेले पनि नारी दिवसको शुभकामना भनेर श्रीमतीसँगै फोटो राखेर सामाजिक सञ्जाल रंग्याएको छ । श्रीमतीलाई घरका काममा जोतेर आफू सुटेड बुटेड बनेर हिडेकै छ । चख्ख छ यो दुनिँया ।
अहिले पनि हाम्रो समाजमा छोरा नपाएको निहुँमा श्रीमती भकुरिएका छन् । बच्चा नपाएको निहुँमा श्रीमती पिसिएका छन् । अन्तर जातीय विवाह गर्यो भनेर बुहारीलाई घरबाटै लखेटिएका छन्, कुटिएका छन्, मारेर फालिएका छ्न । श्रीमतीले जागिर खाइन भनेर साँझ विहान टर्चर सहनेको कुनै हिसाबै छैन । घरकी स्वास्नी राम्री छैन भनेर अन्त मेसो मिलाएको छु भन्ने मेरै कानले सुनेका छन् । यस्ता तमाम् उदाहरण हाम्रो नेपाली समाजका महिलाले भोगिरहेका छन् । सहन बाध्य छन् । सामाजिक संरचनाले नै बाध्य पारेको छ ।
आजको कार्यक्रम बहिस्कार पछि मनमा धेरै तरंग उब्जे । कम्तिमा यि कुराबारे नारी दिवसमा छलफल हुनुपर्ने होइन र ?
१. हरेक वडा तहमा कति बालिकाहरुको शैक्षिक योग्यता के छ त्यस बारेमा कम्तिमा वडा कार्यालयलाई थाहा होस् । विद्यालय जान नपाएका र पढ्न नपाएका नानीलाई पढ्ने वातावरण बनाइयोस् ।
२. आफ्नो वडा कार्यालय तथा पालिका भित्र महिला हिंसाका घट्ना के के छन ? के के भए ? के कसरी समस्याको समाधान भयो ? आगामि दिनमा यस्ता घटना हुन नदिन के गर्ने भन्ने योजना बनोस् ।
३. आर्थिक रुपले समस्या ग्रस्त परिवारका लागि महिला लक्षित सिपमूलक तालिम सञ्चालन गरेर उनीहरुको आम्दानी बढाउने खालका कार्यक्रम घोषणा र कार्यान्वयन होस् ।
४. महिला मैत्री पालिका बनाउन के के गर्ने भनेर टोल टोलमा छलफल गरी निर्णय गरेर पालिकाभर कार्यान्वयन होस् ।
५. बाल विवाह, महिला माथि हुने यौन हिंसा, हेपाइ लगायतका दर्जनौं विषयमा पालिका र वार्ड स्तरबाटै कठोर निर्णय गरी कार्यान्वयन होस् ।
६. महिला स–सक्तिकरण र अवसरका क्षेत्र पहिचान गरी कार्यक्रम बनाई कार्यान्वयन होस् ।
७. घरभित्र हुने महिला हिंसा, विद्यालयमा हुने महिला हिंसा, समाजमा हुने महिला हिंसा, कार्य स्थलमा हुने महिला हिंसाका प्रकृति र सो को उपचारको कानूनी प्रवन्धका बारेमा आम महिलालाई सचेत पार्ने खालका गतिविधि गरियोस् ।
८. महिलाले महिलामाथि नै गर्ने अन्याय, अत्याचार, दमन र शोषण पनि खोजि गरी अन्त्य गरियोस् ।
९. राज्यका हरेक निकायमा बराबरी अवसर प्रदान गर्न काम पालिकास्तरबाटै सुरुवात गरियोस् ।
१०. हाम्रा सार्वजनिक कार्यक्रमका मञ्चमा जति जना पुरुष बस्छन् त्यतिनै महिला राखौं ।  पुरुष मात्रै मञ्चमा बस्ने प्रणालीको अन्त्य गरियो भन्ने सुन्न पाइयोस् । लेख्न पाइयोस् । अनि बल्ल मेरो क्यामेराको ढुम्रोले नारी दिवस देख्ने छ । मेरा कलमले नारी दिवसका समाचार लेख्नेछ ।
–जय नारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here