राष्ट्रिय परिचयपत्रका लागि नयाँ नागरिकता बनाउनुपर्दा झनै सास्ती

0
206

पाल्पा । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने ब्यवस्था गर्न लागेको खबरपछि जिल्ला प्रशासन कार्यालयमा दैनिक रुपमा राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भीड छ ।
नयाँ नागरिकता बनाउनुपर्ने अनिवार्यताले झनै समस्या

पाल्पामा राष्ट्रिय परिचयपत्र बनाउन आएका लाभग्राहीहरुले सिधै राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउन पाउँदैनन् । यदि उनीहरुको नागरिकता २०६२ अगाडि बनेको र जिल्ला प्रशासनबाट पुनः प्रतिलिपि नलिएको भए नयाँ नागरिकता बनाउन अनिवार्य छ ।

ज्येष्ठ नागरिक तथा लाभग्राहीले सबैभन्दा पहिले नागरिकताको प्रतिलिपि लिनुपर्छ । पुरानो नागरिकताको आधारमा यस अघि भत्ता खाइसकेकाहरुले पनि राष्ट्रिय परिचयपत्र बनाउने प्रयोजनकै लागि नयाँ नागरिकता बनाउनुपर्ने अनिवार्य छ ।

२०६२ माघ १८ गते माओवादीको सशस्त्र जनयुद्धकालमा पाल्पा दरबार र प्रशासन कार्यालयमा तत्कालीन माओवादीले गरेको आक्रमणका क्रममा सबै रेकर्ड तथा कागजपत्र जलेर नष्ट भएका थिए । त्यस अघिको कुनै पनि रेकर्ड छैन । त्यसैले नयाँ नागरिकता अनिवार्य लिनुपर्ने अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताउनुभयो । सबै प्रक्रिया पूरा गरेर नागरिकता बनाएपछि मात्रै राष्ट्रिय परिचयपत्र बनाउन पाइने अवस्था रहेको उहाँले बताउनुभयो ।

पूर्वखोला गाउँपालिका–१ सिलुवाका ७६ वर्षीय वीरबहादुर खासुले सरकारले ल्याउन लागेको नयाँ नियमका कारण आफूहरुलाई दुःख भएको बताउनुभयो । बगनासकाली–९ चापपानीका ७४ वर्षीय तेजलाल तिमिल्सिनाले पनि फेरि नागरिकता बनाउने र राष्ट्रिय परिचयपत्र बनाउने क्रममा धेरै दुःख पाएको बताउनुभयो ।

माघबाट लागू हुने हो अहिल्यै भीड बढ्योः प्रशासन
जिल्ला प्रशासन कार्यालयले भने गलत सूचनाका कारण एकै पटक भीड बढेको जनाएको छ । पाल्पामा पनि सामाजिक सुरक्षाभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ तर उक्त अनिवार्यता आगामी माघ १ गतेदेखि मात्रै हुनेछ । तर साउनबाटै लागू हने जस्तो गरी ज्येष्ठ नागरिक र लाभग्राहीहरुको भीड बढेको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताउनुभयो ।

जनप्रतिनिधि र गाउँपालिका तथा वडा कार्यालयका कर्मचारी नै मितिमा स्पष्ट नभएपछि सर्वसाधारणले दुःख पाएको भन्दै जिल्ला प्रशासन कार्यालयले प्रेस बिज्ञप्ती समेत जारी गरेको छ । समयमै राष्ट्रिय परिचयपत्र बनेन भने भत्ता पाइदैन भन्ने गलत हल्लाका कारण पनि भीड बढेको प्रजिअ काफ्लेले बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here