प्रेस चौतारीको जिल्ला भेला तथा बधाई कार्यक्रम सम्पन्न

0
182

पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाको आयोजनामा चौतारी निकट पत्रकारहरुको जिल्ला भेला तथा बधाई ज्ञापन कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनका विषयमा छलफल गर्ने र चौतारी सम्बद्ध पत्रकारहरुको राय लिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमम नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद ठाकुरप्रसाद गैरेले समाजमा भएको बेथिती विसंगतीका विरुद्धमा पत्रकारहरुले कलम चलाउनुपर्ने बताउनुभयो । उहाँले पाल्पाली पत्रकारिताको विकासमा प्रेस चौतारीको नेतृत्वदायी भूमिका रहेको समेत बताउनुभयो । पछिल्लो समय प्रविधिको विकाससंगै पत्रकारितामा उत्पन्न समस्या न्यूनीकरणमा सहजीकरण गर्नसक्ने चौतारीको नेतृत्वमा पत्रकार महासंघ पाल्पालाई अगाडि बढाउनुपर्नेमा सांसद गैरेले जोड दिनुभयो ।

पाल्पा क्षेत्र नं. १ का संघीय सांसद नारायणप्रसाद आचार्यले चौतारीकर्मी पत्रकारहरुले खोजी पत्रकारितालाई प्राथमिकताा राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले औपचारिक समाचार भन्दा खोजी पत्रकारिताको बजार राम्रो भएकोले यसमा ध्यान दिन आग्रह गर्नुभयो । विगत लामो समयदेखिको पत्रकारिता क्षेत्रमा रहेको प्रेस चौतारीको योगदानको निरन्तरताका लागि पनि महासंघको नेतृत्व आवश्यक रहेको सांसद आचार्यको भनाइ थियो ।

नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले आफ्नो नेतृत्वमा बनेको जिल्ला कमिटी पदाधिकारीलाई बधाई ज्ञापन गरेकोमा चौतारीलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भेला छलफल र समीक्षाले काम गर्ने उत्साह थप्ने भएकोले महासंघको निर्वाचन लक्षित भेला महत्वपूर्ण भएको बताउनुभयो ।

वरिष्ठ पत्रकार तथा नेकपा एमालेका केन्द्रिय सल्लाहकार मेघराज शर्माले प्रेस चौतारी एक ठाउँ उभिदा महासंघको नेतृत्वका लागि कुनै समस्या नरहेको बताउनुभयो । कार्यक्रममा प्रेस चौतारी केन्द्रीय सदस्यहरु कमलराज तिमिल्सेना, मिलन बिश्वकर्मा, किरण कौशल सहित पत्रकारहरुले आआफ्नो धारणा राखेका थिए । भेलाले पत्रकार महासंघ चौतारीको नेतृत्वमा अगाडि बढाउने निर्णय गरेको छ । साथै निर्वाचनमा चौतारीकोतर्फबाट उम्मेदवारहरुको छनोटका लागि ५ सदस्यीय कार्यदल गठन समेत गरेको छ । नेकपा एमाले पाल्पा अध्यक्ष ओमबहादुर घर्तीमगर र वरिष्ठ पत्रकार मेघराज शर्माको प्रत्यक्ष निगरानी रहने गरी प्रेस चौतारीका संस्थापक अध्यक्ष केशवराज नेपाल, पूर्व अध्यक्ष भगवान भण्डारी, रामप्रसाद न्यौपाने, कमलराज तिमिल्सेना र राजेन्द्र लिगल रहने कार्यदल बनेको हो ।

कार्यक्रम प्रेस चौतारी नेपाल पाल्पा शाखा उपाध्यक्ष सन्तोष बस्यालको स्वागत, सचिव नारायण न्यौपानेको सञ्चालन तथा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here