उपचारको अभावमा बालकहरूलाई फलामे सिक्रीले बाँधेर राखिँदै

0
242

यज्ञमूर्ति तिमिल्सिना

सदरमुकाम तानसेनबाट ४० किलोमिटर टाढा पूर्वखोला गाउँपालिका केन्द्रबाट झण्डै ७ किलोमिटर कच्ची सडकको यात्रापछि पूर्वखोला गाउँपालिका–१, ढाक्रेवासमा बालकलाई फलामे सिक्रीले बाँधेर राखिएको छ ।

स्थानीय डिलबहादुर सारूका १६ वर्षीय छोरा नारायण सारूलाई जान्ने सुन्ने भएदेखि नै यसै गरी गाइगोठमा बाधेर राखिएको छ । डिलबहादुर र मिनाका चार जना सन्तान छन् । जसमा दुई जना छोरामा अपाङ्गता छ भने दुई ओटा छोरीमा कुनै समस्या छैन । जेठी छोरीले स्थानीय अकला आधारभुत विद्यालयमा कक्षा २ मा पढ्दै आउनु भएको छ भने कान्छी छोरी तीन वर्षकी हुनुभयो ।

नारायण र माधव दुबै बोल्न सक्नुहुन्न । आफू घरमा भएको बेला कहिलेकाहीँ त्यसै छोडे पनि काममा कहीँकतै गएको बेला बाँधेरै राख्ने गरिएको डिल बहादुरले बताउनु भयो । दुबै बालकहरू दौडिने, उफ्रिने र भाग्ने गर्छन् । अवस्था हेरी दुई मध्ये एक जनालाई यसरी बाँधेर राख्ने गरिएको उहाँले बताउनु भयो । ‘घरमा कोही नहुँदा त्यसै छोड्नै हुन्न, भागेर टाढा टाढासम्म पुग्छन्, पानीमा भिजिरन्छन्, त्यसैले बाँधेरै राख्नुपर्छ’, उहाँले भन्नुभयो ।

दुबै बालकको रातो अपाङ्गता परिचयपत्र बनेको छ । मासिक भत्ता आउँछ । त्यसैबाट उनीहरूलाई खुवाउन सकिएको डिलबहादुरले बताउनु भयो । ‘धेरै जना आएर उचित उपचार गर्ने हो भने निको हुन्छ भन्छन् तर आर्थिक अभावमा उपचार गराउन लैजान सकिएको छैन’, उहाँले भन्नुभयो ।

पूर्वखोला गाउँपालिकाले उनीहरूको उपचारका लागि एक वर्ष अघि केही सहयोग पनि गरेको थियो । स्थानीय तहको सहयोगमा लुम्बिनी मेडिकल कलेज, तानसेनमा चार दिन राखेर उपचार गरिएपनि केही सुधार नभएपछि उनीहरूलाई फर्काएर ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनु भयो । यो समस्या थाहा भएलगत्तै गाउँपालिकाले अपाङ्गता परिचय बनाई मासिक भत्ता उपलब्ध गराउँदै आएको उहाँले बताउनु भयो ।

रिब्दीकोट गाउँपालिका–१, ख्याहा जोगिथुम घर भई हाल तानसेन नगरपालिका–१४, अर्गलीमा भाडाको घरमा बस्दै आउनुभएका १२ वर्षीय शिव कुमाल उपचार अभावमा फलामे सिक्रीमा बाँधिएर दैनिकी गुजार्दै हुनुहुन्छ । छोरा जान्ने सुन्ने भएदेखि नै यसै गरी बाँधेर राख्न थालिएको आमा पार्वती कुमालले बताउनु भयो ।

तीन/चार वर्षको हुँदादेखि नै त्यत्तिकै छोड्दा भागेर टाढा टाढा जाने र दुःख दिने गरेकोले यसरी बाँधेर राख्न थालिएको उहाँले बताउनु भयो । शिवले बोल्न सक्नुहुन्न । आमाले बोलाउँदा सुन्ने र भन्न खोजेको कुरा भने बुझ्ने गरेको पार्वतीले बताउनु भयो ।

पार्वतीका दुई भाई छोरा हुन् । शिव कान्छो छोरा । ‘ठूलो छोरामा कुनै समस्या छैन । विद्यालय जाने गर्नुहुन्छ । पति रोजगारीका लागि भारत हुनुहुन्छ । पतिको कमाइबाट खान बस्न ठिक्क छ । आर्थिक अभावकै कारण बुबाको राम्रोसँग उपचार गर्न सकिएन’, पार्वतीले भन्नुभयो । आफू घरमा छँदा खुल्लै राख्ने र निगरानी गरे पनि आफू दिनभर काममा जाँदा वा अन्यत्र बास बस्ने गरी जाँदा पनि यसै गरी बाँधेर राख्ने गरिएको उहाँले बताउनु भयो ।

उपचारको नाममा तीन वर्षअघि केही दिन बुटवल लगेर उपचार गराए पनि आर्थिक अभावका कारण धेरै समय उपचार गराउन नसकेको र फेरी फर्काएर ल्याएपछि उस्तै दैनिकी सुरू भएको पार्वतीले बताउनु भयो । शिवले कखरा समेत सिक्ने बुझ्नै मौका पाउनुभएन । आफ्नै सहोदर दाई र छिमेकी समान उमेर समूहका बालबालिका विद्यालय जाँदा शिव भने सिक्रीमै बाँधिएर बस्न बाध्य हुनुहुन्छ ।

सिक्रीले बाँधिएका बालक शिवलाई ०७५ जेठ १३ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले आफ्नो कार्यकक्षमै लगेर उहाँको चालचलन बानीव्यहोरा अवलोकन गर्दै भरपर्दो उपचारको लागि सरकारी तवरबाटै पहल गर्ने बताउनुभएको थियो । बालकको घरमै पुगेर उहाँको अवस्थाबारे जानकारी लिनुभएका पाल्पा सिविआरका कार्यक्रम प्रमुख कृष्ण गहतराजले बालकको अवस्था बारे जानकारी लिँदा ७० प्रतिशत ठिक हुने बताउनुभएको थियो ।

उहाँको पहलमा रिब्दीकोट गाउँपालिका, महिला तथा बालबालिका कार्यालय, पाल्पा सिविआरलगायतका सङ्घसंस्थाहरूले बालककै घरमा पुगेर उहाँको थप उपचारका लागि ०७५ असार १७ गते युनाइटेड मिसन अस्पताल लगेका थिए ।

महिला तथा बालबालिका कार्यालयले शिवलाई असार १७ गते नै ‘ख’ वर्गको निलो अपाङ्गता कार्डलाई परिवर्तन गरी ‘क’ वर्गको रातो अपाङ्गता कार्ड दिएको थियो । शिवले ६ सय रुपियाँ पाउँदै आउनुभएकोमा मासिक रूपमा २ हजार रुपियाँ पाउने हुनुभएका हो । इन्सेक अनलाइनबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here