कृष्ण जन्माष्टमीमा रम्भादेवीमा साँस्कृतिक महोत्सव हुने

0
406

पाल्पा । पाल्पाको धार्मिकस्थल रम्भादेवी मन्दीर नजिकै नाचनडाँडामा भदौ १० गते रम्भादेवी सांँस्कृतिक महोत्सवको तयारी गरिएको छ ।

कृष्ण जन्माष्टमीका दिन पहिले ठूलो मेला लाग्ने यो स्थानमा पछिल्लो समय जनसहभागीता घट्दै गएपछि यहाँको चहलपहल वृद्धि गर्न महोत्सव आयोजना गर्न लागिएको हो । सहयात्रा नेपालको आयोजना र रम्भा पर्यटन विकास प्रतिष्ठानको सहआयोजनामा हुन लागेको महोत्सवमा स्थानीय मौलिक कला संस्कृतिसँगै चर्चित तथा लोकप्रिय राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहने महोत्सवका संयोजक तथा बरिष्ठ कलाकार दुर्गा रायमाझीले जानकारी दिनुभयो ।

पाल्पाको रम्भा गाँउपालिका–५ ताँहुमा रहेको रम्भादेवी मन्दीर नजिकमा हुने महोत्सवका लागि रम्भा गाउँपालिकासँगै पाल्पाका सबै स्थानीय तह र जनप्रतिनिधिले सहयोग गर्ने प्रतिवद्धता जनाएको संयोजक रायमाझीले बताए । रम्भादेवीको आस्था राख्ने देश तथा विदेशमा रहेका सबैलाई महोत्सवमा सहभागी हुन वा योगदान पुर्याउन आग्रह गरिएको छ ।

यस क्षेत्रको आस्थाको केन्द्रको रुपमा रहेको रम्भादेवी मन्दीर रहेको ठाउँलाई रम्भा पानी पनि भन्ने गरिन्छ । त्रेता युगमा भगवान् राम र सीता मुक्तिनाथको यात्रा गर्ने क्रममा रामपुर हुँदै राम्दी जाँदा त्यही जङगलमा आइपुग्दा सीतालाई पानी प्यास लागेको र पानी खोज्दा कतै नभेटेपछि रामले वाणले हानेर पानी उत्पन्न गरेको हुनाले रामवाण पानी, रामवाण पानी भन्दा भन्दै रम्भापानी नाम रहन गएको किंवदन्ती छ ।

यहाँ पुग्न सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङदेखि १५ किलोमिटर दुरी तय गर्नुपर्छ । ताँहु बजारवाट २ किलोमिटर उत्तरमा रहेको नाचनडाँडा नजिकै रम्भादेवीको मन्दिर छ । रम्भादेवीको भाकल गरेमा मागेको वा चिताएको पुग्छ भन्ने जनविश्वासले भाकल गर्ने र भाकल पुरा भएपछि भाकल गरे अनुसार भेटी, फूलपाती, अक्षता, ध्वजा, लिंगा, रोट वा पञ्चवली दिने चलन रही आएको छ । तर पछिल्लो समय प्रचार प्रसारको कमिले यहाँ आउनेहरुको संख्या घट्दै गएको छ । रम्भादेवी मन्दिर र यहाँ लाग्ने मेलाको महत्व पुनःस्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

झण्डै एक दशकदेखि नै रम्भादेवी मन्दिरमा महोत्सव आयोजना गर्ने छलफल चलेपनि हुन सकेको थिएन । सबैको साथ, सहयोग र उत्साह बढेकाले महोत्सव फलदायी हुने संयोजक रायमाझीले बताउनुभयो । महोत्सवले विगतदेखि चल्दै आएको धार्मिक आस्था तथा कला संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न, कृष्णाष्टमीको महत्व र धार्मिक आस्था बृद्धि गर्न, रम्भादेवी मन्दिरको धार्मिक तथा पर्यटकीय दृष्टिले प्रचारप्रसार भई धार्मिक पर्यटकहरुको संख्या बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

सहयात्रा नेपाल नेपाली मौलिक लोककला, सँंस्कृति, गीत, संगीत आदिको विकास र प्रवद्र्धनका लागि स्थापित भएको हो । सांस्कृतिक नेपाल अभियान अन्तर्गत पाल्पालाई सांस्कृतिक पाल्पाको रुपमा चिनाउने गरी यस्तै अन्य मेला महोत्सव तथा विविध कार्यक्रमहरुको आयोजना गर्न लागेको संस्थाका अध्यक्ष रायमाझीले बताउनुभयो । कला, संस्कृति र संगीतका क्षेत्रमा लामो समयदेखि कृयाशील विज्ञ, अनुभवी र अभ्यासकर्ताहरुको सामूहिक पहलमा सहयात्रा नेपालको स्थापना भएको हो । संस्थाले विज्ञ र अनुभवीहरुको सम्मान तथा उहाँहरुको संरक्षकत्वमा नव स्रष्टाहरुलाई उत्प्रेरित गर्दै कला, संस्कृति र संगीतसँग सम्वन्धित नीतिगत वकालत, अध्ययन, अनुसन्धान, अभिलेखीकरण र प्रवर्धनात्मक कामहरु गर्ने उद्देश्य राखेको अध्यक्ष रायमाझीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here