पाल्पा । तानसेन नगरपालिका वडा नं. ५ सेतीपोखरीमा १२ वर्षअघि बनाइएको स्यानेटरी ल्याण्डफिल्ड साइट उपयोग बिहीन भएको १२ वर्ष भइसक्यो ।
तानसेन नगरपालिकाको २५ प्रतिशत र स्थानीय विकास मन्त्रालयको ७५ प्रतिशत गरी १ करोड ६१ लाख रुपैयाँमा निर्माण सम्पन्न ल्याण्डफिल्ड साइट रित्तो छ भने सिङ्गो तानसेन बजारको फोहर स्थानीय शिवपोखरी जंगलमा यत्रतत्र रुपमा बिसर्जन गर्ने गरिएको छ । जथाभावी फालिएको फोहरबाट दुर्गन्ध फैलिदा स्थानीय स्वच्छ वातावरणको हकबाट बञ्चित भएका छन् ।
२०६९ असोजमा निर्माणसम्पन्न तानसेन शिवपोखरीमा अबस्थित ल्यान्डफिल्ड साइट २०७० असोजबाट नै प्रयोगमा आउन सकेको छैन । करिव एक बर्ष सम्म संचालित ल्यान्डफिल्ड साइटबाट बस्तीमा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले सो स्थानमा फोहर संकलन गर्न रोक लगाएका थिए ।
सो स्थानमा फोहर ब्यबस्थापन गर्ने निर्णय गरेपनि स्थानीयको अवरोधको कारणले करोडौं खर्चिएर निर्माण गरिएको ल्यान्डफिल्ड बिगत एक दशक देखि प्रयोगबिहिन बनेको हो । तानसेन नगरपालिकाका विभिन्न क्षेत्रमा संकलन फोहोर अहिले देउराली सामुदायिक बनको गुल्मी जाने सडक खण्डको साइडमा फालिन्छ जसले गर्दा सो सडकखण्ड भएर यात्रा गर्ने यात्रु तथा वरपरका बस्तीहरुमा समेत दुर्गन्ध फैलिएकोे सर्वसाधारणको भनाई छ ।
तानसेन नगरपालिले ३४ रोपनी जग्गा व्यस्थापन गरी ल्यान्डफिल्ड साइट निर्माणको काम सुरु गरेको थियो । नगरपालिकाले हरेक जोर गते कुहिने र बिजोर गते नकुहिने र हरेक महिनाको एक गते सिसाजन्य फोहोर संकलन गर्ने गरेको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । उहाँले ल्याण्डफिल्ड साइटको उपयोग गर्नेबारे पटक पटक छलफल भएपनि निष्कर्षमा पुग्न नसक्दा जंगलमा फोहर फाल्नुपरेको बताउनुभयो ।
नगरपालिकाले बसपार्क साइडको एक सय रोपनी जग्गा मध्ये १९ रोपनी जग्गा फोहोरमैला ब्यबस्थापन केन्द्र अन्तर्गत कुहिने फोहोरमैला बाट फोहोरमैला उर्जा ब्यवस्थापन केन्द्र संचालन गर्ने योजना भएतापनि बजेट अभावका कारण रोकिएको उहाँले बताउनुभयो । सेनेटरी ल्यान्डफिल्ड साइट प्रयोगमा आउन नस्कदा संरचना भत्कदै गएका छन । १४ वटा वडा रहेको तानसेन नगरपालिकामा दैनिक करिव १० टन फोहोर संकलन हुँदै आएको छ ।