पाल्पा । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तगर्त बगनासकाली गाउँपालिकामा आइतबारदेखि चारदिने कुखुरा तथा वंगुरपालन तालिम शुरु भएको छ । तालिममा बगनासकाली गाउँपालिकाका वडा नम्बर १ देखि ९ सम्मका कुखुरा तथा वंगुर पालनमा आवद्ध कृषकहरूको सहभागिता रहेको छ । मेडपा सीप विकास तालिम अन्तर्गत कृषकलाई उद्यमी बनाउने उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो ।
तालिम शुभारम्भ सभामा बोल्दै गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले निर्वाहमुखी काम गर्दै आएका व्यवसायीलाई चारदिनको तालिमले व्यवसायी बन्न सहयोग गर्ने धारणा राख्नुभयो । उहाँले सिकेको सीपलाई प्रत्यक्ष व्यवहारमा लागु गरी व्यवसायी बन्न सहभागीलाई आग्रह गर्नुभयो । गाउँपालिकाले व्यसायीको उत्पादनलाई बजारीकरण, अनुदान थप र मागमा आधारित सीप प्रदान गरी उद्यमी बनाउने गरी मेडपा कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गर्दै आएको अध्यक्ष चिदीको भनाई छ । उहाँले सीप सिकेर आत्मनिर्भर बन्न सहभागी प्रशिक्षार्थीलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाले आफूले सिकेको सीपलाई छरछिमेक र साथीभाईलाई पनि सिकाउन आग्रह गर्दै गाउँपालिकाका कृषकलाई व्यवसायिक बनाउन मेडपा कार्यक्रम मार्फत विभिन्न तालिमहरू सञ्चालन गरिएको बताउनुभयो । कार्यपालिका सदस्य गीता रेग्मी, प्रशिक्षक हरि कोइरालाले उद्यमी व्यवसायीलाई आम्दानीमा वृद्धि गर्न तालिमले सहयोग पु¥याउने विचार राख्नुभयो । मेडपा कार्यक्रम संयोजक प्रेमबहादुर बगालेले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको उद्देश्य र यो आर्थिक वर्षमा सञ्चालन गरिएका कार्यक्रमका बारेमा जानकारी गराउनुभयो । उहाँले कृषकको सीप विकास तथा क्षमता अभिवृद्धिका लागि ४ दिने सीप विकास तालिम सञ्चालन गरिएको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीको अध्यक्षता, प्रवक्ता टिकाबहादुर थापाको स्वागत र एम।आई।एस।अपरेटर भोजराज भट्टराईको सञ्चालनमा उद्घाटन कार्यक्रम भएको हो । चार दिनसम्म चल्ने तालिममा प्रशिक्षक हरि कोइरालाले कुखुरा तथा बंगुर पालन व्यवसायका सम्भावना, बंगुर तथा कुखुरामा लाग्ने रोग तथा रोकथाम, सन्तुलित आहार, खोर बनाउने तरिका, नश्ल सुधार, बजारीकरण लगायतका विषयमा आवश्यक सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने गाउँपालिकाले जानकारी दिएको छ ।