‘खेलकुदको अवस्था र सम्भावना’ विषयक अन्तरक्रिया सम्पन्न

0
224

पाल्पा । अधिक सम्भावना भएर पनि खेलकुद गतिविधि सुस्ताएको तानसेनमा आइतबार आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले तराईको उखरमाउलो गर्मीमा पहाडमा खेलकुदका गतिविधि बढाउने हो भने स्थानीय, संघीय र प्रदेशस्तरका खेलकुद गर्न सकिने सम्भावना प्रशस्त भए पनि खेलसम्बद्ध संस्थाहरुको चासो नहुँदा खेल गतिविधि हुन नसकेको बताएका हुन् ।

नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा पाल्पाले विश्व खेलकुद पत्रकार दिवसका अवसरमा आयोजित ‘खेलकुदको अवस्था र सम्भावना’ विषयक अन्तरक्र्रियामा सहभागीले यस्तो बताएका हुन् । सहभागीले जिल्ला खेलकुद विकास समिति, खेलसंग सम्बन्धित संघसंस्थाहरु बजेट अभाव भन्दै खेलकुद गतिविधि नगर्दा नै खेल सम्वन्द्ध खेलाडीहरु पलायन हुनुपरेकोसमेत बताएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष रेखीराम रानाले पछिल्ला दिनमा पाल्पा जिल्ला फुटबल संघको गतिविधिले खेलकुद नै चलायमान बनाएको बताउनुभयो । खेलकुद गतिविधिबाट प्रत्यक्ष लाभ लिने क्षेत्र होटल व्यवसायी, उद्योगी, व्यापारीले खेलकुदको विकासका लागि सहयोग गर्नुपर्ने अध्यक्ष रानाले बताउनुभयो ।

पाल्पा जिल्ला फुटबल संघका पूर्व महासचिव भरत शर्माले फुटबल, भलिबल जस्ता खेलले नेपालमै उत्कृष्ट स्थान हासिल गरेको इतिहास भए पनि पछिल्ला समयमा भौतिक पूर्वाधार तयार नभएकाले सुस्ताएको बताउनुभयो । पाल्पामा खेलकुदको विकासका लागि एकेडेमी आवश्यकता रहेको बताउँदै जग्गा अभावमा फुटबलको एकाडेमी बन्न नसकेर अन्यत्र गएको स्मरण गर्नुभयो ।
जिल्ला खेलकुद बिकास समितिका पुर्व अध्यक्ष करुणा काफ्लेले विगतमा खेलकुदको क्षेत्र धेरै अब्बल भएको बताउँदै पुरानो साख गुमेको बताउनुभयो ।

पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय वीरजंग राणाले सम्भावना भएर पनि आर्थिक स्रोत जुटाउन नसक्दा खेलकुदको गतिविधि अघि नबढेको बताउनुभयो । ‘मौसमको हिसाबले पाल्पा निकै राम्रो छ,’ उनले भने, ‘खेलकुदमा लगानी गर्नुपर्छ भन्ने भावना नै नभएकाले समस्या आएको हो ।’ पाल्पाको खेलकुद विकासका लागि उद्योगी, व्यवसायी, होटल व्यवसायीले सहयोग गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य मिलन विक, नेपाल प्रेस युनियन जिल्ला अध्यक्ष मन गैरे, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश लेखा समिति संयोजक मुक्तिप्रसाद न्यौपाने, समाजवादी प्रेस संगठनका अध्यक्ष पदम गैरेले पाल्पामा खेलकुदको गतिविधि संचालन गर्दा व्यवस्थापन राम्रो भयो भने सफलता पाइन्छ भन्ने केही समय अगाडि सम्पन्न फुटबल प्रतियोगिताले देखाएको बताउनुभयो । कार्यक्रम मञ्चका सदस्य कृष्ण कार्कीको स्वागत, मंचका जिल्ला अध्यक्ष माधव अर्यालको अध्यक्षता र कोषाध्यक्ष कमल अधिकारीको संचालनमा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here