spot_img
Home Blog Page 10

लुम्बिनीमा बन्यो डाटा पोर्टल, हरेक कामलाई तथ्यांकले मुल्यांकन गरिन्छः मुख्यमन्त्री आचार्य

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका हरेक कामलाई तथ्यांकको आधारमा मुल्यांकन गरिने बताउनु भएको छ । प्रदेश सरकार र मातहतका कार्यालयले सम्पादन गरेका कामलाई तथ्यांकको आधारमा बस्तुगत मुल्यांकन गरेर अघि बढ्नुपर्ने, तथ्यांकलाई मुल्यांकनको आधार बनाउदा बावस्तविकता पत्ता लगाउन सकिने भनाई उहाँको छ ।

प्रदेश योजना आयोगको आयोजनामा बुधवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भएको लुम्बिनी डाटा पोर्टल सार्वजनिकरण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले आर्थिक, सामाजिक, भौतिक लगायत सबै क्षेत्रका तथ्यांकलाई यथार्थपरक बनाउनुपर्ने बताउनु भयो ।‘डाटा पोर्टल बन्नु महत्वपूर्ण उपलब्धी हो । यसलाई सबै निकायले प्रयोग गर्न मिल्ने बनाउनुपर्छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘हरेक कामको मुल्यांकन तथ्यांकको आधारमा गर्नुपर्छ । यसमा सबैले ध्यान दिनुपर्ने छ ।’

मुख्यमन्त्री आचार्यले डाटा पोर्टलको उद्घाटन समेत गर्नु भएको छ । लुम्बिनी प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, भौतिक, पूर्वाधार लगायत सबै बिषय र पक्षका तथ्यांकलाई एकिकृत गरेर एकै ठाउँमा तथ्यांक राखिएको छ । विगतमा तथ्यांक खोज्न र प्रयोग गर्न समस्या थियो । तर, अव देखी प्रदेश संग सम्वन्धित सबै तथ्यांकहरु डाटा पोर्टलमा राखिएको र त्यहाँ रहेका तथ्यांक प्रयोग गर्न सकिने अवस्था रहेको प्रदेश योजना आयोगका सचिव खिमबहादुर कवरले बताउनु भयो ।

लुम्बिनी प्रदेशको समस्थिगत स्थिति समेटिएको छ । एकीकृत रुपमा विवरण राखिएकाले यसको उपयोगिता बढेर गएको भनाई सचिव कवरको छ । यो पोर्टलमा प्रदेश सरकरका विषयगत मन्त्रालयहरुले तयार पारेका आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, भौतिक पूर्वाधार, सहरी विकास, वन तथा वातावरण लगायत सबै क्षेत्रका तथ्यांकलाई एकिकृत गरिएको छ । यसका साथै स्वतन्त्र अनुसन्धानकर्ताहरुले तयार पारेका तथ्यांकलाई समेट समेटिएको छ । लुम्बिनी प्रदेशको समग्र विकासमा एकिकृत तथ्यांकले टेवा पुग्ने नेपाल ईन डाटा कार्यालयका प्रमुख तथ्यांक अधिकृत सन्तोष गरतौलाले बताउनु भयो । डाटा पोर्टललाई तथ्यांक बैंकको रुपमा प्रयोग गर्न सकिने भनाई उहाँको छ ।

संघ, प्रदेश, जिल्ला र पालिका सम्मका तथ्यांकहरु समावेश गरिएको छ । लुम्बिनी प्रदेश सरकारले दोस्रो आवधिक योजना निर्माण गरिरहेको छ । पहिलो आवधिक योजना निर्माण गर्दा तथ्यांकको अभाव भएपनि अव बनाउने आवधिक योजनाहरुमा डाटा पोर्टलमा रहेका तथ्यांकले सहयोग पुग्ने विश्वास गरिएको छ । पालिका तथा मन्त्रालयहरुको विचमा एउटै सूचकमा रहेका तथ्यांक विच तुलना गर्न सकिने समेत व्यवस्था गरिएको छ । यूकेएडको सहयोगमा सञ्चालित द एसिया फाउन्डेसनको विकासका लागि तथ्यांक कार्यक्रमको सहजिकरणमा प्रदेश योजना आयोगले डाटा पोर्टल निर्माण गरेको हो ।

साँघुरो भवनबाट स्वास्थ्य सेवा लिन दिन असजिलो

पाल्पा । तानसेन नगरपालिका–७ कुनसरेमा ८ वर्षदेखि कृषि सेवा केन्द्रको भवनमा संचालन भइरहेको आधारभुत स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्दै गएपनि भवन साँघुरो भएका कारण सेवा लिन दिन समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।
तानसेन नगरपालिकाका वडा नं. ६, ७, ८ र ९ सहित बगनासकाली गाउँपालिकाको वडा नं. १ र २ बाट समेत यहाँ बिरामी आउने गरेका छन् । दैनिक ३० जनासम्म बिरामी सेवा लिन आउने गरेपनि एउटा साँघुरो कोठाबाट सेवाप्रवाह हुने भएकोले सेवा लिनका लागि लामो समय कुर्नपरेको सेवाग्राहीको गुनासो छ ।
तानसेन–७ की कमला नेपालीले आफू नियमित गर्भचाजका लागि यो सेवा केन्द्रमा आउने गरेको बताउनुभयो । भवन कोठा साँघुरो र बिरामीहरू आइरहने हुँदा सेवा लिन पालो कुरेर बस्नु पर्ने अवस्था रहेको बताउनुभये ।  केन्द्रमा बिरामी जाँचका लागि एउटा मात्रै बेड छ । एउटै कोठामा अन्य बिरामीहरु पनि पालो कुरेर बस्नुपर्ने भएकोले कतिपय बिरामीले आफ्नो समस्या खुलेर स्वास्थ्यकर्मीसामु राख्न नपाएको उहाँले बताउनुभयो । गाउँमै यो सेवा केन्द्र खुल्दा धेरैलाई सहज भएपनि सेवा केन्द्रलाई अझ ब्यवस्थित बनाउने नगरपालिकाको ध्यान जानुपर्ने उहाँको भनाई छ ।
तानसेन–७ की महिला स्वास्थ्य स्वयम्सेविका रिता भट्टराइले आफूहरुको सम्पर्कमा आउने बिरामीहरुलाई गाउँकै सेवा केन्द्रमा पठाउने गरेको बताउनुभयो । केन्द्रको कोठा साँघुरो छ बिरामीले पनि चाहेजस्तो सेवा पाउन सक्दैनन् । उहाँले भन्नुभयो । स्थानीय सरिता खनालले प्रेसर चेक गराउन जाँदा एक घण्टा नै कुर्नुपरेको बताउनुभयो । उहाँले एउटै कोठामा सबै बिरामीले सेवा लिने, बेड पनि एउटै भएको कारण एउटा बेडमा सेवा लिनुपर्ने बिरामी आएमा अर्को बिरामीले बेडको सेवा नपाउने अवस्थामा रहेको बताउनुभयो ।
केन्द्रकी अहेव शोभा बिश्वकर्माले ३ जना स्वास्थ्य कर्मचारी कार्यरत रहेको बताउनुभयो । आफूहरुले केन्द्रमा आउने बिरामीहरुको सहज उपचारका लगि सक्दो प्रयास गरिएपनि पर्याप्त उपकरणको अभाव र साँघुरो कोठा एउटा मात्रै बेड भएका कारण सोचेजति सेवा प्रवाह गर्न नसकिएको बताउनुभयो ।
तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले यो सेवा केन्द्रले धेरै अप्ठ्यारो अवस्थामा अधिकतम नागरिकहरुलाई स्वास्थ्य सेवा प्रवाह गर्दै आएको बताउनुभयो । एउटै कोठाबाट सबै सेवा दिनुपर्ने अवस्था छ । यस विषयमा आगामी दिनमा नगरपालिका र वडा कार्यालयको समन्वयमा केन्द्रलाई व्यवस्थित बनाउने योजना रहेको उहाँले बताउनुभयो ।

युवा रेड्क्रस सर्कलद्वारा प्राथमिक उपचार क्याम्प संचालन

पाल्पा । मंगलवार सम्पन्न भगवती रथयात्राका क्रममा जिल्ला स्थित विभिन्न सामाजिक संघ संस्थाहरुले विभिन्न भूमिकाहरु निर्वाह गरेका छन् ।

यसैबीच श्रीनगर युवा रेडक्रस सर्कलले प्राथमिक उपचार सेवा क्याम्प खडा गरी प्राथमिक सेवा दिएको छ । रेडक्रसले रथयात्रा अवधिभर रोट्रयाक्ट क्लब अफ पाल्पा तानसेन संगको सहकार्यमा पानी वितरण पनि गरेको थियो ।
जात्राको समापन भएसंगै दरबार परिसरमा वृहत सरसफाई गरेको संस्थाका अध्यक्ष द्रोणाचार्य भुसालले बताउनुभयो ।

भगवती रथयात्रा राष्ट्रपतिले पनि अवलोकन गर्नुभयो

पाल्पा । २०५ औं भगवती रथयात्रा सफलतापूर्वक सम्पन्न भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन मनाइने रणउजीरेश्वरी भगवती रथ यात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल पनि पाल्पा आउनुभएको थियो ।
पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभयो । राष्ट्रपति पौडेललाई जनस्तरबाट समेतस्वागत गरिएको थियो । जात्रामा सहभागी हुन रक्षा मन्त्री मानवीर राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे पनि पाल्पा आउनुभएको थियो ।

नेपाली सेनाले अंगे्रजलाई जितगढी किल्लामा वि.सं. १८७१/७२ को युद्धमा जीत हासिल हुने गरेको छ । गरेको खुसीयालीमा प्रत्येक वर्ष तानसेनस्थित रणउज्जेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा नकाल्ने प्रचलन छ ।
सोही प्रचलन अनुरुप मंगलबार तानसेनमा धुमधामका साथ वीरताको प्रतीक श्री ७ रण उज्जेश्वरी भगवती निकालियो । कर्णेल उजिरसिंह थापाको नेतृत्वको टोलीले जितगढीको युद्धमा अंग्रेज फौजलाई परास्त गरेको खुसीयालीस्वरुप वि.सं.१८७६ देखि भगवती जात्रा मनाउन थालिएको हो ।

पाल्पामा मनाइने रणउजिरेश्वरी भगवतीको जात्रालाई पाल्पा जिल्लाकै सबैभन्दा ठूलो र राष्ट्रिय गौरवको प्रतीकको जात्रा मानिन्छ । भगवती मन्दिरलाई शक्ति सम्प्रदायको मन्दिर पनि भन्ने गरेको संस्कृतिसम्बन्धी जानकारहरू बताउँछन् । नेपाल अंग्रेज युद्ध खासमा बुटवल र स्यूराजको विषयमा भएको थियो । अंग्रेजहरू पाल्पा कब्जा गर्न चाहन्थे । सोही अनुसार पाल्पा कब्जा गर्न बुटवलबाट युद्ध गर्ने जिम्मा मेजर जनरल जोन सुलिवान उडलाई सुम्पिएको थियो । त्यसबेला पाल्पाका तैनाथवाल थिए नयनसिंह थापाका भर्खरका १९ वर्षे पुत्र उजिरसिंह थापा । उनले वि.सं. १८७१ बाट १८८१ सम्म पाल्पाको तैनाथी चलाएका थिए ।

पाल्पाका तत्कालिन तैनाथवाल कर्णेल उजिरसिंह थापाले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन आराध्यादेवी भगवतीको आरधना र भाकल गरी विजय प्राप्त गरेको विश्वासमा सिन्दुर यात्रासहित प्रत्येक वर्ष कृष्ण नवमीका दिन तानसेनमा भगवती जात्रा निकालिन्छ ।

वि.सं. १८७६ देखि सुरु भएको इतिहास अनुसार हालको भगवती जात्रा २०५ औं जात्रा हो । तानसेन बजारको मध्यभागमा रहेको रणउजिरेश्वरी भगवतीको मुर्ति रहेको रथलाई बाजागाजासहित नेपाली सेना, प्रहरी, सरकारी कर्मचारी, भजन मण्डल, विद्यार्थी, नगरवासी सहभागी थिए । रथले परिक्रमा गर्दा घर–घरबाट पुजा दिइएको थियो । रथयात्राको पूर्व सन्ध्यामा कृष्ण जन्माष्टमीको दिन रातभर भजनसहित जाग्राम बसी पूजा गरिएको थियो । रथयात्रा हेर्नको लागि तानसेन बजार र छिमेकी जिल्लाबाट समेत दर्शकहरूको भीड लागेको थियो ।

पाल्पामा क्रियाशील २१ जना पत्रकार पुरस्कृत

पाल्पा । पाल्पामा क्रियाशील २१ जना पत्रकार एक कार्यक्रमका बीच पुस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखामार्फत स्थापना भएका विभिन्न पुरस्कारबाट पत्रकारहरुलाई पुरस्कृत गरिएको हो ।

५० हजार राशिको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट शाखाका पूर्वअध्यक्षहरु झपेन्द्र गहिरे र भगवान भण्डारी पुरस्कृत भएका छन् । २५ हजार नगदसहित मेघ–गोविन्द–झपेन्द्र पत्रकारिता पुरस्कारबाट शाखाका संस्थापक सचिव तथा वर्तमान उपाध्यक्ष भरत शर्मा,१५ हजार राशिको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकारहरु कृष्ण कार्की, यम गाहा र मुक्तिप्रसाद न्यौपाने पुरस्कृत भएका छन् ।

१० हजार राशिको सृजनशील पत्रकारिता पुरस्कारबाट पत्रकारहरु मिलन विक, कृष्ण दर्नाल र सिता डोटेल पुरस्कृत भएका छन् । १० हजार राशिको ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकारहरु सुशीला रेग्मी र रमा भण्डारी साथै ७ हजार ५ सय राशिको सामाजिक जागरण पत्रकारिता पुरस्कारबाट पत्रकार दयाराज न्यौपाने र ५ हजार राशिको मानवअधिकार पत्रकारिता पुरस्कारबाट पत्रकार नारायण न्यौपाने पुरस्कृत भएका छन् ।

लेखनवृत्ति पत्रकारिता पुरस्कारबाट पत्रकारहरु रीमा सोमै, वीरेन्द्र घिमिरे, रामचन्द्र रायमाझी, विष्णु खनाल, कमल अधिकारी, नेत्र गैरे, सुनिल कार्की, धनबहादुर ठाडालाई ४ हजार नगद सहित पुरस्कृत गरिएको छ ।

पत्रकारहरुलाई पुरस्कार वितरण गनुहुदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनताका गुनासाहरु सरकारले सुनवाई गर्ने बताउनुभयो । उहाँले सेवा प्रवाहमा हुने ढिला सुस्ति बारे नागरिक तहबाट हुने गुनासोलाई प्रदेश सरकारले सुनुवाइ गर्ने बताउनुभयो । नयाँ सरकार गठन भएदेखि सुशासन, पारदर्शिता र जवाफदेहिताको क्षेत्रमा निर्मम ढंगले सरकारले काम गर्न खोजेको स्पष्ट पार्नु पारे ।‘प्रदेश सरकार निर्मम भएर अघि बढ्न खोजेको छ । भ्रष्टाचार न्यूनिकरणका लागि पाँच बर्षे रणनीतिक कार्ययोजना निर्माण, उपभोक्ता समितिको नाममा काम लिने र ठेकेदार मार्फत काम गर्ने प्रवृत्ति निरुत्साहित गर्न पाँच लाख माथिका योजना ठेक्का मार्फत कार्यान्वयन गर्दैछौं’ उहाँले भन्नुभयो ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले भगवती रथ जात्रालाई महत्व दिएको, सार्वजनिक विदा दिएर सम्मान गरेको बताउनुभयो । ‘प्रदेशले गौरवको पर्व मानेको छ । मन्दिर पुनर्निर्माण गर्ने जिम्मेवारी सरकारले लिन्छ । उच्च प्राथमिकतामा राखेर काम गर्छ । उहाँले भन्नुभयो, मन्दिरको पुनर्निर्माण प्रदेश सरकारको जिम्मेवारी र दायित्व भएको उहाँको भनाई थियो ।

कार्यक्रममा पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले जनतामा बढ्दै गरेको निरासालाइ चिर्न जरुरी रहेको बताउनुभयो । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले राष्ट्रिय स्वाधीनताको विचारलाई आत्मसात गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय पर्वको मान्यता दिन आवश्यक रहेको, रणउजीरेश्वरी मन्दिरको लागि पुननिर्माणको लागि प्रर्याप्त बजेट सुनिश्चित गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य ठाकुर गैरे, नारायण आचार्य, लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, स्वास्थमन्त्री खेमबहादुर सारु, प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री बीर बहादुर राना, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, नेपाली कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठ, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, लुम्बिनी मेडिकल कलेजका अध्यक्ष गोपाल बहादुर पोखरेल, पत्रकार महासंघका पुर्व अध्यक्षद्वय गोविन्द भट्टराई र राजेशकुमार अर्याल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम शाखा उपाध्यक्ष भरत शर्माको अध्यक्षता र सचिव यज्ञमूर्ति तिमिल्सिनाको संचालन र अध्यक्ष रेखीराम रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

‘दलितलाई खै ?’ भन्दै फेरी जुर्मुराएको दलित आन्दोलन

सरोजदिलु

संविधानमा निर्दिष्ट भएका अधिकारहरुको माग गर्दै नेता खगेन्द्र सुनार ‘दलितलाई खै ?’ भन्दै मण्डलामा बसेको करिव एक महिना हुनलाग्यो । श्रावण २३ गते मध्ये झरीसंगै उनी निरन्तर घामपानी, वर्षेझरी, भेलनेल नभनी सडकमा उभिएर दलितको अधिकार माग गरिरहेका छन् । तर सरकारले दलितका कुरामा सुनुवाई गर्ने कुनै चासो गरेको छैन । सरकारले त सुनुवाई गरेनगरेन, दलितको अधिकारमा कुर्लने नेताहरु र दलित समुदायको त्याग, वलिदान र आड्मा जन्मे–हुर्केका प्रतिपक्ष पार्टीहरुले समेत अहिलेसम्म यसलाई मुद्दा बनाएको देखिदैँन । अझ विभिन्न पार्टी मातहतमा रहेका दलित जनवर्गीय संगठनहरुले स्वतःस्फूर्तरुपमा जोसिँदै गएको यो आन्दोलनलाई समर्थन जनाउन आएका छैनन् । उनीहरु अझ पनि तालुकका पार्टी नेताहरुदेखि त्रसित देखिन्छन् । हामी दलितका लागि हौं या पार्टी नेताहरुका लागि ? उनीहरुको मगमा खास समझ् नै छैन । समाजवादका ठूल्ठूला भाषण गर्ने पार्टीहरु समेत यतिवेला मौनवर्त बसिरहेका छन् । अगुल्टोले डामेको कुकुर विजुली चम्कँदा तर्सिन्छ भने झैँ सरकार दलितको मागदेखि डराएको–भागेको देखिन्छ ।

दलितको संवैधानिक अधिकारः
दलितलाई खै आन्दोलन कुनै पार्टी विरोधी र सरकार गिराउने हरकत्को कुनै आन्दोलन होइन । यो त केवल नेपालको संविधानमा लेखिएका दलितका अधिकारहरु विशेषगरी ‘धारा २४ र धारा ४० को नियमन र कार्यान्वयन गरियोस्’ भनेर माग गरिएको आन्दोलन मात्र हो । संविधानको धारा २४ को उपधारा १ देखि ५ सम्म सर्वाजनिक, नीजि वा कुनैपनि स्थानमा जातवंश, र शारीरिक रुपरंगको आधारमा विभेद नगरिने, दलितका सवै सेवा र उत्पादनहरु सवैमा निर्वाध चल्ने–चलाउने, राज्यका सुविधाहरुमा विभेद नगर्ने, जात र शरीरको रंग–आकारको आधारमा सानो ठूलो नहुने, घृणा वा अपमान नगर्ने र यसो गरेमा, भएमा यो गम्भिर दण्डनीय अपराध हुनेछन् र पीडितलाई क्षतिपुर्तिको ब्यवस्था हुने उल्लेख छ ।

यसैगरी धारा ४०को उपधारा १ देखि ७ सम्म राज्यका सवै निकायमा दलितको समानुपातिक समावेशी सिद्धान्तका आधारमा अवसर प्राप्त हुने, रोजगारी, प्रतिनिधित्व तथा सशक्तिकरणमा विशेष ब्यवस्था गर्ने, उच्चशिक्षासम्म निःशुल्क र छात्रवृति हुने, प्राविधिक शिक्षा, स्वास्थ र सामाजिक सुरक्षाको क्षेत्रमा विशेष ब्यवस्था गर्ने, यो समुदायको पेशा, ज्ञान, सीप, प्रविधि तथा कलालाई थप प्रविधि र श्रोतहरु उपलब्ध गराई संरक्षण र विकास गर्ने, भूमिहिन दलितलाई एकपटक जमिन दिने, आवासको ब्यवस्था गर्ने र मधेश, पहाड सवै समुदायमा रहेका दलित तथा दलित महिलाले समानुपातिकरुपमा राज्यका सवै अवसरहरु पाउने ब्यवस्था गरेको छ । र, यी मौलिक हकहरुलाई कार्यान्वयन गर्न ३ वर्षभित्र कानुन बनाई लागु गर्ने समेत भनिएको छ । योभन्दा वाहेक धारा २५५ मा दलित हक प्राप्तीका लागि संवैधानिक आयोगको ब्यवस्था गरिएको छ । धारा ५१ को ‘ञ’ को ६ मा हलिया, खलिया, सुकुम्वासीलाई आवास र जमिनको ब्यवस्था गर्ने निर्देशनसमेत दिएको छ भने जातीय विभेदको निगरानी गर्ने र दलितलाई अधिकार दिलाउने सम्वन्धमा सहायक अङ्गका रुपमा प्रधानमन्त्रीको मातहतमा छुट्टै उच्चस्तरीय प्रशासनिक संयन्त्रसमेत छ ।

मौलिक हक कार्यान्वन भएनः
संविधान बनेको नौवर्ष बित्दैगर्दा दलितको हकलाई कार्यान्वयन गर्नका लागि संसोधित जातीय छुवाछूत कसुरदार दण्डसजाय संहिता २०७५ वाहेक अन्य कानुनहरु बनेको छैन । राज्यका संयन्त्रहरुले त्यो संहितासमेत पालना गरेको देखिदैन । संवैधानिक आयोगले दिएका वार्षिक प्रतिवेदनहरु सरकारले एउटा पोकोमा उनेर राख्ने गरेको छ भने आयोगहरुलाई समेत आआफ्ना पार्टीका निकम्मा कार्यकर्ता भर्तिकेन्द बनाएको सवविधितै छ, जसका कारणले दलितलाई उपलब्ध भएको न्युन श्रोतसाधनहरु समेत दुरुपयोग भइरहेका छन् । दलितको सीप, प्रविधि, ज्ञानको विकास र संरक्षण गर्ने दलित प्राविधिकरणको कुरा यसैवर्ष मात्र चलेको थियो । यसका लागि अघिल्लो सरकारले छुट्ट्याएको बजेटमा ओली सरकार मौन छ । दलित उत्पीडित, सुकुम्वासीहरुलाई जमिन दिन भनेर बन्दै–भत्कँदै गरेको सुकुम्वासी आयोग हुकुम्वासीहरुकै घेरामा छ । केन्द्र र अधिकांश जिल्ला संरचनाहरुमा जसको सवाल उसको प्रतिनिधित्व नभएपछि ती हुकुम्वासीहरुबाट सुकुम्वासी दलितहरुलाई यथोचित जमिन र आवास प्राप्त हुने छाँट् देखिँदैन ।

दलितलाई सशक्तिकरण गर्ने र रोजगारी दिने तथा स्वास्थ र सामाजिक सुरक्षाको हकमा दलितका लागि भनेर कुनै कानुन वा संरचना बनेकै छैन । निःशुल्क उच्चशिक्षा र छात्रवृति भनिएता पनि त्यो कार्यान्वयनको तहमा पुगेको देखिँदैन । निजि संस्थाहरुले त यो ब्यवस्थालाई एककानले सुनेर अर्को कानले उडाउँदै चर्को फिः असुलीरहेको हामी देख्नसक्छौं । दलित भनेर चिनिएपछि पसल, होटल चल्दैनन्, फिल्म समेत चल्दैनन् । संविधान बने यतादेखि ५७ जना दलितहरु मारिएको र करिव ९०० वटा सानाठूला विभेदहरु भएको इन्सेकको रिपोर्टले देखाएको छ । आज पनि हाम्रा दिदीवहिनी कतिवेला बलात्कृत हुने हुन्, कतिवेला हाम्रा दाजुभाईहरु मारिने हुन्, कतिवेला हामीले विभेद र हिंसा सहनुपर्ने हो भनेर दलित समुदायहरु भयभित छन् । यिनको सुरक्षा दिन सरकारका अङ्गहरु तयार छैनन् । अन्तरजातीय विवाह वा प्रेम गरेको आरोपमा दलित युवाहरु फसाइएका छन् । कुनैपनि जेलमा वा प्रहरी थुनामा हामी हेरौं– त्यहाँ अधिकांश दलितहरुलाई विभिन्न वहानामा फसाइ उनीहरुको जीवन वर्वाद गरिएको छ ।

उच्चतहमा समावेशीकरण खै ?
संविधान बनेपछि संघमा मात्र ८ वटा सरकार बने । संविधानले निर्दिष्ट गरेको संविधानअनुसार २१ वटा मन्त्रालय, २५ जना मन्त्रीमा कम्तिमा २ जना क्याविनेट मन्त्री दलित हुनुपर्ने हो । तर विगतमा २ वटा सरकारले १।१वटा क्याविनेट मन्त्री बनाएका थिए भने पछिल्लो सरकारले त बढीमा एकजना राज्यमन्त्री वाहेक बनाएको देखिदैन । आजसम्म दर्जनौँपटक सयौं राजदूतहरु नियुक्त भए, दलितबाट २ जना मात्र । विभिन्न निकायमा निर्देशक–महाप्रवन्धक वा संचालक, नियोग र आयोग सदस्यहरु कैयँैंमा दलितलाई कहिल्यै योग्य ठहर्याइएन । यसैगरी लोकसेवा आयोग, सुकुम्वासी आयोग, मानवअधिकार आयोग आदि उच्चपदस्थ प्रशासनहरुमा दलितलाई दूरदूर नै गरिँदै ल्याइएको छ । यसले के देखाउँछ भने विशेष जातको आठकक्षा पढेकोले अर्थ वा गृहमन्त्रालय चलाउन सक्छ तर दलितले मास्टर–पिएच्डी नै गरेको भए पनि कुनै संरचनाको राजदूत वा निर्देशक बन्न नपाउने गरी निषेधित गरेको छ ।

दलितमाथिको उत्पीडनलाई अपराध करार गरिएनः
संविधानमा लेखिएता पनि दलितमाथि भइरहेका दिनैदिनैका हिंसा, विभेद र हत्याहरुलाई सरकारले अपराध हो भनेर करार गर्दैन । लक्ष्मी परियार, अंगिरा पासी, सम्झना विश्वकर्मा, अजित मिजार लगायतको हत्या अपराध हो भन्नसकेको छैन । रुकुमको नरसंहारका पीडकहरुलाई जोगाउन तत्कालिन सरकारमा रहेका मन्त्री, पार्टीका नेताहरु नै लागेको सवैविधितै छ । न्याय पाउनका लागि ठूलै जनदवाव र चुनौति दिएपछि मात्र अदालतले अपराधी करार गर्यो । प्रहरीले हतपत्त उजुरी लिदैँन । प्रहरीले गाँजा तश्करीलाई आफ्नो दायित्व ठानी कुनै सम्झौता नगरी कारवाही चलाइहाल्छ, तर दलितमाथिको मुद्दामा उजुरी नै हाल्न जाँदासमेत उजुरी लिदैँन, लिए पनि सम्झौता गर्न पहिले दवाव दिन्छ । बल्लबल्ल सरकारी मुद्दा बनेता पनि वकिलहरुले प्रतिवादीविरुद्ध खह्रो वहस नगरिदिएको, विभेदका सवूत प्रमाणहरु प्रस्तुत नगरेको देखिन्छ भने न्यायाधिसहरुले समेत जातीय विभेदको सवूत–प्रमाण नपुगेको भन्दै अधिकांश मुद्दाहरुमा पीडकहरुको पक्षमा फैसला दिएका छन् ।

संविधान कार्यान्वयन नगर्ने अपराधी हुन्छ की हुन्न ?
यसरी दलितमाथि सयौं अपराधहरु दिनदिनै भइरहेका छन् । ब्यक्तिले अपराध गरिरहेको छ नै, तर राज्यले नै संविधानमा उल्लेखित भएका अधिकारहरु नदिएर दलितमाथी अपराध गरेको देखिन्छ । जवकी सरकार संविधानको संचालक वा पालक दुवै हो । संविधान वा सोबाट निर्देशित भएका कानुनहरु सरकारले पालना गराउनै पर्छ । तर सवै कुरा जानिजानि बुझिबुझि कार्यान्वयन गर्दैन भने यो अपराध हुन्छ की हुन्न ? संविधान बनेको ३ वर्षमा कानुन बनाइ कार्यान्वयनमा लैजानु पर्नेमा ९ वर्षपुग्दा समेत कानुन बनाउने जमर्को गर्दैन, बनेका कानुनहरु कार्यान्वयनमा लाने संरचना बनाउँदैन र बनेको संरचनाहरुमा दलितलाई बञ्चित गरिन्छ भने यो दलितमाथिको राज्यले गरेको अन्याय हो की होईन ??

बरु यतिवेला संविधान संसोधनको कुरा उठेको छ । सरकारवादी पार्टीहरु समानुपातिक प्रतिनिधित्वका कारणले दिगो सरकार बन्नसकेन, समावेशी अधिकारका नाम साम्प्रदायिकता भड्कियो भनि संविधानको कार्यन्वयनबाट हच्किँदै छ । एमालेका महासचिवले त दुईपार्टी पद्धतीमा जाने भनिरहेका छन् । यो भनेको नयाँ पार्टी बन्न नदिने, नयाँ नेताहरु आउन नदिने, सधैं बाहुनक्षेत्रीले मात्र नेतृत्व गरिरहने भन्ने हो । यतिवेला करिव दुईतिहाई वहुमतको सरकार छ । पार्टीका दलित सांसदहरुले पार्टीको निर्देशन नमानेमा उनीहरुको पदको खैरत् छैन । त्यसैले उनीहरु पहिले पद नै जोगाऊँ भन्ने पक्षमा हुनेछन् । यसोहुँदा संविधानले दिएको अधिकार खोसिने सम्भावना समेत प्रवल छ ।

संवैधानिक अधिकार जोगाउनका लागि दलितलाई खै आन्दोलनः
अहिलेसम्म दलितलाई बञ्चितीकरण गरिरहेको अवस्था र भविश्यमा आउने थप खतराका विरुद्ध खगेन्द्र सुनारले संयोजन गरेको आन्दोलन हो– दलितलाई खै । भगतसर्वजीत, रुपलाल, टीआर विश्वकर्मापछि एउटा योद्धालाई आन्दोलनले पाएको छ, जुन आन्दोलन धेरै वर्षपछि जागेको छ, यसले कोमामा रहेका सवै दलित योद्धाहरुलाई ब्युँझाएको मान्नुपर्छ । खगेन्द्र सुनार २० सौँ दिनदेखि समग्र दलित समुदायको मानसम्मान र मर्यादाका लागि दलितमाथिको बन्धनको प्रतिविम्वको साङ्लो लगाएर मण्डलामा उभिएका छन् । यो आन्दोलन सुनारको नीजि नभएर आमदलितको हो, दलितको मात्रै पनि नभएर शोषित–पीडित आमनागरिकको पनि हो । अझ काठमाडौंभित्र रहेका सवै योद्धाहरुलाई एकैठाउँमा समेटेर संगठित आन्दोलन गर्ने अवसर पनि यही हो । एकै स्थानमा बसेर दलित समुदायको आत्मसम्मान, स्वतन्त्रता र समावेशिताको आवाज उठाई ‘हामी एक छौं, तिमीहरुले फुटाउन सक्दैनौ है’ भनेर हाम्रा विरोधीहरुलाई ऐलान गर्ने समय पनि यही हो । यो आन्दोलनमा गैरदलित समुदायले पनि आफ्नो पुर्व पापहरुको पश्चाताप गर्दै एक्यवद्धता जनाउँदै गर्दा वर्षौदेखि यसैमा लड्दै आएका हामी आफैंले थप साङ्लाहरु भिरेर मण्डलामा जम्मा किने नहुने ??

खगेन्द्र सुनारले दलितलाई खै भनेर भिरेको ५ किलोको साङ्लो राजनीतिक पार्टीहरुमा आवद्ध दलितहरुका लागि अझ हो । भोली मन्त्री पाए उनीहरुले पाउने हुन्, राजदूत वा अन्य नियुक्ती पाए तिनीहरुले नै पाउने हुन् । कुनै कोटा वा सुविधा र सामाजिक सुरक्षा पाएपनि खगेन्द्रका छोराछोरीले होईन, तपाईं–हाम्रा छोराछोरीले पाउने हुन् । यसर्थ जो, जहाँ छौं, जे–जसरी सक्छौं, साथै लडौं, सहयोग गरौँ ।

 

जसले जीवनको ५९ वर्ष कालीगण्डकीमा डुंगा वारीपारी गराउनुभयो

पाल्पा । अल्पसंख्यक बोटे जातिमा पाल्पाकै ज्येष्ठ ८५ वर्षीय गजवीर बोटेसँग सामाजिक राजनीतिक आन्दोलन र अभियानका धेरै अनुभवहरू छन् । जसले देशमा प्रजातन्त्र, लोकतन्त्रका लागि आन्दोलनको नेतृत्व समेत गर्नुभयो । गजवीरको जन्म वि.सं. १९९७ फागुन १० गते हालको बगनासकाली गाउँपालिका–७ खानीगाउँ दैलातुङमा भएको हो । बुवा रनबीर र आमा नर्मती बोटेका ६ भाई छोरा मध्ये जेठा छोरा हुनुहुन्छ गजवीर । उहाँका २ दिदी बहिनी पनि थिए ।

गजवीरका बुवा रनवीर पनि कालीगण्डकी नदीमा डुंगा तार्ने काम गर्नुहुन्थ्यो । त्यतिबेला अहिले जस्तो मोटरबाटो र पुल थिएन । कालीगण्डकी वारी पारी गर्ने एक मात्र बिकल्प डुंगा नै थियो । १३ वर्षको उमेरदेखि अर्थात् २०१० देखि गजवीरले पनि डुंगा तार्ने काम थाल्नुभयो । त्यतिबेला एक जनालाई गण्डकी तार्दा गजवीरले २ पैसा पाउनुहुन्थ्यो । टाढाबाट आएका बटुवाले पैसा दिन्थे भने गाउँ नजिकका ब्यक्तिहरुबाट उहाँ बार्षिक बाली उठाउनुहुन्थ्यो । त्यो क्रम निरन्तर १२ वर्ष अघिसम्म चल्यो । १४ वर्ष अघि उहाँले डुंगा तारेको एकजनासँग २० रुपैयाँसम्म लिनुहुन्थ्यो । डुंगा बनाउनका लागि धेरै टाढाटाढासम्म पुगेको गजवीरको अनुभव छ ।

गजवीरले आफ्नो जीवनका ५९ वर्ष कालीगण्डकीमा डुङ्गा वारी पारी गरेरै बिताउनुभयो । त्यतिबेला दैलातुङमा ५ वटा डुङगा थिए । अन्य ४ डुंगा अलि पहिल्यै बिस्थापित भएपनि गजवीरले भने अन्तिम समयसम्म पनि डुंगा तार्ने काम गर्नुभयो । स्याङजा र पाल्पाको संगमस्थलमा रहेको कालीगण्डकी नदीमा उहाँले दैनिक ३०÷३५ जनालाई डुङ्गाबाट वारीपरी गराउनुहुन्थ्यो । त्यसैको आम्दानीबाट उहाँको गुजारा राम्रै्र चलेको थियो । स्थानीय कालीगण्डकी नदीमा झोलुङगे पुल बनेपछि उहाँ डुङ्गा चलाउने पेशाबाट बिस्थापित हुनुभयो ।

दैलातुङ गाउँ कालीगण्डकी नदी किनारमा अवस्थित छ । यहाँका बोटेको मुख्य पेशा नै डुंगा तार्ने थियो । दैलातुङदेखि पाल्पाको बगनासकाली, तानसेन तथा स्याङ्जाको कालीगण्डकी र गुल्मीसम्मका मान्छेहरू कालीनदी तरेर आउने जाने गर्थे । बोटे समुदायकै अगुवाको रुपमा रहनुभएका गजवीरको डुङ्गा वारीपारी गराएर मान्छे तार्ने मात्रै हैन व्यवस्था परिवर्तन गर्ने आन्दोलनमा पनि महत्वपूर्ण भूमिका छ । पञ्चायतकालमा जनतापक्षबाट अगुवाई, २०४७ मा बहुदलको आन्दोलन र २०६२/०६३ को जनआन्दोलनमा पनि गजवीर सक्रियतापूर्वक लाग्नुभएको थियो । “धेरै व्यवस्था बदलियो तर अवस्था फेरिएन ।” गजवीरले भन्नुभयो । उहाँका ७ भाई छोरा र ५ छोरी छन् । सबै जनाको बिहेबारी भयो र सबै आ–आफ्नै कर्ममा छन् ।

गजवीरले पढ्नका लागि विद्यालय जाने अवसर त पाउनुभएन तर गाउँमा बालबालिकालाई पढाउनुपर्छ भन्ने चेतना अहिले पनि बाड्दै हिड्नुहुन्छ । यद्यपी यहाँका बालबालिकाहरुलाई माध्यमिक तहको शिक्षा लिनका लागि झण्डै देढ घण्टाको उकालो निस्कनुपर्ने अवस्था छ । माध्यमिक विद्यालय टाढा भएकै कारण बोटे बालबालिकाहरुले आधारभुत तहको कक्षा सकिएपछि कक्षा छोड्ने दर बढी छ । अन्य जातिको तुलनामा बोटे जातिको जन्मदेखि मृत्युसंस्कार धेरै पृथक छ । यी सबै संस्कारहरुबारे बारेमा गजवीर अनुभवी हुनुहुन्छ । संस्कार संस्कृतिबारे अलमल भएमा दैलातुङका मात्रै नभएर दर्पुक र अन्य गाउँका बोटेहरुले पनि गजवीरसँग सल्लाह लिने गर्छन् ।

बगनासकालीमा बोटे जातिको अवस्था
बगनासकाली गाउँपालिकाको वडा नं. ७ स्थित खानीगाउँको दैलातुङ र वडा नं. ६ स्थित यम्घाको दर्पुकमा बस्छन् सीमान्तकृत बोटे समुदाय । यी दुवै गाउँ कालीगण्डकीको किनारमै छन् । दैलातुङमा बोटे समुदायका १७ घर छन् । त्यस्तै दर्पुकमा ८० घर बोटे समुदाय छन् । अहिले दैलातुङमा बोटे समुदायको जनसंख्या १२० छ भने दर्पुकमा यो समुदायको जनसंख्या ३ सय ५० छ । हुन त यी दुवै गाउँमा ब्राह्मण, मगर समुदायको पनि बसोबास छ तर बोटे समुदायको रहनसहन र सांस्कृतिक पहिचान भने बेग्लै छ । यहाँमात्रै हैन, पाल्पाको तानसेन नगरपालिकाको बौघागुम्हा, रामपुर नगरपालिकाको रामपुर र दर्छा तथा रम्भा गाउँपालिकाको हुँगीमा पनि बोटे समुदायको बसोबास छ । यी सबै बस्ती कालीगण्डकी किनारमै पर्छन् ।

३ वर्ष अघि जनता आवास कार्यक्रम अन्तरगत गजवीर सहित केही बोटेहरुको २ कोठे घर बनाइएको छ । जनता आवासबाट निर्मित २ कोठे टिनको छानोयुक्त घरमा गजवीर आफ्नी पत्नीको साथमा बस्दै आउनुभएको छ । अन्य समुदायका घरमा टिनको छानो लगाइएको छ भने बोटेहरूका धेरैजसो घर टिनको छानो लगाइएपनि टिनको छाप्रोयुक्त छन् । वैदेशिक रोजगारीका अलावा पुरुषहरू सिकर्मी÷डकर्मी काम गर्ने, वल्लोपल्लो घरमा ज्याला मजदूरीमा काम गर्न जाने गर्छन् भने महिलाहरू छिमेकीका घरको कामधन्दासँगै उनीहरूका खेतबारीको काम पनि गर्छन् । यहाँका बोटे समुदायसँग उनीहरूलाई गरिखान पुग्ने जमिन छैन । त्यसैले उनीहरूले आफ्नो उत्पादनले नपुगेको समयावधिभर किनेर खानुपर्ने अवस्था छ ।

अझै अवसर मिले डुंगा तार्छु–गजवीर
उमेरले ८५ पुग्दा बुढ्यौलीले गजवीरको शरीर कुप्री भइसकेको छ । कुप्री शरीर लठ्ठीको साहाराले उहाँ हिड्डुल गर्नुहुन्छ । करिव २० वर्ष अघि पर्यटकहरुलाई कालीगण्डकीमा डुंगा तार्न जाने क्रममा लडेर ढुंगाको कापमा परेपछि उहाँको ढाडमा समस्या भएको थियोे । उपचार पनि गर्नुभयो पछि उहाँको ढाडमा सुधार भएन कुप्री नै भइरह्यो । गजवीरले भन्नुभयो–“ अझै पनि वातावरण मिल्यो भने डुंगा तार्न सक्छु ।”
इन्सेक अनलाइनको सहयोगमा

कृष्ण जन्माष्टमीमा जाने हैन त रम्भादेवी ? जान्नैपर्ने रम्भादेवीको किंवदन्ती पनि जानी राखौं

जिल्लाकै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको रम्भादेवी मन्दिर भक्तजन तथा दर्शनार्थीको लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । कृष्ण जन्माष्टमीको दिन यहाँ बिशेष मेला लाग्ने गर्छ । यस वर्ष रम्भादेवी साँस्कृतिक महोत्सवको समेत आयोजना गरिएको छ ।

रम्भादेवीको मन्दिर गई चोखो मनले भाकल गरे रम्भादेवीले मनोकांक्षा पुरा गर्ने जनविश्वासले गर्दा दिनहुँ भक्तजनहरुको घुईंचो लाग्ने गर्दछ । जिल्लाकै धार्मिक केन्द्रको रुपमा रहेको रम्भादेवी मन्दिर र आसपासका क्षेत्र धार्मिक हिसाबले मात्र नभई साँस्कृतिक, सामुदायिक वन विकास, पर्यटन विकास तथा जैविक विविधताको दृष्टिले समेत महत्वपूर्ण रहेको छ ।

जिल्ला सदरमुकाम तानसेन बजारबाट करिव ३१ किलोमिटर पूर्वमा रम्भा गाउँपालिकाको ताहुँ बजार नजिकै रम्भादेवी मन्दिर अवस्थित छ । सिद्धार्थ राजमार्गमा पर्ने आर्यभञ्ज्याङ्ग देखि करिब १४ किलोमिटरको दुरीमा यो मन्दिर रहेको छ । गाउँपालिकाको नाम समेत रम्भादेवीको नामबाट नामाकरण गरिएको छ ।

ताहुँ बजार देखि करिब १ किलोमिटर उत्तर तर्फ हिंडेपछि रम्भादेवी वन क्षेत्रमा पुग्न सकिन्छ । रम्भादेवी वनको अधिकांश भाग उत्तरी ढलान फर्केको छ भने केही भाग दक्षिणी मोहडा फर्केको छ । यस वनमा ६० प्रजाति भन्दा धेरै वनस्पति तथा सयौं थरीका वन्यजन्तु रहेको जिल्ला वन कार्यालयले जनाएको छ । संरक्षित वनस्पति बेत बाँस यसै वनमा पाईन्छ । उत्तर तर्फ रहेको रमणीय माछापुच्छे्र, धौलागिरी, अन्नपूर्ण हिम श्रंखला देख्न सकिने रम्भादेवी वनको बिचमा रम्भादेवीको मन्दिर रहेकोछ ।

धार्मिक किम्बदन्ती अनुसार भगवान राम र सीता घुम्दै आउँदा यस क्षेत्रमा आईपुगेको र रमा(सीता) लाई पानीको प्यास लाग्दा रामले वाण हानी पानी उत्पन्न भएकोले रमापानी भनिएको र पछि अपभ्रशं भई रमापानीको सट्टा रम्भापानी भएको कथन छ ।

रम्भादेवी मन्दिर नजिकका क्षेत्र समेत धार्मिक र ऐतिहासिक हिसाबले महत्वपूर्ण मानिन्छ । यस क्षेत्र देखि केही दुरीमा बाकुमगढी तथा रिमिघा लेक पर्दछ । रिमीघा लेक पर्यटकीय दृष्टिले महत्वपूर्ण त छँदै छ यो लेक ऋषिमुनीहरुको पवित्र तपोभूमिको रुपमा समेत रहेको विश्वास गरिन्छ । रम्भादेवी क्षेत्रबाट नजिकै रहेको बाकुमगढीमा नेपाल एकीकरणको क्रममा युद्ध भएको थियो । यहाँ गोर्खाली फौज र पाल्पाली सेनवंशीय राजाहरु बिच लडाई चलेको थियो । मन्दिरको प्रवेश क्षेत्रमा नाचन डाँडा रहेको छ । नाचन डाँडा मगर समुदायको मारुनी नाच नाच्ने थलोको रुपमा चिनिन्छ । यहाँ हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मेला लाग्ने गर्दछ । समुद्र सतह देखि करिब ४३०० फिट उचाईंमा रहेको नाचन डाँडा सम्म सडक पु¥याइएको छ । नाचन डाँडामा रम्भादेवी पर्यटन विकास प्रतिष्ठानको सहयोगमा रम्भादेवी मन्दिर प्रवेश द्वार निर्माण गरिएको छ । प्रवेश द्वार देखि करिब ८ सय मिटर को दुरीमा मन्दिर रहेको छ । प्रवेश द्वार देखि मन्दिर सम्मको ८ सय मिटर लम्बाई रहेको बाटो डेढ मिटर चौडाईमा ढुङ्गाले छापेर बनाईएको छ ।

रम्भादेवी मन्दिरमा सर्वप्रथम वि.सं १९५८ मा मुर्ति चढाएको अभिलेख छ । वि.सं. १९९९ मा पाल्पाका तत्कालिन कमाण्डर इन चिफ रुद्र शमशेर द्वारा मन्दिरमा देवीको मुकुट र गहना चढाईएको थियो । हाल यस मन्दिरमा करिब ४२ वर्ष अगाडी बनाएको मुर्तिलाई दैनिक पुजा गरिन्छ । अहिलेको मुर्ति वि.सं २०३३ साल भाद्र १ गते कृष्ण जयन्तीका दिन टक्सार निवासी मुर्तिकार रामलाल शाक्यले चढाएका हुन् ।

रम्भादेवी मन्दिर बारे विभिन्न रोचक तथ्यहरु समेत खुल्दै आएका छन् । मन्दिरको मुर्ति २ पटक चोरी भएको पुजारी टीकाराम बस्याल बताउछन् । पछिल्लो पटक वि.सं २०२८ मा मन्दिरबाट नभई घरैबाट मुर्ति चोरी भएको वहाँ बताउनु हुन्छ । बस्तीबाट टाढा जंगलको बिचमा मन्दिर रहेको र मन्दिरबाट मुर्ति चोरी भएको विभिन्न संचार माध्यममा आएपनि मुर्ति घरबाट चोरी भएको हो । यहाँका पुजारीले मन्दिरको मुर्ति जोगाउन दिनहुँ घरैबाट डोकोमा बोकेर ल्याउने लैजाने गर्छन ।

घरबाट दैनिक डेढ घण्टा हिंडेर डोकोमा मुर्ति तथा शिला ल्याई मन्दिरमा राख्ने र बेलुकीपख घर लैजाने गरिएको छ
मन्दिरमा हाँस, बोका, राँगा, कुभिण्डो, भेडा, परेवाको बलि दिईन्छ । रम्भा गाउँपालिकाको झोकेदी र पिपलडाँडाका करिब २५० घरकुरियाका भक्तजनले हरेका वर्ष १ पाथी धान उठाई पुजारीलाई दिने गर्छन् ।

यस मन्दिरमा चोखोमनले चिताएको कुरा रम्भादेवीले पु¥याउने हुँदा पञ्चबली पुजा गर्नेहरुको निकै भिड लाग्ने गर्दछ । मगर समुदायबाट धेरै मात्रामा पञ्चबली चढाउने गर्दछन् । आजकल मन्दिरमा विवाह तथा व्रतबन्ध समेत गर्नेहरु आउन थालेका छन् । पुजा गर्न स्याङ्गजा, नवलपरासी, गुल्मी, रुपन्देही, कास्की, काठमाण्डौ लगायतका स्थानबाट समेत आउने गर्दछन ।

 

मोहनकन्यामा स्काउटको दिक्षान्त कार्यक्रम सम्पन्न

गोपालप्रसाद बस्याल । पाल्पा
मोहन कन्या स्काउट प्रथम दिक्षान्त कार्यक्रमसम्पन्न भएको छ । मोहन कन्या माध्यमिक विद्यालय, तानसेन पाल्पाका २८ जना छाज्ञाहरूलाई स्काउट मास्टर आशा आले मगरले करिव पाँच महिनाको प्रशिक्षण प्रदान गरे पश्चात् दिक्षान्त गरिएको हो ।
स्काउटर प्रशंसा बगाले, आराध्या राउत र शुष्मा सुवेदीले झण्डोत्तलन गरेपश्चात् सुरू भएको कार्यक्रममास्काउट मास्टर आशा आले मगरले स्काउट ब्याच र अतिथि स्काउट मास्टर निर्मला ठकुरीले स्काउट स्कार्फ प्रदान गर्नुभएको थियो भने अतिथिहरूले सम्मान गर्नुभएको थियो । कार्यक्रममा सकाउट ट्रुप लिडर दिया गाहाको नेतृत्वमा कवाज र पि टि प्रदर्शन गरिएको थियो ।

कायैक्रमका अतिथि वक्ताहरूले स्काउटका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन, सहयोगी भावना, राष्ट्र प्रेम लगायत भ्रातृत्व, विश्वबन्धुत्व, विनम्रमताजस्ता गुणहरूको विकास गर्न सहयोग पुग्ने बताएका छन् । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विधान श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिका वडा नं. ४ का वडाध्यक्ष हेमन्त शाक्य र विद्यालयका प्रधानाध्यापक दिपक ज्ञवालीसमेतले छात्राहरूलाई बधाइ ज्ञापन गरेका थिए । कार्यक्रम स्काउट मास्टर आशा आले मगरले सञ्चालन गर्नुभएको थियो ।

 

विद्यालय भवन बनाउन ओके बाजेद्धारा ३ लाख सहयोग

पाल्पा । जापानी समाजसेवी काजुमासा काकीमी ओके बाजेले तानसेन नगरपालिका वडा न १२ मा रहेको श्री सार्वजनिक प्राथमिक विद्यालयलाई सहयोग गर्नुभएको छ ।

एक कार्यक्रमका विचमा ओकेबाजेले विद्यालयको भवन निमार्ण गर्नको लागि नगद तीन लाख रुपैया प्रदान गर्नुभएको हो । साथै उहाँले विद्यार्थीहरुलाई कापी कलम र खेलकुदका सामग्री समेत प्रदान गर्नुभयो । यसै गरी ओकेबाजेले विद्यार्थीहरुले तयार पारेको भित्ते पत्रिकाको तेश्रो अंकको समेत विमोचन गर्नुभयो ।

सो अवसरमा विद्यालय ब्यवस्थापन समितिमा अध्यक्ष रामचन्द्र नेपाललाई चेक हस्तान्तरण गर्दै ओकेबाजेले पाल्पाका विभिन्न विद्यालयहरुलाई सहयोग गरेको उल्लेख गर्नुभयो । उहाँले आउदा दिनहरुमा पनि सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।

सो अवसरमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपालले ओके बाजेको सहयोगले विद्यालयको भवन निमार्ण गर्न निकै सहयोग पुग्ने बताउदै समयमै भवन निमार्ण सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भयो ।

यसैगरी वडा नंं १२ का वडा अध्यक्ष मेजर सि केसीले उहाँको सहयोगमा वडाको तर्फबाट सक्दो सहयोग गरि विद्यालयको भवन निमार्ण गरिने वताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामकुमारी थापाले ओके बाजेले यस अगाडि पनि विद्यालयलाई सहयोग गरेको चर्चा गर्दै अहिले पनि भवन निमार्ण गर्नको लागि सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।

सो अवसरमा समाजसेवीहरु झमानसि दर्लामी,मान बहादुर राना, भिमबहादुर रास्कोटी, शिव नेपाल,गोपाल सि आले, मान कुमारी राना, लगायतले आफ्ना भनाई राख्नु भएको थियो । विद्यालय भवन निमार्ण गर्नको लागि मानबहादुर रानाको अध्यक्षतामा समिति गठन गरिएको छ ।