spot_img
Home Blog Page 13

जंकफुडको नाममा कुहिएका खानेकुरा बिक्री

मिलन विश्वकर्मा । पाल्पा
कुहिएका जंकफुड पाल्पाका विभिन्न गाउँमा रहेका बालबालिकालाई बिक्री गरेको फेला परेको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले गरेको अनुगमनका क्रममा यस्तो फेला परेको हो । जिल्लाको सदरमुकाम तानसेनमा कोठा लिएर सामग्री राखेको पाइएको छ ।  फोहोर कोठामा लथालिङ्ग तरिकाले सामग्री राखिएका छन् । प्रायः सामग्री कुहिएको अवस्थामा छन्। म्याद गुज्रेका र उत्पादन मिति समेत उल्लेख नभएका बालबालिकाले खाने सामग्री भेटिएका जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत रमा श्रेष्ठले बताउनुभयो ।

केही व्यापारीले ती कुहिएका र म्याद गुज्रेका जंकफुड गाउँमा पुगेर बिक्री गर्दै आएका रहेछन् । उपभोक्ताले गुनासो गर्न थालेपछि आकस्मिक अनुगमन गरिएको हो । बालबालिकाले अत्याधिक मन पराउने इमिलीमा ढुसी लागेको फेला परेको छ । प्याकेटमा भएका कतिपय इमिली, चना र धमका खजाना कुहिएका अवस्थामा भेटिए ।

अनुगमनका क्रममा म्याद गुज्रेका तथा सडेगलेका अवस्थामा फ्लेबर चकलेट, बर्फी, डेरी मिल्क, ट्याङ्ग, जिरा, मेथी, अजिना, करेन्ट मसला, पिरोरोल चकलेट लगायतका सामग्री फेला परेका थिए ।

यसरी व्यापार गर्ने व्यापारी पाल्पा बाहिरका छन् । घर रौतहट बताउने ती व्यापारीले पसल सञ्चालनका लागि घरेलु कार्यालय र तानसेन नगरपालिकामा दर्ता गरेका छन् । तर सामाग्री राखिएका पसल कहिल्यै खुल्दैनन् । उनीहरूले बोरामा पोका पारेर मोटरसाइकलमा बोकेर गाउँमा बिक्री गर्न लैजाने गर्छन् ।

तानसेन नगरपालिका ४ मा रहेका शिव मंगल जनरल स्टोर्स, फूल कुमारी सप्लायर्सले मापदण्ड विपरित सामग्री बिक्री गरेका भेटिएका हुन् । शिव मंगल जनरल स्टोर्सका कमोद कुमार यादवले रिब्दीकोट गाउँपालिका १ ख्याहास्थित एक विद्यालयमा पुगेर ती सामग्री बिक्री गरेको श्रेष्ठले बताउनुभयो । ती व्यापारीले विद्यालयका बालबालिकालाई बढी प्राथमिकता दिएर बिक्री गर्दा रहेछन् । गाउँघरमा सामग्रीको गुणस्तरीयता र अवस्थाबारे ध्यान दिदैंनन् । बालबालिकालाई त झन यसबारे केही थाहा हुँदैन् । ती व्यापारीले बजारभन्दा पनि बढी गाउँ केन्द्रित व्यापार गर्दै आएको पाइएको उहाँले बताउनुभयो ।
फूलकुमारी सप्लायर्सका दिलिप शाहले पनि तानसेन बजार र गाउँमा सामग्री बिक्री गर्दै आएको स्वीकार गरेका छन् ।
रुपन्देही जिल्लामा दर्ता गरेका कम्पनीले पाल्पामा ढुंग्रा उत्पादन गर्दै आएको छ। पाल्पामा दर्ता गरेर उत्पादन गर्न एक हप्ताको अल्टिमेटम दिइएको छ ।

पसल दर्ताको प्रकृतिअनुसार उनीहरूले जुन ठाउँमा पसल खोलेका छन् । त्यहीँ नै बिक्री गर्नुपर्छ । पोका पारेर अन्यत्र कुनै ठाउँमा लगेर बिक्री गर्न नपाउने घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख श्यामकुमार पौडेलले बताउनुभयो ।
आवश्यक प्रक्रिया पूरा गरेर पसल सञ्चालन गर्न भनिएको छ । अर्को पटकको अनुगमनमा पनि यही अवस्था फेला परे कानुन बमोजिम कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत रमा श्रेष्ठले बताउनुभयो । अनुगमनका क्रममा करिब ५० हजार बराबरको मापदण्ड विपरितका सामग्री जफत भएका छन् । प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेसहितको सरोकारवाला निकायको रोहबरमा ती सामग्री जलाएर नष्ट गरिएको छ ।

यो समाचार पाल्पा समाचारपत्र साप्ताहिकमा प्रकाशित छ ।

निवर्तमान सहायक क्याम्पस प्रमुखको बिदाई तथा सम्मान

पाल्पा । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा एम. एड. तेस्रो सत्रका विद्यार्थीहरूले निवर्तमान सहायक क्याम्पस प्रमुख रामनाथ न्यौपानेलाई फेरि भेटौँला कार्यक्रमको आयोजना गरी सम्मान गरेका छन् ।

सो अवसरमा नवनियुक्त सहायक क्याम्पस प्रमुख सन्तोष खनाललाई स्वागत गरिएको थियोे । कार्यक्रममा प्रमुख अतिथिका रूपमा क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईलाई आमन्त्रण गरिएको थियोे । विशेष अतिथिका रूपमा निवर्तमान सहायक क्याम्पस प्रमुख रामनाथ न्यौपाने र वर्तमान सहायक क्याम्पस प्रमुख सन्तोष खनाललाई आमन्त्रण गरिएको थियोे ।

प्रमुख अतिथि टंकप्रसाद भट्टराईले कार्यक्रमको महत्त्वलाई संकेत गरी जुन कार्यक्रम गर्नुभएको छ यो चानचुने कार्यक्रम होइन’’ भन्नुभयो । कार्यक्रम गुणात्मक रहेको सन्दर्भ पनि उहाँले प्रकाश पार्नुभयो । रामनाथ सरलाई सम्मान र सन्तोष सरलाई स्वागत गर्नु अनुकरणीय रहेको कुरा पनि उहाँले जोड्नुभयो । रामनाथ सरले प्रशासनमा रहेर क्याम्पसको विकासमा अनुकरणीय भूमिका खेलेको भूमिकाको उहाँले प्रशंसासमेत गर्नुभयो ।

डा. रामनाथ न्यौपानेले एम. एड. तेस्रो सत्रका विद्यार्थीले फेरि भेटौँला कार्यक्रमको आयोजना गरी आफूलाई सम्मानसमेत गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आफू जहाँ रहे पनि क्याम्पस र विद्यार्थीप्रति सधैँ सकारात्मक रहने कुरा बताउनुभयो ।

सहायक क्याम्पस प्रमुख सन्तोष खनालले यस्तो अनुकरणीय कार्यक्रमको आयोजना गरेकोमा विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । विद्यार्थीहरूका के कस्ता समस्या छन् तिनको समाधान गर्न हामी संवेदनशील छौँ भन्नुभयो ।
कार्यक्रम एम. एड. तेस्रो सत्रकी छात्रा संगीता सुवेदीको अध्यक्षतामा भएको हो । कार्यक्रममा अतिथि लगायत सहभागीहरूलाई स्वागत छात्रा धनमाया थापाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सोही सत्रकी सीता रास्कोटीले गर्नुभएको थियो ।
–टंक पन्थको सहयोगमा

बालकलाई फलामे सिक्रीले बाँधेर राखिंदै

पाल्पा । उचित उपचारको अभावमा बालकलाई फलामे सिक्रीले बाँधेर राख्ने गरिएको छ । रिब्दीकोट गाउँपालिका–१, ख्याहा जोगिथुम घर भई हाल तानसेन नगरपालिका–१४, अर्गलीमा भाडाको घरमा बस्दै आउनुभएका १२ वर्षीय शिव कुमाल उपचार अभावमा फलामे सिक्रीमा बाँधिएर दैनिकी गुजार्दै हुनुहुन्छ । छोरा जान्ने सुन्ने भएदेखि नै यसै गरी बाँधेर राख्न थालिएको आमा पार्वती कुमालले बताउनुभयो ।

तीन,चार वर्षको हुदादेखि नै त्यत्तिकै छोड्दा भागेर टाढा टाढा जाने र दुःख दिने गरेकोले यसरी बाँधेर राख्न थालिएको उहाँले बताउनु भयो । शिवले बोल्न सक्नुहुन्न । आमाले बोलाउँदा सुन्ने र भन्न खोजेको कुरा भने बुझ्ने गरेको पार्वतीले बताउनुभयो । एक्लै हुँदा दौडिने भाग्ने र पानीमा जाने तथा घरबाट निस्केपछि खोजेर ल्याउन नसकिने भएकोले यसरी बाँधेर राख्नुपरेको उहाँले बताउनुभयो ।

पार्वतीका दुई भाई छोरा हुन् । शिव कान्छो छोरा । “ठूलो छोरामा कुनै समस्या छैन । विद्यालय जाने गर्नुहुन्छ । पति रोजगारीका लागि भारत हुनुहुन्छ । पतिको कमाइबाट खान बस्न ठिक्क छ । आर्थिक अभावकै कारण बुबाको राम्रोसँग उपचार गर्न सकिएन”, पार्वतीले भन्नुभयो । सबैजनाले बाबुको उपचार राम्रोसँग गराउने हो भने निको हुन्छ भन्नुहुन्छ तर आर्थिक अभावकै कारण उपचार गराउन लैजान सकिएको छैन । उहाँले भन्नुभयो । आफू घरमा छदा खुल्लै राख्ने र निगरानी गरे पनि आफू दिनभर काममा जादा वा अन्यत्र बास बस्ने गरी जादा पनि यसै गरी बाँधेर राख्ने गरिएको उहाँले बताउनुभयो ।

उपचारको नाममा तीन वर्षअघि केही दिन बुटवल लगेर उपचार गराए पनि आर्थिक अभावका कारण धेरै समय उपचार गराउन नसकेको र फेरी फर्काएर ल्याएपछि उस्तै दैनिकी सुरू भएको पार्वतीले बताउनुभयो । शिवले कखरा समेत सिक्ने बुझ्नै मौका पाउनुभएन । आफ्नै सहोदर दाई र छिमेकी समान उमेर समूहका बालबालिका विद्यालय जाँदा शिव भने सिक्रीमै बाँधिएर बस्न बाध्य हुनुहुन्छ ।

सिक्रीले बाधिएका बालक शिवलाई २०७५ जेठ १३ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले आफ्नो कार्यकक्षमै ल्याई उहाँको चालचलन बानीव्यहोरा अवलोकन गर्दै भरपर्दो उपचारको लागि सरकारी तवरबाटै पहल गर्ने बताउनुभएको थियो । बालकको घरमै पुगेर उहाँको अवस्थाबारे जानकारी लिनुभएका पाल्पा सिविआरका कार्यक्रम प्रमुख कृष्ण गहतराजले बालकको अवस्था बारे जानकारी लिँदा ७० प्रतिशत ठिक हुने बताउनुभएको थियो ।

उहाँको पहलमा रिब्दीकोट गाउँपालिका, महिला तथा बालबालिका कार्यालय, पाल्पा सिविआरलगायतका संघसंस्थाहरूले बालककै घरमा पुगेर उहाँको थप उपचारका लागि २०७५ असार १७ गते युनाइटेड मिसन अस्पताल लगेका थिए । महिला तथा बालबालिका कार्यालयले शिवलाई असार १७ गते नै ख वर्गको निलो अपांगता कार्डलाई परिवर्तन गरी क वर्गको रातो अपांगता कार्ड दिएको थियो । शिवले मासिक रूपमा २ हजार रुपियाँ पाउँदै आउनुभएको छ ।

महेन्द्र बोधिमा परियत्ति शिक्षा लागू हुने

झविन्द्र देवकोटा
पाल्पा, तपाईँका बालबच्चाले घरमा धेरै मोबाइल हेर्ने गरेका छन ? तपार्इँलाई नै अटेरी गर्ने भइसकेका छन् कि ? जंकफुड खान पाए खुसी, घरमा बनेका खानेकुरा दिँदा रिसाउने गरेका त छ्रैनन् ? पढाइमा भन्दा अनावश्यक समय अन्यत्रै खर्च गर्ने गरेका छन ? यी र यस्तै यावत कुराले बालबालिकाबाट हैरानी खेप्नु परेको छ भने चिन्ता नलिनुस् । बालबालिकालाई अब यी कुराहरूबाट छुटकारा दिइ नैतिकवान र अनुशासित बनाउन एमबिएस स्कुल(महेन्द्र बोधि मावि)ले परियत्ति शिक्षा लागू गर्ने भएको छ ।
विद्यालयले तानसेनको महाचैत्य विहार तानसेन ३ टक्सारटोलसँग सम्झौता गरी विद्यालयमा निःशुल्क परियत्ति कक्षा सञ्चालन गर्ने भएको हो । सम्झौतामा शुरुको चरणमा बुक फ्रि फ्राइडेको दिन परीक्षणको रुपमा कक्षा ५,६,७ का विद्यार्थीहरूलाई १ घण्टा परियत्ति कक्षा सञ्चालन गरिने, पहिलो बर्ष परियत्तिको कक्षा १ को मात्रै कक्षा सञ्चालन गर्ने,  शिक्षाको प्रभावकारीता मूल्याङ्कन तीन सदस्यीय समितिले गर्ने, कार्यक्रम श्रावणको दोस्रो हप्ता पछि लागू गर्ने लगायतका विषयमा सम्झौता भएको विद्यालयका प्रधानाध्यापक केशव के.सी.ले बताउनु भयो । अहिलेको बालबालिकामा नैतिक शिक्षाको कमी देखिएकाले विद्यालयले परियत्ति शिक्षा लागू गर्न लागेको उहाँले बताउनु भयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशीला श्रेष्ठले परियत्ति शिक्षाले विद्यालयलाई समुदायसँग जोड्ने र बालबालिकाको नैतिक शिक्षाको पक्ष बलियो हुने बताउनु भयो । उहाँले परियत्ति शिक्षाको कक्षा १, २ र ३ कक्षाको पाठ्यक्रमलाई अतिरिक्त शिक्षाको रुपमा लागू गर्ने र आफूले पनि यो शिक्षा लिने बताउनु भयो ।
महाचैत्य विहार परियत्ति केन्द्रकी का.वा. केन्द्राध्यक्ष सौन्दर्यवती शाक्यले विहारले निःशुल्क रुपमा बालबालिकालाई शिक्षा दिने र विहारका अन्य कार्यक्रममा विद्यालयलाई पनि जोड्ने बताउनु भयो । परियत्ति शिक्षा लागू गर्ने विषयमा चलाइएको छलफल कार्यक्रममा महाचैत्य विहार ज्ञानमाला सभाका अध्यक्ष मनिप्रसाद बज्राचार्य, ज्ञानमाला संघका अध्यक्ष एवम् आनन्द विहार परियत्ति संरक्षक उत्पलकुमार बज्राचार्य, परियत्ति शिक्षाका केन्द्रीय उपाध्यक्ष केशवलाल बज्राचार्य, विद्यालयका पूर्व प्रधानाध्यापक देवेन्द्रमान शाक्य, ज्ञानमाला सभाका सचिव विरेन्द्र बज्राचार्य लगायतले परियत्ति शिक्षाको महत्व बताउँदै बुद्धशिक्षा अन्तर्गत बालबालिकालाई नैतिकवान र चरित्रवान बनाउने सबैभन्दा सस्तो शिक्षाको रुपमा परियत्ति शिक्षा रहेको बताउनु भयो । उहाँहले बालबालिकालाई विहारले सञ्चालन गर्ने योग तथा ध्यानका विभिन्न कार्यक्रममा समेत समावेश गर्ने प्रतिवद्धता जनाउनु भयो । उपस्थित परियत्ति शिक्षाका वक्ताहरूले विद्यालय स्तरमा लुम्बिनी प्रदेशमै पहिलो पटक महेन्द्र बोधिमा परियत्ति शिक्षा लागू हुने कुरामा खुसी व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक झविन्द्र देवकोटाले गर्नु भएको थियो ।
स्मरण रहोस् महेन्द्र बोधि नामको “बोधि” अर्थात ज्ञान र यसको विद्यालयसँगको इतिहास खोजी गर्ने क्रममा परियति शिक्षा भेटिएको हो । २०३१ सालमा तानसेनमा रहेको महाबोधि विद्यालय र महेन्द्र रात्री हाइस्कुल मिलाई  महेन्द्र बोधि मावि बनाइएको थियो । महाबोधिको इतिहासलाई संरक्षण गर्न विद्यालयमा बौद्ध शिक्षा अन्र्तगत परियत्ति शिक्षा लागू गरिने भएको हो । नैतिक शिक्षा भएकाले यो शिक्षा जुनसुकै उमेर समूहले पनि लिन सकिने कार्यक्रममा बताइएको थियो ।

सार्वजनिक शिक्षा सुधार गर्न न्यूनतम मापदण्डको तर्जुमा

विष्णुप्रसाद घिमिरे । पाल्पा
सार्वजनिक शिक्षा सुदृढिकरणका लागि पाल्पा जिल्लाका सरोकारवालाहरुले सार्बजनिक शिक्षाको न्यूनतम मापदण्डहरु सहितको नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पाल्पाका दशवटै स्थानीय तहका प्रमुखहरु र शिक्षा शाखा प्रमुखहरु सहभागी भएको अन्र्तक्रियामा जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला स्थित शिक्षा संग सम्बन्धित शिक्षक संघ संगठनहरु समेतको सहभागीतामा सार्बजनिक शिक्षाको न्यूनतम मापदण्डहरु पुरा गर्ने गरी ४ वटा मुख्य बुँदाहरु तर्जुमा गरी नीति तथा कार्यक्रमको रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता गरिएको छ ।

प्रतिवद्धतामा सुरक्षित पुर्वाधारको मापदण्ड, बालमैत्री क्षेत्रमा हुनु पर्ने मापदण्ड, परीक्षा र सिकाइँ उपलब्धिको क्षेत्रमा हुनु पर्ने मापदण्ड र बिद्यालय सुशासनको क्षेत्रमा हुनु पर्ने मापदण्डहरु तय गरी कार्यान्वयन गरिने प्रतिवद्धता जाहेर भएको हो ।
जिल्ला समन्वय समिति पाल्पा र शिक्षा विकास तथा समन्वय इकाई पाल्पाको आयोजनामा भएको कार्यक्रम एक्सन एड नेपालको सहयोगमा सामाजिक श्रोत विकास केन्द्र नेपाल पाल्पाको सहकार्यमा आयोजना भएको हो ।

संस्थाले गत वर्ष आयोजना गरेको अन्र्तक्रियात्मक कार्यक्रममा १९ बुँदे पाल्पा घोषणापत्र जारी भएको थियो । उक्त घोषणापत्र अनुसार यो एक वर्षको अवधीमा जिल्लाका दश पालिकाले अधिंकाश बुँदाहरु कार्यान्वयनको चरणमा रहेको समिक्षा गरेका छन् । दश वर्षे शिक्षा योजना निर्माण, सार्वजनिक विद्यालयमै वालवालिका पढाउने अभियान, सुरक्षित बालमैत्री पूर्वाधार निर्माण, हेरालु शिक्षक व्यवस्थापन, अभिभावक विहिन वालवालिकाको अपनत्व, साप्ताहिक कार्यक्रममा बुक फ्रि फ्राइडे, दिवा खाजालाई पोसिलो खाजा कार्यक्रम, विद्यालय नर्श कार्यक्रम, छोरी शिक्षा कार्यक्रम जस्ता महत्वपूर्ण कार्यहरु संचालन भईरहेको समिक्षामा उल्लेख गरेका छन् ।

शिक्षा क्षेत्रलाई सबै पालिकाबाट चासोको रुपमा हेरिएको र सबै पालिकाहरुबाट शैक्षिक उन्नयनका लागि नवीनतम् अभ्यासहरु प्रारम्भ गरिएको छ । यद्यपी पालिकाहरुबाट विनियोजित बजेट भने घट्दोरुपमा रहेको समिक्षा गरिएको छ । त्यसैगरी एस.सि.ई.नतिजा सन्तोषजनक नभएको, शिक्षा शाखामा आवश्यक दक्ष तथा थप मानवस्रोतको अभाव रहेको, बालकेन्द्रित शिक्षण विधि लागु नभएको, शैक्षिक सुधारको मापन परीक्षालाई मात्र बनाईएको, स्थानीय पाठ्यक्रम धमाधम बनेको तर त्यसको उपलब्धी समिक्षा नभएको जस्ता विषयहरुमा सम्बन्धित सरोकारवाला निकायहरुले समेत चासो र सुझाव राखेका थिए ।

एक वर्षको अवधिमा जिल्लाका स्थानीय तहहरुले गरेका नविनतम कार्यहरु पनि सार्वजनिक गरिएको थियो । जिल्लाको निस्दी गाउँपालिकाले वडागत तथा पालिकास्तरीय शैक्षिक अन्तरक्रिया गर्ने गरेको, रामपुर नगरपालिकाले साप्ताहिक कार्यक्रममै बुक फ्रि फ्राइडे गरेको छ । त्यसैगरी पूर्वखोला गाउँपालिकाले विद्यार्थी संख्या थोरै भएका विद्यालय मर्ज, रम्भा गाउँपालिकाले कक्षा ९ सम्म गुणस्तरीय खाजा कार्यक्रम, माथागढी गाउँपालिकाले अतिरिक्त कक्षा संचालन गरेको, तिनाउ गाउँपालिकाले विग स्कूलको अवधारणाको प्रारम्भ गरेको उल्लेख गरिएको छ । त्यसैगरी बगनासकाली गाउँपालिकाले हेरालु शिक्षक र अभिभावक विहिन वालवालिकाको अपनत्व लिएको, तानसेन नगरपालिकाले छोरी शिक्षा कार्यक्रम संचालन गरेको, रिब्दीकोट गाउँपालिकाले स्रोत विज्ञको नियुक्ति र अनुगमन गर्ने गरेकोछ । त्यस्तै रैनादेवीछहरा गाउँपालिकाले विद्यालय नर्स स्वास्थ्य सेवा कार्यक्रम संचालन गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका मन्त्री खेम बहादुर सारुले शिक्षालाई वजेटमा सबै क्षेत्रबाट उपेक्षा भएको बताउनुभयो । केन्द्र, प्रदेश र स्थानीय सरकारको प्राथमिकतामा शिक्षा क्षेत्र रहनुपर्ने भन्दै मन्त्री सारुले शिक्षा देशको मेरुदण्ड भएको उल्लेख गर्नुभयो । कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रिय महासचिव तथा कालीगण्डकी गाउँपालिका स्याङ्गजाका अध्यक्ष खिम बहादुर थापाले आफ्नो पालिकामा भएका नविनतम कार्यहरुको अनुभव आदानप्रदान गर्दै, सार्वजनिक शिक्षा सुधार गर्ने पाल्पाको सिकोलाई अन्य जिल्लाहरुमा पनि प्रस्तुत गर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले भौतिक पूर्वाधारलाई मात्रै विकास मान्ने मानसिकता हटाएर शिक्षा र सामाजिक क्षेत्रको विकासमा लाग्न स्थानीय सरकारहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रममा तानसेन नगरपालिकाका मेयर शन्तोषलाल श्रेष्ठले नगरपालिकाले शिक्षा क्षेत्रलाई महत्व दिएको बताउदै छोरी शिक्षा, अतिरिक्त क्रियाकलापहरु लगायतका कामहरु गरेको बताउनुभयो । मेयर श्रेष्ठले वजेट अभाव भएको बताउदै, आन्तरिक आम्दानी बढाउन नसक्दा पर्याप्त लगानी गर्न नसकिएको जानकारी दिनुभयो । रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापाले रामपुर नगरपालिकामा साप्ताहिक कार्यक्रममा बुक फ्रि फ्राईडे कार्यक्रम संचालन गरिएको बताउदै, नगरले शिक्षालाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइ पाल्पाका प्रमुख महेन्द्र सुवेदीले पाल्पा जिल्लाको शिक्षाको अवस्था चित्रण गर्ने प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सुवेदीले जन्मदर घटेसंगै जिल्लामा विद्यार्थीको संख्या घटिरहेको र शैक्षिक गुणस्तर समेत खस्कदै गएको उल्लेख गर्नुभयो । नेपाल राष्ट्रिय शिक्षक महासंघ पाल्पाका अध्यक्ष कृष्ण थापाले शिक्षकलाई तलव दिनुनै शिक्षामा लगानी हो भन्ने संकुचित मनोभावना त्याग्नुपर्ने बताउनुभयो । छिछि र दुरदुर गरिएको विद्यालयलाई नमुना बनाएको स्मरण गर्दै थापाले शिक्षकको मनोवल उचो गर्नेगरी सरोकारले कार्यतर्जुमा गर्न सुझाव दिनुभयो । सामाजिक श्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक चोपलाल गिरीले शिक्षा क्षेत्र उकास्न स्थानीय सरकारहरुले बहस र पैरवी थालेको स्मरण गर्दै वजेट र व्यवस्थापन दुवै क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पाल्पा जिल्लाका १० वटै स्थानीय तह र कालीगण्डकी गाउँपालिका स्याङ्जाका शिक्षा शाखा प्रमुखहरुले एक वर्षको अवधिमा आफ्नो पालिकामा शिक्षा क्षेत्रमा भएका क्रियाकलाप, बजेट, शिक्षाको अवस्था, नविनतम कार्यहरू, आगामी योजना र चुनौतीको विषयमा प्रस्तुतीकरण गरेका थिए ।

ब्लड बैंक नहुँदा बिरामीलाई सास्ती, रेड्क्रसले अभियान चलाउँदै

पाल्पा । रक्तसञ्चार केन्द्र (ब्लड बैंक) नहुदा रगतको खोजीमा बिरामीहरु भौतारिनुपर्ने अवस्था रहेको छ ।

जिल्लामा सरकारी अस्पताल पाल्पा अस्पताल सहित २ वटा ठूला नीजि अस्पताल पनि रहेका छन् । पाल्पा अस्पताल, युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा अपरेशन लगायतका कार्यमा रगत माग हुने गर्दछ । तर ब्लड बैंक नहुदा बिरामी र आफन्त रगतको खोजीमा धेरै तिर चाहार्नुपर्ने अवस्था छ ।

रक्तदाता संघ पाल्पाका अध्यक्ष भगवान भण्डारीले रगतको खोजीमा धेरै बिरामी र आफन्तले दुःख पाउदै आएको बताउनुभयो । अस्पतालले अपरेशनका बेला रगत चाहिन्छ भने पुग्छ, खोज्न धेरै समस्या छ । उहाँले भन्नुभयो । रगतकै लागि आफूलाई दैनिक ५ जनासम्मले सम्पर्क गर्ने र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित रक्तदाताहरुसँग समन्वय गरी रगत उपलब्ध गराउन सहजीकरण गर्दै आएको बताउनुभयो । बिरामीलाई आफू कसरी निको हुने भन्दा पनि रगत कसरी खोज्ने भन्ने पिरलोले सताउने गरेको उहाँले बताउनुभयो ।

रक्तदान अभियन्ता कमल ज्ञवालीले रगत चाहियो भनेर फोन आउने गरेपनि रगत दिने मान्छेको समस्या रहेको बताउनुभयो । युवाहरू विदेश जाने क्रम बढेको छ, बालबालिका र बृद्धबृद्धाले रगत दिन सक्ने अवस्था छैन । यसले पनि समस्या बढाएको छ । उहाँले भन्नुभयो । जिल्लामा बिभिन्न सामाजिक संघ संस्थाहरुले गर्ने रक्तदान कार्यक्रम मार्फत संकलन गरिएको रगत पनि ब्लड बैंकको अभावमा लामो समय टिकाउन समस्या हुने गरेको छ । यसरी संकलित रगत ३० देखि ३५ दिनभित्र पुर्नप्रयोग नभएमा स्वतः फाल्नुपर्ने हुन्छ ।

जिल्ला स्थित रेड्क्रस सोसाइटीले ब्लड बैंक संचालनका लागि आवश्यक तयारी अगाडि बढाएपनि बजेटको भने अभाव छ । भवन निर्माण, उपकरण खरिद र संचालन सहयोगार्थ अक्षयकोष निर्माणको प्रस्तावित बजेट तयार पारिएको रेड्क्रस सोसाइटी पाल्पाका सभापति बावुराम कार्कीले बताउनुभयो ।

रेड्क्रसले आर्थिक संकलन अभियानलाई अगाडि बढाएको छ । यसका लागि २५ हजार सहयोग गर्ने ब्यक्तिलाई रेड्क्रसको बिशिष्ट सदस्यता प्रदान गर्ने र १ लाख रुपैयाँ बढी सहयोग गर्ने व्यक्तिलाई एसएसकर सदस्यता प्रदान गरिने उहाँले बताउनुभयो । व्लड बैंक संचालनका लागि ५० लाख रुपैयाँको जग्गा खरिद, १ करोड ५० लाखको भवन, ७९ लाखको उकपरण खरिद र ३ करोड रुपैयाँको अक्षयकोष निर्माणको प्रस्तावित बजेट तयार गरिएको कार्कीले बताउनुभयो ।

नेपाल सरकार संघीय बजेट अन्तरगत भवन निर्माणका लागि शहरी विकास मन्त्रालयबाट १ करोड ५३ लाख स्वास्थ्य मन्त्रालयबाट ५० हजार बिनियोजन भएको बताइएपनि आधिकारिक रुपमा जानकारी प्राप्त नभएको उहाँले बताउनुभयो ।

 

 

शहरी क्षेत्रका बालबालिकामा कुपोषण समस्या बढी

पाल्पा। सदरमुकाम समेत रहेको तानसेन नगरपालिकाभित्रै कुपोषणका बालबालिका बढी भेटिएका छन् । पाल्पाका २ नगरपालिका र ८ वटा गाउँपालिकामध्ये तानसेन नगरपालिका र रामपुर नगरपालिका भित्र बढी कुपोषणका बालबालिका फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो ।

स्वास्थ्य कार्यालय पाल्पाले १० स्थानीय तहका ४ हजार ८ सय ३१ जना बालबालिकाको कुपोषणको अवस्था परीक्षण गरेको थियो । रामपुर नगरपालिकामा १३ जना र तानसेन नगरपालिकामा ७ जना बालबालिकामा कडा खालको कुपोषण देखिएको डा. गिरीले बताउनुभयो । बगनासकाली गाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा २ जना, तिनाउँ र रम्भा गाउँपालिकामा १÷१ जना गरी जिल्लाभर जम्मा २८ जना बालबालिकामा कडा खालको कुपोषण देखिएको उहाँले बताउनुभयो ।

यसरी कडा कुपोषण देखिएका बालबालिकाहरुलाई थप उपचारका लागि पुनस्थापना केन्द्र पठाइएको उहाँले बताउनुभयो । सामान्य खालका कुपोषण देखिएका बालबालिकाका अभिभावकहरुलाई समेत परामर्श प्रदान गरिएको डा. गिरीले बताउनुभयो । ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रका बालबालिकामा बढी कुपोषणको अवस्था देखिएको डा. गिरीले बताउनुभयो । दैनिक पत्रु खानाका कारण यसरी कुपोषणको समसय देखिएको उहाले बताउनुभयो ।

पछिल्लो समय तयारी खाना, जस्तै चाउचाउ, बिस्कुट, चाउमिन, मम, लेज कुरकुरे जस्ता खानेकुरा बालबालिकालाई खुवाउदा कुपोषणको समस्या बढेको उहाँले बताउनुभयो । कुपोषणको सुधारका लागि परम्परागत र घरमै बनाएका खानेकुरा, हरियो सागपात, फलफूल बालबालिकालाई खुवाउनुपर्ने डा. गिरीले बताउनुभयो ।

 

 

सुशिल बस्यालको एक घर एक लालीगुँरास अभियान

पाल्पा । बगनासकाली गाउँपालिका–८ का  युवा सुशिल बस्याले एक घर एक लालीगुँरास अभियान संचालन गर्दै आउनुभएको छ ।
उहाँले तेह्रथुम, ताप्लेजुङ लगायतका जिल्लाहरुबाट लालीगुँरासका विरुवा ल्याएर जिल्लाका बिभिन्न स्थानीय तहहरुमा यो अभियान चलाउदै आउनुभएको छ । पाल्पाको बगनासकाली, तानसेन लगायतका स्थानहरुमा गरी १ सय बढी बिरुवाहरू रोपिसकिएको बस्यालले बताउनुभयो ।
बगनासकाली गाउपालिका अन्तरगतका सार्वजनिक स्थलहरू, विद्यालय, स्वास्थ्य संस्थाका प्रांगण, बगनासडाँडा, खानीगाउ, देउराली, तानसेनको भगवती मन्दिर, श्रीनगर पारिलेक, नेपाल सेनाको व्यारेक क्षेत्र लगायतका स्थानहरुमा विरुवा लगाइएको र अन्य स्थानहरुमा पनि बिरुवा लगाउने अभियान जारी रहेको बस्यालले बताउनुभयो ।
लालीगुँरास औषधीको लागि जडिवुटीको रुपमा समेत प्रयोग हुने भएकोले एक घर एक लाँलीगुरास रोप्दा राम्रो हुन्छ भन्ने लागेर अभियान चलाएको उहाँले बताउनुभयो । बस्यालले चलाएको अभियानमा धेरैले साथ र सहयोग गरेका छन् । विरुवा लगाउन चाहनेहरू धेरैभएपनि सबैलाई पु¥याउन नसकिएको उहाँको भनाई छ ।
लालीगुँरास नेपालको राष्ट्रिय फुल हो । लालीगुरास अग्लो र भिरालो स्थानमा हुनेभएकोले यी क्षेत्रहरुको भूवनोट र हावापानी सुहाउदो छ ।
राष्ट्रिय भावनाबाट ओतप्रोत भएका बस्यालले सानैदेखी राष्ट्रियताले भरिएका गीत, कविता, लेख, रचनाहरु लेख्ने र गाउँने गर्दै आउनुभएको छ । आफ्नो उपनाम पनि राष्ट्रप्रेमी भएकोले राष्ट्रका लागि केही त गरौं भन्ने भावनाले यो अभियान चलाएको बस्यालले बताउनुभयो ।

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री हस्तान्तरण

पाल्पा । तानसेन नगरपालिकाले किसाहरूलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर,मौरी घार र डिजिटल तराजु प्रदान गरेको छ । नगरपालिकाले तानसेनका वडा कार्यालयबाट सिफारिस भएर आए बमोजिमका किसानहरू ४७ जनालाई हाते ट्याक्टर,४ सय ८५ जनालाई मौरी घार र मौरीजन्य सामाग्री तथा ५८ जना किसानहरूलाई डिजिटल तराजु प्रदान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख सरोज तिमिल्सिनाले बताउनुभयो ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले परम्परागत कृषि प्रणालीलाई यान्त्रिकरण र व्यवसायीकरण गर्न नगरपालिकाले कृषि यन्त्र तथा मौरी सम्बन्धी सामाग्री वितरण गरेको बताउनुभयो । तानसेन नगरपालिकाको सम्भावना कृषि र पर्यटनबाट नै सम्भव रहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

उप–प्रमुख प्रतिक्षा सिंजालीले हाते ट्याक्टर मार्फत कृषि कर्ममा लागेका किसानलाई आधुनिक कृषि प्रणालीसँग जोड्न सजिलो हुने,खेत तथा पाखोबारीमा पनि सजिलै प्रयोग गर्न सकिने भएकाले किसानलाई हाते ट्याक्टर दिइएको बताउनुभयो । आर्थिक समृद्धिका लागि कृषि नै पहिलो रोजाई भएकाले नगरपालिकाले कृषि र वन पैदावारको औद्योगीकरण गरी रोजगारीमा ध्यान दिन आवश्यक रहेको र सोही अनुरूप नगर सरकारले आफ्ना गतिविधि अगाडि बढाएको उहाँले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले कृषि यन्त्र खरिद बापत हाते ट्याक्टर,चाप कटर र डिजिटल तराजु कुल ४० लाख बजेटबाट र मौरीजन्य सामाग्री कुल २० लाख बजेटबाट वितरण गरेको बताउनुभयो । कार्यक्रममा वडाध्यक्षहरू सुनिल कुमार बस्याल, हेमन्तराज शाक्य,सागरमान महर्जन लगायतको सहभागिता थियो ।

बाँदरले मान्छे लखेट्न थाले

मान्छेले बाँदर लखेट्नुको साटो बाँदरले मान्छे लखेट्न थालेका छन् । बाँदरकै कारण गाउँ शुन्य हुने अवस्था बनेको छ । किसानले दुःख गरी बाली लगाउँछन् तर अन्तमा बाँदर सखाप बनाउँछ । गाउामा बसेर खेती किसानी गर्ने र लगाएको बाली राम्रोसँग भित्र्याउन नपाएपछि गाउँ बस्नुको के अर्थ भन्नेहरु बढेका छन् । यसकारण पनि बसाइसराइ बढ्दो छ । हुन त यो विषयमा हामीले पटक पटक लेखिरहेका छौं । सम्पादकीय मात्रै हैन समाचार पनि बनाएका छौं । अन्य संचारमाध्यमले पनि किसानका कुरा आउनासाथ बाँदर समस्या जोडेकै छन् । किसानले हैरानी खेपिरहेका छन् । कतिपय किसानको त यतिबेला बसाई नै बारीमा हुने गरेको छ । अहिले मकै बाली पाक्ने तयारीमा छ । बाँदरका हुल बारीमा पस्ने र एकैछिनमा मकैबारी सखाप बनाउने डरले किसानहरुले बिहानदेखि साँझको समय बारीमै बिताउने गरेका छन् । यस्ता दृश्यले किसानलाई उत्साही बनाउनुको साटो उल्टै निराश बनाएको छ ।

बाँदर समस्या पाल्पाका लागि सबैभन्दा ठूलो समस्या हो । यहाँका सबै पालिकाहरुमा बाँदरको आतंक नै छ । बाँदरकै कारण हैरान भएर धेरै परिवारले खेती किसानी नै गर्न छाडेका छन् । बाँदरकै कारण खेतबारी बाँझो रहने अवस्था बनेको छ । स्थानीय तह निर्वाचनका बेला नेताहरुले सबैभन्दा बढी उठाएको बिषय नै बाँदर समस्याको समाधान हो । जव चुनाव जिते त्यसपछि बाँदर समस्या बिर्से । आफूहरू सदरमुकाम बस्ने, कार्यालय आउने जाने, कहिलेकाहि गाउँ जाँदा जनताको दुखेसो सुने जस्तो गर्ने तर समस्या समाधानका लागि केही पनि पहल नगर्ने परम्परा कायमै छ ।

हुन त यो विषयमा नीतिगत रुपमा नै समस्या समाधानको खोजी हुनु आवश्यक छ । यहा“बाट निर्वाचित प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यहरुले पनि बाँदर समस्या समाधानका विषयमा संसदमा गतिलो गरी कुरा उठान गर्नुपर्छ । किसान हैरान भइसकेका छन् । हुने खानेहरुका लागि त खासै समस्या नहोला तर बाँदर आंतककै कारण गरिवहरुले खेती गरेर खान पाउने अवस्था समेत बाँकी रहेन । यसकारण पनि यस विषयमा अलि सम्वेदनशील हुनु आवश्यक छ । बाँदर मात्रै हैन राते, दुम्सी लगायत जंगली जनावरहरुले किसानलाई हैरान बनाएका छन् । अव यो समस्या समाधानका लागि सबै पक्ष लाग्नुपर्छ । नत्र वर्षेनी समस्या हुने, लेख्ने बोल्ने तर समाधान नहुने परम्परा कायमै रहन्छ ।

पाल्पा समाचारपत्र वर्ष १४ अंक ४ को सम्पादकीय