spot_img
Home Blog Page 12

बगनासकालीको पहिचानः बगनासे साँचो सार्वजनिक तथा वितरण

पाल्पा । बगनासकाली गाउँपालिकाको पहिचानको रुपमा रहेको बगनासे साँचो सार्वजनिक तथा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

केही वर्ष अघिसम्म पाल्पा र आसपासका जिल्लामा निकै प्रचलनमा रहेको बगनासे साँचो (चावी) उद्योगहरु उचित बजारीकरणको अभावमा बन्द हुने अवस्थामा पुगेपछि बगनासकाली गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१मा दलित समन्वय समितिका लागि बिनियोजित रु २ लाखबाट साँचो उत्पादन गरी बितरण गरिएको हो ।

बगनासकाली गाउँपालिका–९ चापपानीको बगनासका गाउँलेहरुकै लगानी र क्रियाशीलतामा २०१२ देखि देखि निरन्तर निर्माण हुँदै आएको बगनासे साचो २०५० सालसम्म पाल्पा सहित स्याङजा, गुल्मी, अर्घाखाची, नवलपरासी, कास्की लगायतका जिल्लाहरुमा निकै लोकप्रिय रहेको थियो । बजारमा सस्तो र छुट्क्याइलो किसिमका साँचाहरु आएपछि बगनासे साचो ओझेलमा परेको थियो । यो सांचो क्यू लक पानाको भएको हुनाले यसलाई पाल्पाली क्युलक समेत भनेर पनि चिनिन्छ ।

स्थानीय उद्यमी खुम बहादुर बिश्वकर्माले उक्त साँचोहरु निर्माण गर्नुभएको हो । प्रारम्भिक रुपमा प्रति साँचो ८ सय ५० रुपैयाँका दरले २ सय २२ वटा साँचो निर्माण गरिएको दलित समन्वय समितिका संयोजक तेजप्रसाद रसाइलीले बताउनुभयो । फलाम रातो हुने गरि आगोमा वा आरनमा तताईन्छ कुनै सहयोगी औजारको माध्यमबाट समातेर निश्चित आकार बनाउने गरि पातलो बनाईन्छ र चापीको आकार बनाई आवश्यक साम्रागी मिलाई चापी निमार्ण गरिन्छ । साँचोको माथिल्लो भागको डण्डी रहेको र जुन डण्डी एक साइड खुल्ने र अर्को साइड घुमाउन मिल्ने डण्डी रहेको छ । डण्डीलाई प्वाल भित्र राखेर साँचोको तल्लो भागमा चावीले खोल्न र बन्द गर्न सकिने उहाँले बताउनुभयो ।साँचो बिग्रिएपनि पुनः प्रयोगमा ल्याउन सकिने र चावी हराए पनि फेरी बनाउन सकिने यसको विशेषता हो । अहिले बजारमा पाइने साचोहरु भन्दा यो साचो कैयौ गुणा बलियो हुने उहाँले बताउनुभयो ।

राणाकालिन समय देखि पाल्पाको बगनासमा उत्पादन गरिएको साँचोको प्रयोगमा आएको नेपालकै सबैभन्दा पुराना पेशा र व्यवसाय रुपमा संचालन हुदै आएको यस स्थानमा राणाकालीन समय देखिनै सक्षम कालीगढको बाहुल्य र परम्परागत सीपको विकास भएको प्रमाणहरुसमेत भेटिने गरेको जानकारहरुको भनाई छ ।

साँचो सार्वजनिक गर्दै बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले यो साँचो पुरानो पुस्तादेखि बन्दै आएको र बगनासकालीको पहिचानको रुपमा रहेको बताउनुभयो । उहाँले यसरी निर्माण गरिएको साँचोहरु बगनासकाली गाउँपालिका भित्रका कार्यालयहरुमा प्रयोग गर्ने गरी तयारी गरिएको बताउनुभयो । अध्यक्ष चिदीले साँचो निर्माण र बजारीकरणले स्थानीय उद्यमशीलताको विकासका साथै बगनासकालीको पहिचान बढाउन पनि मद्दत गर्ने बताउनुभयो । दलित समन्वय समिति बगनासकाली सचिव गणेश नेपालीले यो साँचो बगनासकालीलाई देश बिदेशमा चिनाउने राम्रो माध्यम हुने बताउनुभयो । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन बिश्वकर्माले बगनासकाली गाउँपालिकाले साँचो ब्यवसायिक निर्माण र बजारीकरणमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

दलित समन्वय समितिका प्रतिनिधि सीता. विकले बगनासे साँचोको पहिलेदेखि नै चर्चा भएपनि गाउँपालिकाले औपचारिक कार्यक्रमसहित प्रचारप्रसार गर्नुले पालिकाको पहिचान बढ्ने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीको प्रमुख आतिथ्यता र समितिका संयोजक तेजप्रसाद रसाइलीको अध्यक्षता र सहायक महिला विकास निरीक्षक धन कुमारी रानाको सञ्चालनमा कार्यक्रम चलेको थियो । कार्यक्रममा जनप्रतिनिधि, सञ्चारकर्मी, विभिन्न विषयगत शाखाप्रमुखलाई मायाको चिनोस्वरुप बगनासे साँचो प्रदान गरिएको थियो ।

पाल्पामा निःशुल्क र अनिवार्य शिक्षा कार्यान्वयन हुन सकेन

पाल्पा । पाल्पामा सामुदायिक बिद्यालयले पनि धमाधम शुल्क उठाउने गरेका छन् । नेपालको संविधानले निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गरेपनि पाल्पामा भने यसको कार्यान्वयन हुन सकेको छैन । शिक्षकका नेता कार्यरत बिद्यालयहरुले समेत बिद्यार्थीहरुबाट चर्को शुल्क उठाउने गरेको गुनासो छ ।

नेपालको संविधानले आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको मौलिक हक उल्लेख भएपनि व्यवहारत कार्यान्वयन हुन सकेको छैन ।

नेपालको संविधान २०७२ को मौलिक हक, धारा ३१ मा भएको उक्त व्यवस्था पाल्पामा कार्यान्वयन नभएको देखिदैन । यस धारामा “प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ ।” उल्लेख छ । तर सामुदायिक विद्यालयहरुले पनि विभिन्न बाहनामा शुल्क उठाउँदै आएका छन् ।

पाल्पामा २ नगरपालिका र ८ गाउँपालिका गरी १० ओटा स्थानीय तह छन् । कुनै पनि स्थानीय तहमा निःशुल्क शिक्षा कार्यान्वय भएको छैन । निस्दी गाउँपालिका र बगनासकाली गाउँपालिकाले कुनै पनि बाहनामा शुल्क नउठाउन बिद्यालयहरुलाई निर्देशन दिएको बताएका छन् । तर पूर्ण कार्यान्वयन हुन सकेको छैन ।

निस्दी गाउँपालिकाका शिक्षा शाखा प्रमुख नर बहादुर थापाले निःशुल्क शिक्षाको कार्यान्वयनको लागि धेरै पहल भएपनि पूर्ण रुपमा कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । उहाँले अहिले पनि परीक्षा शुल्क, बार्षिकोत्सव शुल्क लगायतका शीर्षकहरुमा बिद्यालयहरुले शुल्क उठाउने गरेकोमा विद्यालयहरुलाई कुनै पनि बाहनामा शुल्क नउठाउन निर्देशन दिइएको बताउनुभयो । जिल्लामा सामुदायिक विद्यालयको संख्या ४ सय ४० रहेको छ । त्यस्तै बालविकास केन्द्र ४ सय ओटा, संस्थागत विद्यालय ३८ ओटा, सामुदायिक सिकाई केन्द्र ३० वटा र क्याम्पस १७ ओटा रहेका छन् । सामुदायिक बिद्यालयहरुले मासिक २ सय देखि १ हजार रुपैयाँसम्म शुल्क उठाउने गरेका छन् । धेरै विद्यालयहरुले अंग्रेजी माध्यमबाट पढाउने र त्यसका लागि अतिरिक्त शिक्षक राख्नुपर्ने भएकोले शिक्षक व्यवस्थापनका लागि शुल्क उठाउनुपरेको जनाएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले कुनै पनि स्थानीय तहमा पूर्ण रुपमा निःशुल्क शिक्षाको अधिकार कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले पाल्पाको मात्रै नभएर यो देशभरीकै समस्या भएको बताउनुभयो ।

शिक्षा क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सामाजिक स्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक चोपलाल गिरीले अनिवार्य र निःशुल्क कार्यान्वयनमा स्थानीय सरकारको भूमिका प्रभावकारी नभएको बताउनुभयो । सामुदायिक बिद्यालयहरुले विभिन्न बाहनामा मासिक शुल्क उठाउँने गरेका छन्, शुल्क तिर्नुपर्दा गरिव तथा विपन्न परिवारका बालबालिकाले बिद्यालय छोड्न बाध्य हुनुपरेको उहाँले बताउनुभयो ।

विद्यालयहरुमा विद्यालय संख्याको आधारमा शिक्षक दरबन्दी रहने, विद्यार्थी संख्या घट्दै जाँदा शिक्षक संख्या घट्ने तर कक्षा संख्या र पिरियड नघट्ने हुदा विद्यालयहरुले थप शिक्षक व्यवस्थापन गर्नकै लागि अभिभावकहरूसँग विद्यालयले शुल्क उठाउने गरेका छन् । उहाँले भन्नुभयो । सामुदायिक विद्यालयहरुले मासिक १ सयदेखि १ हजार रुपैयाँसम्म शुल्क उठाउने गरेको पाइएको उहाँले बताउनुभयो ।

 

बगनासकाली गिटी बालुवा प्रकरणमा अदालतद्वारा वडाध्यक्षको रिट खारेज

पाल्पा । गत वर्षदेखि नै चर्चामा रहेको बगानसकाली गाउँपालिकाको गिटी बालुवा प्रकरणमा वडाध्यक्षले दिनुभएको रिट उच्च अदालत तुल्सीपुर बुटवल इजलाशले खारेज गर्ने फैसला गरेको छ ।

नदीजन्य पदार्थको अवैध चोरी निकासी गरेको आरोपमा बगनासकाली गाउँपालिका–६ यम्घाका वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीलाई २ लाख १० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय २०८० असार ३० गते गाउँकार्यपालिकाबाट भएको थियो । उक्त निर्णय चित्त नबुझेपछि वडाध्यक्ष अधिकारीले बगनासकाली गाउँ कार्यापलिका चिर्तुङधारा र बगनासकाली गाउँपालिकाको राजश्व समितिलाई प्रतिवादी बनाई २०८० फागुन २ गते उच्च अदालत तुल्सीपुर, बुटवल इजलाशमा रिट दर्ता गराउनुभएको थियो ।

बुधवार न्यायाधीश सुभास पौडेल र स्वीकृति पराजुलीको संयुक्त इजलाशले उक्त रिट खारेज गरेको उच्च अदालत तुल्सीपुर बुटवल इजलाशका सूचना अधिकारी कृष्ण पौडेलले बताउनुभयो । उक्त रिट खारेज भएसँगै गाउँपालिकाको निर्णय सदर भएको उहाँले बताउनुभयो ।

वडाध्यक्ष अधिकारीले यम्घा दर्पुकको मचेटाघाटबाट नदीजन्य पदार्थ चोरी निकासी गरेको ठहरसहित गाउँपालिकाले जरिवानाको निर्णय गरेको थियो । वडाध्यक्षले अवैध रुपमा ढुंगा, गिट्टी, बालुवा चोरी निकासी गरी ४२ ट्याक्टर नदीजन्य पदार्थ दर्पुक क्षेत्रको विभिन्न तीन स्थानमा राखेको पाइएको थियो । गाउँ कार्यपालिका बैठकले ४२ ट्याक्टरको प्रति ट्याक्टर रु ५ हजारका दरले जम्मा २ लाख १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । आर्थिक ऐन २०७९ को दफा नं. २५ अनुसार जरिवाना गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

दर्पुक बस्ती क्षेत्रको नाली तथा सडक स्तरोन्नतिको  योजनामा पनि अवैध नदीजन्य पदार्थ प्रयोग गरेको भन्दै पारिलेक कन्स्ट्रक्सनका सञ्चालक दामाेदर गैरेलाई १५ ट्याक्टरको प्रति ट्याक्टर ५ हजारका दरले जम्मा ७५ हजार जरिवाना गर्ने निर्णय पालिकाले गरेको थियो । सो रकम निर्माण व्यवसायी गैरेले निर्णय भएको केही दिनमै गाउँपालिकाको खातामा जम्मा गरिसक्नुभएको थियो ।

नदीजन्य पदार्थको चोरी निकासीको विषयमा २०८० वैशाख १८ गते गाउँपालिका अध्यक्ष चिदीको नेतृत्वमा स्थलगत अनुगमन भएको थियो । त्यस्तै बैशाख १९ गते जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, प्रहरी प्रमुख हेरम्ब शर्मा, अनुसन्धान कार्यालय पाल्पाका प्रमुख गोपाल पन्थी सहित सरोकारवालाहरुले स्थलगत अनुगमन गरेका थिए । प्रतिवेदनका आधारमा समन्वय समितिले वैशाख २० गते गाउँपालिकालाई अवैध कार्य तत्काल रोक्न र संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्यायर कारबाही गर्न पत्र लेखेर निर्देशन गरेको थयो ।

पाल्पा समाचारपत्रसँगको कुराकानीमा वडाध्यक्ष अधिकारीले उच्च अदालत तुल्सीपुर बुटवलले गरेको फैसलालाई सम्मान गर्दै आफू न्यायका लागि अदालतको माथिल्लो निकायमा जाने बताउनुभयो ।

कृष्ण जन्माष्टमीमा रम्भादेवीमा साँस्कृतिक महोत्सव हुने

पाल्पा । पाल्पाको धार्मिकस्थल रम्भादेवी मन्दीर नजिकै नाचनडाँडामा भदौ १० गते रम्भादेवी सांँस्कृतिक महोत्सवको तयारी गरिएको छ ।

कृष्ण जन्माष्टमीका दिन पहिले ठूलो मेला लाग्ने यो स्थानमा पछिल्लो समय जनसहभागीता घट्दै गएपछि यहाँको चहलपहल वृद्धि गर्न महोत्सव आयोजना गर्न लागिएको हो । सहयात्रा नेपालको आयोजना र रम्भा पर्यटन विकास प्रतिष्ठानको सहआयोजनामा हुन लागेको महोत्सवमा स्थानीय मौलिक कला संस्कृतिसँगै चर्चित तथा लोकप्रिय राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहने महोत्सवका संयोजक तथा बरिष्ठ कलाकार दुर्गा रायमाझीले जानकारी दिनुभयो ।

पाल्पाको रम्भा गाँउपालिका–५ ताँहुमा रहेको रम्भादेवी मन्दीर नजिकमा हुने महोत्सवका लागि रम्भा गाउँपालिकासँगै पाल्पाका सबै स्थानीय तह र जनप्रतिनिधिले सहयोग गर्ने प्रतिवद्धता जनाएको संयोजक रायमाझीले बताए । रम्भादेवीको आस्था राख्ने देश तथा विदेशमा रहेका सबैलाई महोत्सवमा सहभागी हुन वा योगदान पुर्याउन आग्रह गरिएको छ ।

यस क्षेत्रको आस्थाको केन्द्रको रुपमा रहेको रम्भादेवी मन्दीर रहेको ठाउँलाई रम्भा पानी पनि भन्ने गरिन्छ । त्रेता युगमा भगवान् राम र सीता मुक्तिनाथको यात्रा गर्ने क्रममा रामपुर हुँदै राम्दी जाँदा त्यही जङगलमा आइपुग्दा सीतालाई पानी प्यास लागेको र पानी खोज्दा कतै नभेटेपछि रामले वाणले हानेर पानी उत्पन्न गरेको हुनाले रामवाण पानी, रामवाण पानी भन्दा भन्दै रम्भापानी नाम रहन गएको किंवदन्ती छ ।

यहाँ पुग्न सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङदेखि १५ किलोमिटर दुरी तय गर्नुपर्छ । ताँहु बजारवाट २ किलोमिटर उत्तरमा रहेको नाचनडाँडा नजिकै रम्भादेवीको मन्दिर छ । रम्भादेवीको भाकल गरेमा मागेको वा चिताएको पुग्छ भन्ने जनविश्वासले भाकल गर्ने र भाकल पुरा भएपछि भाकल गरे अनुसार भेटी, फूलपाती, अक्षता, ध्वजा, लिंगा, रोट वा पञ्चवली दिने चलन रही आएको छ । तर पछिल्लो समय प्रचार प्रसारको कमिले यहाँ आउनेहरुको संख्या घट्दै गएको छ । रम्भादेवी मन्दिर र यहाँ लाग्ने मेलाको महत्व पुनःस्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

झण्डै एक दशकदेखि नै रम्भादेवी मन्दिरमा महोत्सव आयोजना गर्ने छलफल चलेपनि हुन सकेको थिएन । सबैको साथ, सहयोग र उत्साह बढेकाले महोत्सव फलदायी हुने संयोजक रायमाझीले बताउनुभयो । महोत्सवले विगतदेखि चल्दै आएको धार्मिक आस्था तथा कला संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न, कृष्णाष्टमीको महत्व र धार्मिक आस्था बृद्धि गर्न, रम्भादेवी मन्दिरको धार्मिक तथा पर्यटकीय दृष्टिले प्रचारप्रसार भई धार्मिक पर्यटकहरुको संख्या बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

सहयात्रा नेपाल नेपाली मौलिक लोककला, सँंस्कृति, गीत, संगीत आदिको विकास र प्रवद्र्धनका लागि स्थापित भएको हो । सांस्कृतिक नेपाल अभियान अन्तर्गत पाल्पालाई सांस्कृतिक पाल्पाको रुपमा चिनाउने गरी यस्तै अन्य मेला महोत्सव तथा विविध कार्यक्रमहरुको आयोजना गर्न लागेको संस्थाका अध्यक्ष रायमाझीले बताउनुभयो । कला, संस्कृति र संगीतका क्षेत्रमा लामो समयदेखि कृयाशील विज्ञ, अनुभवी र अभ्यासकर्ताहरुको सामूहिक पहलमा सहयात्रा नेपालको स्थापना भएको हो । संस्थाले विज्ञ र अनुभवीहरुको सम्मान तथा उहाँहरुको संरक्षकत्वमा नव स्रष्टाहरुलाई उत्प्रेरित गर्दै कला, संस्कृति र संगीतसँग सम्वन्धित नीतिगत वकालत, अध्ययन, अनुसन्धान, अभिलेखीकरण र प्रवर्धनात्मक कामहरु गर्ने उद्देश्य राखेको अध्यक्ष रायमाझीले बताउनुभयो ।

स्वः अनुजा शाहीको स्मृतिमा कोष स्थापना

पाल्पा । तानसेन नगरपालिकाका निवर्तमान मेयर एवम् नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष अशोककुमार शाहीले आफ्नी स्वर्गीय छोरी अनुजा शाहीको स्मृतिमा अनुजा शाही स्मृति कोष स्थापना गर्नुभएको छ । उहाँले अनुजाको जन्मदिन पारेर १० लाखको स्मृति कोष स्थापनाको कोष घोषणा गर्नुभएको हो ।

२०५० साल साउन २२ गते तानसेनमा जन्मिनुभएकी अनुजाको ३० बर्षको कलिलो उमेरमा २०८० साल फागुन १८ गते अमेरिकामा उपचारको क्रममा निधन भएको थियो । उहाँको कलिलै उमेरमा मृत्यु भएपनि अनुशासन लगनशिलता र सामाजिक क्षेत्रप्रति सद्भावलाई सधै जीवन्त राख्नको लागि उक्त कोषको स्थापना गरिएको उहाँले बताउनुभयो ।

हाललाई कोषमा १० लाख राखेको र प्रत्येक बर्ष कोषमा रकम बढाउँदै लैजाने र कोषबाट प्राप्त हुने अधिकांश रकम सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरुको पठन–पाठनमा खर्च गरिने शाहीले बताउनुभयो । केही रकम अनुजाले अध्ययन गरेको विद्यालय सेन्ट कपितानियो स्कुलमा अध्यनरत आर्थिक अवस्था कमजोर भएका छात्राहरुको पठन–पाठनमा खर्च गरिने उहाले बताउनुभयो ।

स्मृति कोष घोषणा कार्यक्रममा जिल्ला संमन्वय समितिका प्रमुख टंकनाथ खनाल, पूूर्व सांसद यादवबहादुर रायमाझी, त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. टंक पन्थ, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना र सहायक क्याम्पस प्रमुख सन्तोष खनाल लगायतले शाही परिवारकी अनुशासित छोरी अनुजाको कलिलो उमेरमा भएको निधनले स्तब्ध भएको बताउनुभयो ।

 

बगनासकाली स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता हुँदै

पाल्पा । बगनासकाली गाउँपालिका स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता संचालन हुने भएको छ ।
पदम राना कप क्लव स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएका छन् । समाजसेवी पदमबहादुर राना परिवारको आयोजनामा खोरबारी खेलमैदानमा यही साउन २४ गतेदेखि २६ गतेसम्म खेल संचालन हुने खेल संयोजक एवम् युवा नेता डेन्जिङ रायमाझीले बताउनुभयो ।

भलिबल खेलको विकास गर्नुका साथै खेलकुदमा आकर्षण गर्न, नयाँ प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन र थप प्रतिभाशाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले खेलको आयोजना गरिएको आयोजक राना परिवारका सदस्य डिला रानाले बताउनुभयो ।
पुरुष तर्फ प्रथम हुने समूहले ३० हजार रूपैयाँ द्वितिय हुनेले २० हजार रूपैयाँ, तृतीय हुनेले १५ हजार रूपैयाँ र सान्त्वना हुनेले ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक रायमाझीले बताउनुभयो । त्यस्तै महिला तर्फको खेलमा प्रथम हुनेले १५हजार रूपैया द्वितिय हुनेले १० हजार रूपैयाँ, तृतीय हुनेले ५ हजार रूपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उहाँले बताउनुभयो । पुरुष भलिबलमा दर्ता शुल्क ५ सय रुपैयाँ र महिलाका लागि दर्ता शुल्क नलाग्ने उहाँले बताउनुभयो ।

बगनासकाली गाउँपालिका २ पोखराथोक निवासी समाजसेवी रानाले जन्म भुमि नेपालमा सामाजिक कार्यमा निरन्तर लाग्नुभएको छ । उहाँले यस अघि बगनासकालीका विद्यालयहरूको शैक्षिक गुणस्तरीय वृद्धिका लागि अक्षयकोष एवम शैक्षिक सामाग्री,झोला वितरण,ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई लौरो वितरण समेत गर्नु भएको थियो । उहाँ बैदेशीक रोजगारीका शिलशिलामा युएईमा रहनुभएको छ ।

पाल्पामा डेंगी संक्रमितको संख्या १ सय ११ पुग्यो

पाल्पा । पाल्पामा स्वास्थ्य कार्यालयको आयोजना र स्थानीय तहहरूको समन्वयमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।

पानीका ड्रम, पानी जम्ने खाडल, पुराना टायर, फूलका गमला, पानी जम्मा हुने ठाउँमा लामखुट्टेले फुल पार्ने र ८ देखि १० दिनमै जीवन चक्र पूरा गर्ने भएकोले त्यस्ता ठाउँमा लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने, सरसफाई गर्ने काम महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मीको परिचालन गरी सञ्चालन गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीले बताउनुभयो ।

अहिले जिल्लाभरी लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालनमा रहेकोले अभियानमा सरिक हुन स्वास्थ्य कार्यालय पाल्पाले सवैमा आग्रह समेत गरेको छ । मंगलबारसम्म पाल्पामा डेंगु संक्रमीतको संख्या १११ पुगेको छ ।

स्थानीय तहहरूले आन्तरिक बजेटबाट व्यवस्थापन गरी विगतका वर्षमा पनि ‘खोज र नष्ट गर’ अयिभायन सञ्चालन गर्दै आएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

लुम्बिनीको स्वास्थ्य मन्त्री सारूको किशोरीहरुको स्वास्थ्य तथा पोषणमा पहिलो चासो

पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारूले किशोरीहरुको स्वास्थ्य तथा पोषण सुधारको निर्णय गर्नुभएको छ । उहाँले महिला, बालबालिका तथा किशोरीहरुको स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम संचालन कार्यविधि तयारीका लागी मस्यौदा समिति गठन गरी यथासिघ्र मस्यौदा पेश गर्ने गर्ने निर्णय जिम्मेवारी सम्हालेको पहिलो दिनमै गर्नुभयो ।
मन्त्री सारुले महिलाहरुको स्वास्थ्य राम्रो भए समग्र समाजकै स्वास्थ्य राम्रो हुने बताउनुभयो । उहाँले महिलाहरू आमा, दिदीबहिनी, श्रीमती, हजुरआमाको रुपमा परिवारको महत्वपुर्ण हिस्सा भएकोले उहाँहरुको पोषण महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रदेश सभा निर्वाचनमा पाल्पा क्षेत्र नं. १ (२) बाट निर्वाचित हुनुभएका सारूले हालै स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाउनुभयो । उहाँ ५ हजार बढी मतले प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । तत्कालीन जल्पा गाविसको माथिल्लो झेरुदीमा आमा खगीसरा सारु र बुवा जंगबहादुर सारुका ५ सन्तानमध्येका दोश्रो सन्तानका रुपमा २०३६ साल कात्र्तिक ५ गते उहाँको जन्म भएको हो । उहाँले लामो समय पाल्पाको शैक्षिक क्षेत्रमा योगदान पु¥याउनुभयो । शैक्षिक तथा राजनीतिक क्षेत्रमा सारुलाई शालीन, भद्र र स्वच्छ छविको नेताको रुपमा धेरैले चिन्छन् ।

सानै उमेरदेखि बहुमुखी प्रतिभाको रुपमा रहनुभएका सारू बाल क्लव, युवा क्लव हुँदै कलेज पढ्दाको समयमा अनेरास्ववियुमा संगठित हुनुभएको थियो । विद्यार्थी राजनीतिमा २०५४ सालमा लाग्नुभएका मन्त्री सारू नेकपा एमालेको गाउँ कमिटि हुँदै जिल्ला कमिटि सदस्य समेत बन्नुभयो । उहाँ सामाजिक संस्था लायन्स क्लवको नेतृत्वमा समेत रहनुभयो ।
उहाँले आधारभूत तहको शिक्षा गाउँमै हालको शम्भु माविबाट लिनुभयो । २०५२ सालमा जनता मावि तानसेनबाट एसएलसी उतीर्ण गर्नुभयो । त्रिभुवन बुहमुखी क्याम्पसबाट अग्रेजी र राजनीतिशास्त्रमा स्नातक पूरा गर्नुभयो । उहाँले तानसेन बहुमुखी क्याम्पसबाट अंग्रेजी विषयमा स्नातकोत्तर सम्मको अध्ययन पुरा गर्नुभएको छ । तानसेनकै चर्चित बेथल बोर्डिङ स्कुललाई आजको अवस्थासम्म ल्याउन उहाँको अतुलनीय योगदान रहेको छ ।

तानसेनको खानेपानी प्रणाली सुधारका लागि माओवादी केन्द्रको ज्ञापनपत्र

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र तानसेन नगर कमिटिले विभिन्न माग सहित तानसेन खानेपानी उपभोक्ता समितिलाई ज्ञापनपत्र बुझाएको छ ।
खानेपानी समिति मार्फत सस्तो खानेपानी वितरण, पूर्व निर्धारित समयमा पानी वितरण, वितरण प्रणालीमा सुधार होस् भन्ने उद्देश्यले उक्त ज्ञापनपत्र बुझाएको पार्टीले जनाएको छ ।

नेपाल सरकारले विद्यतु महसुलमा दिएको अनुदानको आधारमा खानेपानी महसुलमा कटौटी गर्न ज्ञापनपत्र मार्फत माग गरिएको छ । त्यस्तै खानेपानी महसुल दर निर्धारणमा प्रगतिशील र वैधानिक महसुल पद्धति लागू गर्नुपर्ने, मासिक ५ हजार लिटर भन्दा कम पानी खपत गर्ने विपन्न परिवारलाई निःशुल्क खानेपानी उपलब्ध गराउन ज्ञापनपत्र मार्फत माग गरिएको छ ।

त्यस्तै खानेपानी वितरणको समय तालिका सम्बन्धित उपभोक्तालाई १ दिनपुर्व नै जानकारी गराउनुपर्ने, खानेपानी वितरणमा एकरुपता कायम गरिनुपर्ने, फोन र भनसुनको आधारमा पानी वितरण गर्ने प्रचलनको अन्त्यको माग समेत गरिएको छ ।

त्यस्तै खानेपानी उपभोक्ता समितिमा कार्यरत कर्मचारीको तलव भत्ता समयसापेक्ष बृद्धि गर्न र लामो समयदेखि कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्न समेत माग गरिएको छ । त्यस्तै उपभोक्ता समितिले गरेका कामहरु र खर्च विवरणका सम्वन्धमा बार्षिक रुपमा समक्षिा तथा सार्वजनिक सुनुवाईको थालनी गर्न समेत माग गरिएको छ । ज्ञापनपत्रमा पार्टीका नगर कमिटि सहइन्चार्ज केशव पौडेल र सचिव नवराज बस्यालले हस्ताक्षर गर्नुभएको छ ।

उक्त ज्ञापनपत्र बुझ्दै खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले वर्तमान कार्यसमिति आएपश्चात तानसेनको खानेपानी सुधारका लागि धेरै पहल भएको बताउनुभयो । उहाँले ज्ञापनपत्रमा उल्लेखित सुझाव तथा मागहरुलाई सम्बोधन गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

पाल्पामा डेंगीका बिरामीको संख्या बढ्दो

पाल्पा । सचेतना र उचित  सावधानीको अभावमा पाल्पामा डेंगी संक्रमण बढ्दै गएको छ । यो साता मात्रै जिल्लामा १४ जना डेंगीका बिरामी थपिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीले बताउनुभयो ।  यो वर्ष जिल्लामा कुल संक्रमित संख्या ८९ पुगेको छ । जसमा जिल्लाभित्रका ५० जना र अरु जिल्लाबाहिरबाट आएका नागरिक रहेको डा. गिरीले बताउनुभयो ।
बिभिन्न स्थानीय तहहरुबाट तानसेनस्थित युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि आउने बाहिरी जिल्लाका नागरिकमासमेत संक्रमण देखिएको उहाँले बताउनुभयो । जनवरीदेखिको तथ्यांकमा पछिल्लो महिनामा सबैभन्दा धेरैमा संक्रमण देखा परेको उहाँले बताउनुभयो । निजी स्वास्थ्य संस्थामा जाँच गराएका र घरमै बस्नेहरुको तथ्यांक यसमा समावेश नभएकोले पनि संख्या अझ बढी रहेको डा. गिरीले बताउनुभयो ।
स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत टिकाराम अधिकारीले डेंगी के हो र यसबाट कसरी बच्ने भन्नबारे जनचेतना बिस्तारको पहल गरिएपनि पूर्ण हुन नसकेको बताउनुभयो । अझै पनि नागरिकमा जनचेतनाको अभाव र चेतनशील नै भएपनि उचित सावधानी छैन त्यसैले पनि डेंगी संक्रमण बढ्दो रुपमा रहेको छ । परीक्षणको दायरा बढाइएको र अहिले घामपानीको मौसम भएकोले पनि लामखुट्टेको संख्या बढ्ने भएकोले पनि डेंगीका बिरामी बढेको अधिकारीले बताउनुभयो ।
संक्रमण नियन्त्रणका लागि जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखामार्फत् ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न गरी सचेतना फैलाउने काम भइरहेको उहाँले बताउनुभयो । तर ती कार्यक्रमहरू उचित जनशक्ति र स्थानीय बासिन्दाहरुको पनि कम चासोका कारण टोलटोलसम्म पु¥याउन नसकिएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
लामखुट्टेको टोकाइँबाट हुने डेंगीको संक्रमण भएमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने लगायतका लक्षण देखिने उहाँले बताउनुभयो ।