पाल्पा । रम्भा गाउँपालिका–१ हुँगीका वडाध्यक्ष ईश्वर काफ्ले अहिले कतार भ्रमणमा रहनुभएको छ । करिव २० वर्ष रोजगारीका लागि कतारमा बिताउनुभएका काफ्ले ४ वर्षअघि नेपाल फर्कनुभएको थियो । नेपाल फर्केपछि उहाँ गत स्थानीय निर्वाचनमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
गत शुक्रबार पाल्पाली सेवा समाज कतारको आठौँ अधिवेशनलाई वडाध्यक्ष काफ्लेले सम्बोधन गर्नुभएको थियो । समाजका निवर्तमान अध्यक्ष समेत रहनुभएका काफ्लेको नेतृत्वमा पाल्पाली सेवा समाजले पाल्पा र पाल्पालीहरुको दुःखसुखमा साथ दिएको थियो । समाजले अहिले पनि पाल्पालीहरुको दुःखसुखमा साथ दिनुका साथै कतारमा रहेका पाल्पाली र नेपालीहरुको लागि सक्दो सहयोग गर्दै आएको छ ।
यसैबीच वडाध्यक्ष काफ्ललाई कतारमा रहेका बिभिन्न सामाजिक संघ संस्थाहरुले सम्मान गरेका छन् । सुदूरपश्चिमेली नेपाली समाज कतारले पनि वडाध्यक्ष काफ्लेलाई सम्मान गरेको छ । वडाध्यक्ष काफ्लेलाई मायाको चिनो सहित खादा ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै वडाध्यक्ष काफ्लेले कतारमा विभिन्न संघसंस्था आफ्ना विधान अनुसार चल्ने गरेको बताउँदै प्रवासमा जसले जुन संस्था हाँके पनि जो जहाँ आबद्ध रहे पनि जिल्ला संस्था अग्रणी स्थानमा आउने गरेको बताउनुभयो । उहाँले परदेशमा रहेर पनि आफ्नो जन्मभुमिको दुख सुखमा साथ दिने गरी गठन भएका बिभिन्न संस्थाहरुको अभियान सराहनीय रहेको बताउनुभयो ।
निवर्तमान अध्यक्ष परमानन्द भट्टको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण सचिव गणेश तिरुवाले गर्नुभएको थियो । कार्यक्रममा समाजका अध्यक्ष गोरख बहादुर चन्दले काफ्लेले उक्त संस्थालाई विगतमा पनि अमूल्य सहयोग पाउने गरेको र जहाँ रहेपनि समाजलाई वडाध्यक्ष काफ्लेको सहयोगको आवश्यकता रहेको बताउनुभयो । त्यस्तै कतारमै रहेको ठकुरी सहयोग सञ्जालले पनि शनिवार एक कार्यक्रमका बीच उहाँलाई सम्मान गरेको छ ।
काफ्लेले वडाध्यक्षको भूमिका निर्वाह गरेवापत सरकारबाट प्राप्त हुने तलव भत्ता तथा अन्य सेवा सुविधा सामाजिक कार्यमा लगानी गर्दै आउनुभएको छ । पाल्पामा यसरी आफ्नो तलव भत्ताको सबै रकम सामाजिक क्षेत्रमा लगानी गर्ने वडाध्यक्ष काफ्ले मात्रै हुनुहुन्छ ।