बगनासकालीमा २ दिने युवा नेतृत्व तथा क्षमता विकास कार्यक्रम सम्पन्न

0
171

पाल्पा । युवा तथा खेदकूद विकास समिति बगनासकालीको आयोजना र बगनासकाली गाउँपालिकाको सहयोगमा २ दिने युवा नेतृत्व तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।

बगनासकाली गाउँपालिका भित्रका ९ वटा वडाका ३५ जना युवाहरुको सहभागिता रहेको कार्यक्रमको समापनका अवसरमा बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले युवाहरुको क्षमता विकास र नेतृत्व विकास आजको आवश्यकता रहेको बताउनुभयो । नेतृत्व गर्नका लागि आफुमा पहिले क्षमता विकास हुनु आवश्यक रहेको बताउँदैहुँदै प्रमुख प्रशासकीय अधिकृत लम्सालले यसप्रकारको तालिमबाट युवाहरुले जीवनभरीका लागि महत्व हुने गरी ज्ञान लिने अवसर मिलेको बताउनुभयो ।

बगनासकाली युवा तथा खेलकूद विकास समितिका सहसंयोजक डेन्जिङ रायमाझीले युवाहरुले आफ्ना सवालहरुमा निर्धक्कका साथ कुरा राख्न सक्ने बनुन् भन्ने उद्देश्यले यसप्रकारको कार्यक्रम आयोजना गरिएको बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्दै आफ्नो नेतृत्व विकास गर्दै अगाडि बढ्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।

समितिका संयोजक एवम् वडा नं. ५ दर्लमडाँडाका वडाध्यक्ष ओमप्रकाश गैरेले समिति मार्फत खेलकूद तथा नेतृत्व विकासको क्षेत्रमा बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो । उहाँले युवाहरुको नेतृत्व विकास गर्दै उहाँहरुलाई सक्षम बनाउँदै अगाडि बढाउने योजना अनुरुप यसप्रकारको तालिमको आयोजना गरिएको बताउनुभयो ।
सहभागी अञ्जु भित्रियाले गाउँपालिकामा पहिलो पटक सहभागी भएर यसप्रकारको तालिम लिन पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले तालिमबाट आफूले सिक्नुजान्नुपर्ने धेरै विषयहरु जान्ने बुझ्ने मौका मिलेको बताउनुभयो । कतिपय कुराहरु जानेका बुझेका थिएनौं, ती सबै जसो विषयलाई प्रभावकारी रुपमा सिक्ने मौका मिल्यो । उहाँले भन्नुभयो ।
तालिममा सामाजिक अभियन्ता चोपलाल गिरी, अधिवक्ता शान्ति पाण्डे, पत्रकार यज्ञमूर्ति तिमिल्सिना र दयाराज न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

तालिम समापन कार्यक्रम समितिका संयोजक एवम् वडा नं. ५ दर्लमडाँडाका वडाध्यक्ष ओमप्रकाश गैरेको अध्यक्षता र सचिव मिन बहादुर रानाको संचालनमा चलेको थियो । समितिको आयोजनामा यसअघि बगनासकाली गाउँपालिका स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता सम्पन्न भइसकेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here