खानीछापमा जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान

0
268

पाल्पा । बगनासकाली गाउँपालिका–४ खानीछापमा जेष्ठ तथा अपांगता भएका ब्यक्तिहरुको सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

वडा कार्यालय मार्फत आर्थिक वर्ष २०८०/०८१ मा जेष्ठ नागरिक सम्मानका लागि बिनियोजित रकम रु ५० हजार अपांगता भएका ब्यक्तिहरुको सम्मानका लागि ५० हजार बजेटबाट उनीहरुलाई सम्मान गरिएको हो । सम्मान स्वरुप उनीहरुलाई हर्लिक्स र न्यानो कपडा बितरण गरिएको थियो ।

सम्मान प्रदान गर्दै गर्दै वडा नं. ४ का अध्यक्ष जित बहादुर कनौजेले जेष्ठ नागरिकहरु समाजका लागि प्रेरणाको स्रोतको रुपमा रहनुभएको बताउनुभयो । उहाँले जेष्ठ नागरिकहरुबाट इतिहास बुझ्दै उहाँहरुलाई सम्मान गर्दै जाने कुरामा वडा कार्यालयले आगामी वर्ष पनि कार्यक्रम बनाउने बताउनुभयो । अध्यक्ष कनौजेले अपांगता भएका ब्यक्तिहरुको सम्मान स्वरुप उहाँहरुलाई पनि सम्मान गरिएको बताउनुभयो । उहाँले अघिल्ला वर्षहरुमा ८० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएकोमा यस वर्ष वडाको निर्णय अनुसार ७८ वर्षदेखि ८० वर्ष उमेर समूहका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको जानकारी गराउनुभयो ।

वडा सचिव माधव भण्डारीले वडा कार्यालयले आगामी वर्ष पनि लक्षित वर्गको उत्थानका लागि बजेट बिनियोजन गर्दै जाने बताउनुभयो । उहाँले लक्षित वर्गले अपनत्व महसुस गर्ने गरी कार्यक्रम बनाउने गरिएको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य हरिप्रसाद न्यौपाने, खड्क बहादुर गाहा र मिना बिकले जेष्ठ नागरिक समाजको गहनाको रुपमा रहनुभएको बताउनुभयो । वक्ताहरुले स्थानीय सरकार र वडा कार्यालय लक्षित वर्गको हित उत्थानमा सदैव लागिपर्ने बताउनुभयो ।

बगनासकाली पत्रकार समूहका अध्यक्ष भोजराज तिमिल्सिनाले यसप्रकारको कार्यक्रमबाट जेष्ठ नागरिक र अपांगता भएका ब्यक्तिहरुले सरकारले आफूहरुप्रति गरेको सम्मानप्रति गौरव गर्ने अवस्था बनेको बताउनुभयो । वडा कार्यालयका कम्प्युटर अपरेटर हिमराज न्यौपानेको स्वागत रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना सहित स्थानीय समाजसेवी बुद्धिजीविहरुको समेत सहभागिता रहेको थियो ।

खानीछाप वडा भित्रका २९ जना अपांगता भएका ब्यक्ति र २७ जना जेष्ठ नागरिकहरुलाई सो अवसरमा सम्मान गरिएको थियो । कार्यक्रममा अपांग समन्वय समितिका संयोजक छविलाल रजालीले अपांगता भएका ब्यक्तिहरुको ज्ञान सीप अनुसार उनीहरुलाई आय आर्जनका बिभिन्न कार्यक्रमहरु संचालन गर्न सके प्रभावकारी हुने बताउनुभयो । कार्यक्रम वडा सचिव माधव भण्डारीको संचालन र जेष्ठ नागरिक समन्वय समितिका संयोजक शेर बहादुर रजालीको अध्यक्षतामा चलेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here