पूर्वखोलाको शिक्षा क्षेत्रमा जिल्लामै नमूना अभ्यास

0
252

पाल्पा । यसअघि पालिका भित्रका रहेका नीजि बिद्यालयहरुलाई सरकारी बिद्यालयमा गाँभेर देशव्प्यापी रुपमा चर्चा पाएको पूर्वखोला गाउँपालिकाले शिक्षा क्षेत्रमा लोकप्रिय कार्यक्रम संचालन गर्दै आएको छ ।

पालिका भित्र रहेका ५ वटा नीजि बोर्डिङ् स्कुल सरकारी विद्यालयमा गाँभिएका छन् । शैक्षिक सत्र २०७६ देखि पूर्वखोलाको रिङ्नेरहमा रहेको पूर्वखोला बोर्डिङ् स्कुल सामुदायिक विद्यालय उद्बुद्ध माविमा गाँभिएको छ । यस्तै वीरकोटमा रहेको जोनन बोर्डिङ् स्कुल गणपति माविमा, जल्पामा रहेको सरस्वती बोर्डिङ् स्कुल सरस्वती माविमा जल्पामै गाभिएको छ । जल्पाको माउण्ट भ्यु बार्डिङ् स्कुल शम्भु माविमा र देवीनगरमा रहेको चिराग बोर्डिङ् स्कुल मातृभूमि माविमा गाभिएको छ ।

गाउपालिकाले गाउशिक्षा सुधार कार्यदल र प्राविधिक कार्यदल बनाएर बोर्डिङ् स्कुल तथा सरकारी विद्यालयको अनुगमन गरेर तयार पारेको प्रतिवेदन बमोजिम उक्त निर्णय कार्यान्वयनमा आएको हो ।

२९ जना बालबालिकाको अभिभावकत्व ग्रहण
पूर्वखोला गाउँपालिकाले पालिकाभित्रका २९ जना अभिभावक बिहीन बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेको छ । चालू आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले अभिभावक बिहीन बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्दै मन्टेश्वरी कक्षामा अध्ययनरत बालबालिकाका लागि बार्षिक ३ हजार नगद र सोही बमोजिमको स्टेशनरी सामाग्री, प्राविमा अध्ययनरत बालबालिकाका लागि ३५ सय नगद र सोही बमोजिमको स्टेशनरी सामाग्री, निमावि तहका लागि ४ हजार नगद र सोही बमोजिम स्टेशनरी सामाग्री तथा मावि तहमा अध्ययनरत बालबालिकाका लागि ४ हजार ५ सय नगद र सोही बमोजिम स्टेशनरी सामाग्री प्रदान गरिएको पूर्वखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख लोकहरि देवकोटाले बताउनुभयो ।

गाउँपालिकाले अभिभावक बिहीन बालबालिकाहरुको शिक्षा दिक्षाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले यसप्रकारको सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको विकास महत्वपूर्ण रहेकोले आफूले शैक्षिक विकासका लागि महत्व दिएको बताउनुभयो । पालिकाले समय सापेक्ष प्राविधिक शिक्षा संचालनका लागि छलफल समेत गर्दै आएको उहाँले बताउनुभयो ।

अभिभावक बिहीन बालबालिकाहरुको तथ्यांक बार्षिक रुपमा अद्यावधिक हुने गरेको छ । यो सुविधा नर्सरी देखि कक्षा १२ सम्म अध्ययनरत बालबालिकालाई प्रदान गर्ने गरिएको छ । अभिभावक बिहीन बालबालिकाभित्र बाबु आमा दुबै नभएका, बावु आमा कारागारमा रहेका ब्यक्तिका छोराछोरी लगायत रहेको र गाउँपालिकाले अभिभावकत्व ग्रहण गरेपछि अभिभावक बिहीन बालिकाहरुमा बिद्यालय जाने र पढ्ने थप हौसला मिलेको अध्यक्ष थापाले बताउनुभयो । उहाँले गाउँपालिका स्थानीय सरकार मात्रै नभएर स्थानीय नागरिकहरुको असल र नजिकको अभिभावक पनि भएकोले पनि यसरी अभिभावक बिहीन बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेको अध्यक्ष थापाको भनाई छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा नै कक्षा ११ र १२ मा अध्ययनरत १ सय जना छात्राहरुलाई छात्रा प्रोत्साहन कार्यक्रम अन्तरगत बार्षिक जनही ३ हजारका दरले छात्रबृत्ति प्रदान गरेको छ । त्यस्तै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी भई स्वर्ण, रजत र कास्य पदक बिजेता छात्रछात्राहरुलाई नगद पुरस्कार प्रदान गरेको छ ।

पूर्वखोलाले अन्य पालिकाहरुको तुलनामा नमुना कार्यक्रम गरेको छ । यसै वर्ष देखि खेल प्रशिक्षकको ब्यवस्था गरिएको छ । खेल प्रशिक्षक गाउँपालिकाले करारमा नियुक्त गरेको छ । गाउँपालिकाले खेल प्रशिक्षक करार नियुक्त गरी बिद्यालयहरुमा मार्सल आर्टस सञ्चालन गर्दैै आएको छ । यो अभ्यास जिल्लामै नमुना अभ्यास हो । त्यस्तै बिद्यालयमा कार्यरत शिक्षिका एवम् महिला कर्मचारी सुत्केरी भएका बखत सुत्केरीले ९८ दिन बिदा लिँदा बिद्यालयमा पठन पाठन प्रभावित हुने भएकोले गाउँपालिकाले सो समयका लागि छुट्टै शिक्षक कर्मचारी करारमा राख्ने ब्यवस्था मिलाएको छ । सुत्केरी हुनभन्दा अगाडि नै बिद्यालयले पालिकामा जानकारी गराउने र गाउँपालिकाले स्वीकृत गरिसकेपछि बिद्यालयले सूचना जारी गरी शिक्षक कर्मचारीको ब्यवस्था गर्ने गरेको शिक्षा शाखा प्रमुख देवकोटाले बताउनुभयो । यसवापत शिक्षकका लागि मासिक १५ हजार र कर्मचारीका लागि मासिक १० हजार रुपैयाँ गाउँपालिकाले नै बेहोर्दै आएको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताउनुभयो ।

यसबाहेक बिद्यालयमा अतिरिक्त क्रियाकलापलाई जोड दिइएको छ । पालिकाले पनि समय समयमा बिभिन्न प्रतियोगिताहरु गर्ने गरेको छ । शिक्षक कर्मचारीहरुलाई समय सापेक्ष तालिमको ब्यवस्था गरिएको छ । प्रधानाध्यापकहरुको नियमित बैठक बस्ने र महत्वपूर्ण बिषयमा छलफल तथा निर्णय हुने गरेको शिक्षा शाखा प्रमुख देवकोटाले बताउनुभयो । पालिका भित्रका बिद्यालयहरुमा आधुनिक र प्रविधिमैत्री गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा गाउँपालिकाले बिशेष कार्यक्रम बनाएर अगाडि बढाएको शिक्षा अधिकृत देवकोटाले बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here