सांसद नरहेपनि पाल्पाको विकासमा निरन्तर छुः पूर्व सांसद पाण्डेय

0
308

पाल्पा । पूर्वसांसद सोमप्रसाद पाण्डेयले आफू अहिले सांसदको रुपमा नरहेपनि पाल्पाको विकास र समृद्धिको लागि निरन्तर लागिपरेको बताउनुभएको छ । सोमवार पाल्पामा क्रियाशील पत्रकारहरुसँगको कुराकानीका क्रममा पूर्वमन्त्री समेत रहनुभएका पाण्डेयले आगामी वर्षको बजेटमा पाल्पाका बिशेष आवश्यकताका योजनाहरुलाई समेट्ने गरी सम्बन्धित मन्त्रालयमा आफूले बजेट माग सहित छलफल अन्तरक्रिया गरेको बताउनुभयो ।

पाल्पामा ब्लड बैंक स्थापना कार्यका लागि भवन निर्माणमा शहरी बिकास मन्त्रालयमा रु २ करोड बजेट बिनियोजनका लागि आफूले ध्यानाकर्षणपत्र बुझाएको पाण्डेयले बताउनुभयो । त्यस्तै टक्सारमा रहेको महाचैत्य बिहारको प्रवर्धनका लागि सभाहल निर्माण र अन्य जीर्णोद्धार कार्यका लागि पनि बजेट माग गरिएको र आगामी वर्षको बजेटमा उक्त विषयमा समावेश हुने बिश्वास रहेको पाण्डेले बताउनुभयो ।

माण्डब्य बहुमुखी क्याम्पस हातामा बहुउद्देश्यीय भवन निर्माण, बगनासकालीको दरुङ्गाबाट चिउरीबास राम्दी मोटरबाटो स्तरोन्नतीको लागि बजेट माग गरिएको उहाँले बताउनुभयो । स्थानीय तहहरुमार्फत माग भएका योजनाहरुमा मन्त्रालयहरुसँग समन्वय गर्ने, क्रमागत योजनाहरुको निरन्तरताको बिषयमा पहल गर्ने कार्यमा आफू लागि परेको उहाँले बताउनुभयो ।

पाण्डेयले तानसेनलाई ऐतिहासिक शहरको रुपमा विकास गर्ने, लुम्बिनी आएका बौद्धमार्गीहरुलाई तानसेनसम्म ल्याउने, तानसेनको श्रीनगरलाई बौद्ध गार्डेनको रुपमा विकास गर्ने गरी योजना बनाउनुपर्ने र उक्त कार्यका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।अव पाल्पाको भविष्य भनेकै पर्यटनमा छ । यहाँका पर्यटकीय स्थलहरुलाई प्रवर्धन गर्दै पाल्पाको विकास छुट्टै तरीकाले गर्ने दीर्घकालिन योजना बनाउनुपर्छ । सांसद पाण्डेयले भन्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले पूर्व सांसद पाण्डेयको पाल्पा विकास सम्वन्धी क्रियाशीलता र निरन्तरताबाट अन्य नेताहरुले पनि सिक्नुपर्ने बताउनुभयो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here