कोरोना समयमा गाउँ फर्केका अर्जुनको च्याउ खेतीमा रहरलाग्दो सफलता

0
217

पाल्पा । बुटवलमा रही यातायात पेशामा सक्रिय अर्जुन कार्कीको दैनिकी कोरोना कहर सुरू भएपछि फेरियो । उहाँले त्यतिबेलै गाउँ फर्केर उद्यम गर्ने योजना बनाउनुभयो । कोरोना सुरू हुनुभन्दा ४ महिना अघि उहाँले बस बेच्नुभएको थियो । नयाँ बस किन्ने सोंच हुदै गर्दा कोरोना सुरू भयो । त्यसपछि उहाँले गाडी किन्ने सोंचलाई त्याग्नुभयो र कृषि गर्ने योजना बनाउनुभयो ।

कोरोनाको समयमा सबैभन्दा बढी महत्व अर्गानिक खानेकुराको भयो । अर्गानिक खानेकुरा र ब्यायाम महत्वपूर्ण रहेछ भन्ने लागेर नै उहाँले बुटवल छोडेर पाल्पा फर्कने निधो गर्नुभयो । अव गाउँमै केही गर्छु भन्ने उद्देश्यले उहाँ माथागढीको झडेवा आउनुभयो । सुरुको समयमा घरपरिवारले पनि राम्रो साथ दिएनन् । बुटवलका साथीहरु पनि बुटवलमा बसेको यातायात क्षेत्रमा लागेको मान्छेले के कषि गर्ला र भनेर शंका गरे । तर उहाँ अहिले यो ४ वर्षको अवधिमै सफल किसानको परिचय बनाउन सफल हुनुभएको छ । अरु पहाड छोडेर मधेश झर्छन् तपाई तराई छोडेर पहाड किन हो भनेर सुरू सुरूमा परिवार र साथीभाईहरुले पनि आफ्नो प्रयासप्रति असहमति जनाएपनि अहिले परिवार र सबै साथीहरु उत्साही भएको उहा“ले बताउनुभयो ।

“उत्पादन गर्न सके बिक्रीका लागि समस्या छैन । गाउपालिकाले पनि आर्थिक प्राविधिक सहयोग गरेको छ । च्याउ खेतीबाट म सन्तुष्ट छु ।” कार्कीले भन्नुभयो । झडेवामा जग्गा भाडामा लिएर उहाँले सुरुमा बोइरल कुखुरा, लोकल कुखुरा माछा पालन गर्नुभयो । अहिले उहाँले अहिले झडेवामै ब्यवसायिक रुपमा च्याउ खेती गर्दै आउनुभएको छ । यो माथागढीकै ठूलो च्याउ फर्म हो । फर्ममा अहिले ११ जनाले रोजगारी पाएका छन् ।

अहिले च्याउ प्रति केजी ३ सय रुपैयाँमा बिक्री हुँदै आएको छ । कृषि गफले हुदैन । कामले हुन्छ भन्ने सन्देश आफूले दिन चाहेको उहाँले बताउनुभयो । उहाँले अझै पनि वातावरण मिल्यो भने कृषिमा अझ धेरै काम गर्ने सोच रहेको बताउनुभयो । अहिले उहाँको फर्मबाट दैनिक १ सय ५० केजीसम्म च्याउ उत्पादन हुँदै आएको छ । यहाँको च्याउ माथागढीको गाउँ गाउँ सहित बुटवलमा बिक्री बितरण हुँदै आएको छ । च्याउबाट दैनिक १० हजारसम्म आम्दानी गर्न सफल भएको कार्कीले बताउनुभयो । कतिपय ग्राहकहरु त फर्ममै आएर च्याउ खरिद गरेर लैजान्छन् ।

माथागढी गाउपालिकाले पनि च्याउ पकेट कार्यक्रम अन्तरगत उहाँलाई सहयोग गर्दै आएको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख गौतम थापाले च्याउ पकेट कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षमा बिनियोजित ६ लाख रुपैयाँबाट सहयोग गरिएको बताउनुभयो । गाउपालिकाले किसानहरुको प्रोत्साहनका लागि उत्पादनमा आधारित अनुदान पनि बितरण गर्ने गरेको छ । जस अन्तरगत च्याउमा प्रति केजी ५, तरकारीमा प्रतिकेजी ५, दुधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष यम चिदीले बताउनुभयो ।

त्यस्तै उत्पादनमा आधारित अनुदान अन्तरगत नै खशीको मासुमा प्रतिकेजी २५ र बंगुरको मासुमा प्रतिकेजी १५ रुपैयाँ उपलब्ध गराउने गरिएको र यसबाट किसानलाई केही न केही सहयोग पुगेको अध्यक्ष चिदीले बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here