तानसेनका डेरी तथा फेन्सी पसलमा नियमित अनुगमनको अभाव

0
168

पाल्पा । बजार अनुगमनको दायरा फराकिलो नहुदा दुध तथा फेन्सी पसलहरुमा मनोमानी बढेको उपभोक्ताहरुको गुनासो छ ।

स्थानीय तहले कहिलेकाहि मात्र किराना पसलहरुमा अनुगमन गरेपनि दुध डेरी र फेन्सी पसलहरुमा अनुगमन हुन सकेको छैन । जसका कारण मूल्यमा एकरुपता र गुणस्तरीयताको समस्या रहेको उपभोक्ताहरुको गुनासो छ ।

किराना पसलहरुमा कहिलेकाहि अनुगमन गरिएपनि दुध डेरी फेन्सी पसलहरुको अनुगमन नहुदा दुधको गुणस्तरीयता र मूल्यमा एकरुपता देखिदैन भने फेन्सी पसलहरुमा पनि पसल र ग्राहक अनुसार मूल्य कायम गरिने गरिएको छ । यसबारे अनुगमन आवश्यक रहेको उपभोक्ताहरुको गुनासो छ ।

सदरमुकाम तानसेनमा संचालित दुध डेरीहरुमा गरिएको अनुगमनमा ५० प्रतिशत बढी डेरीहरुमा दुधको गुणस्तर कायम नभएको पाइएको छ । स्थानीय प्रशासन र जिल्लास्थित सरोकारवाला निकायले गरेको संयुक्त अनुगमनमा भैसीको दुधको गुणस्तर कम भएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठले बताउनुभयो ।

तानसेनका १० वटा डेरीको अनुगमन गरी नमूना परीक्षण गर्दा ५ वटा डेरीको दुधमा गुणस्तर पुरा नभएको भेटिएको उहाँले बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी भक्तीसरा रानाले गुणस्तरीय वस्तु तथा सेवा उपभोग गर्न पाउने उपभोक्ताको अधिकार विपरीत कार्य गरेका डेरीहरुलाई सचेत गराई जरिवाना समेत गरिएको बताउनुभयो । उपभोक्ता संरक्षण ऐन २०७५ अन्तरगत सेचत गराई नगद जरिवाना गरिएको उहाँले बताउनुभयो । यस्तै अन्य डेरीहरुमा पनि सरसफाई नगरेको, ब्रान्डिङ नगरी उत्पादित वस्तुको विक्री गर्दै आएको फेला परेपछि मापदण्ड पूरा गर्न सुझाव दिइएको छ । यस्तै प्रकारको अनुगमन र परीक्षण गत जेठ महिनामा पनि गरिएको र मापदण्ड नपुगेका डेरीहरुलाई सचेत गराइएपनि सुधार नभएको रानाले बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here