रामपुर १० राहुडाँडामा निर्माण सम्पन्न २ कोठे भवनको उद्घाटन

0
156

पाल्पा, रामपुर नगरपालिका वडा नं.१० राहुडाँडा पाल्पामा हल सहितको २ कोठे पक्कि भवन निर्माण सम्पन्न भएको छ । भवनको विहिबार रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले उद्घाटन गर्नु भएको छ ।

भवनको उद्घाटन गर्दै नगर प्रमुख थापाले जनताको सहभागिता सहितको समन्यव र सहयोगले मात्र हरेक स्थानीय तहको विकासले सार्थकता पाउने बताउनु भएको छ । स्थानीय सरकारले सञ्चालन गर्ने योजना तथा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न हरेक स्थानीयबासीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । “हरेक तहको सरकार र जनताविच सकारात्मक समन्वय र सहयोग सहति हातेमालो गर्न आवश्यक छ ,उहाँले भन्नुभयो– स्थानीय तहको समृद्धिका लागि स्थानीय तहमा सञ्चालन गर्ने हरेक कार्यक्रममा जनताको उत्तिकै भूमिका हुन्छ । ”नगर प्रमुख थापाले नगरको विकासका लागि स्थानीय सरकार संग प्रतिपक्षको रुपमा भन्दा पनि समकक्षी भएर काम गर्न आग्रह गर्नु भएको छ। समुहको भवन निर्माणका लागि नगरपालिकाको थोरै लगानीबाट पनि गुणस्तरीय संरचना निर्माण गरेकोमा कामको प्रसंशा गर्दै उहाँले नवनिर्मित संरचनाको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । साथै भवनलाई बहुउपयोगी बनाई उपलब्धीमूलक कार्यक्रम सञ्चालन गर्न उपयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वडा नं.१० का अध्यक्ष तोयानाथ सारु थापाले जनताको चहाना र आवश्यकता अनुसार जनप्रतिनिधिले काम गर्दै आएको भन्दै स्थानीय सरकारबाट विनियोजित बजेटको सही कार्यान्वयन गर्न सके विकासले चाँडो फड्को मार्ने उल्लेख गर्नुभयो । साथै वडाको विकासका लागि कुनै दल विषेश भन्दा पनि आवश्यकतालाई प्राथमिकता दिएर काम गर्ने भन्दै नवनिर्मित भवनलाई बहुउपयोगि बनाउन आग्रह गर्नु भएको छ । कार्यक्रममा चेतनशिल आमा समुहका अध्यक्ष विष्णुमाया खाम्चाले देउसी भैलो लगाएत विभिन्न कार्यक्रम संकलित रकम र नगरपालिकाको विषेश सहयोगमा भवन निर्माण गरेको बताउनुभयो । आफुहरुको आवश्यकतालाई मध्येनजर गरेर रामपुर नगरपालिकाले विभिन्न चरणमा बजेट विनियोजन गरेकोमा धन्यवाद दिंदै भवनलाई भौतिक संरचनामा मात्र सिमित नराखी बहुउपयोगी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निर्माण समितिका संयोजक भुवान सिं सिंजालीले कुनै आस्था भन्दा पनि माथी उठेर जनताको आवश्यकतालाई बुझ्न आवश्यक रहेको भन्दै नगर सरकारले गरेको कामको प्रसंशा गर्नुभयो । साथै उहाँले १६ लाख ६० हजार रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको आम्दानी खर्च सार्वजनिक गर्नुभयो ।  रामपुर नगरपालिकाको ६ लाख ५० हजार , चेतनशिल आमा समुहको ६ लाख २० हजार ,बाबा समुहको १ लाख , सिर्जनशिल युवा क्लवको २० हजार र स्थानीयको जनश्रमदानमा हल सहितको २ कोठे एक तले पक्कि भवन निर्माण सम्पन्न भएको हो । भवन निर्माण सम्पन्न भए पछि विभिन्न समुह , क्लव , टोल विकास संस्था लगाएत विभिन्न संस्थाको बैठक बस्न , तालिम सञ्चालन गर्न,विभिन्न कार्यक्रम गर्न सजिलो हुने स्थानीय राजु गुरुङले बताउनुभयो ।

चेतनशिल आमा समुहका अध्यक्ष विष्णुमाया खाम्चाको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । राम बहादुर आलेको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन पर्शुराम पाण्डेले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here