सम्पादकीय
राजनीतिक दलहरु प्रति सर्वसाधारणको बिश्वास गुम्दै गएको देखिन्छ । सर्वसाधारणको मन जित्न र बिश्वास कायम गर्न अव दलहरुलाई ठूलो चुनौती छ । विकासका मुद्धा उठाएर चुनाव जितेका सांसदहरु आसनग्रहण र भाषणमा सीमित छन् । बिद्यालयका बार्षिकोत्सव, सहकारीका साधारणसभा, क्लवका कार्यक्रम र टोल विकास संस्था सम्मका कार्यक्रममा सांसदहरुलाई भ्याइनभ्याई छ । वडाध्यक्ष वा सदस्यहरु प्रमुख अतिथि भए हुने खालका कार्यक्रमहरुमा सांसदहरुको सहभागिता देखिन्छ त्यो पनि बिहानदेखि साँझसम्म । साँच्चिकै पाल्पाको ग्रामीण तहको अवस्था हेर्ने हो भने कहालीलाग्दो छ । बाँदर आतंकले गाउँलेलाई बसाई सर्न बाध्य बनाएको छ । गाउँ रित्तिदै गएको छ । नेता सांसदहरुले रित्तो गाउँमा विकासको आशा जगाइरहेका छन् आशा देखाएका छन् तर काम हुँदैन ।
सामाजिक सञ्जालहरुमा हेर्ने हो भने दलका नेता वा सांसदहरु बोलेको र धारणा राखेका भिडियोका कमेन्टमा सबै जसोमा धेरै कमेन्ट र प्रतिक्रिया नकारात्मक नै देखिन्छन् । देशमा केही भएन, नेताहरुले केही गर्न सकेनन्, नेपालीहरु बाध्य भएर बिदेशिएका छन् । यस्ता यस्ता कमेन्टहरु प्रसस्त देखिन्छन् । अव दलहरु सच्चिन पर्ने बेला आएको छ । पुरानो दलहरुमा पुरानो र धेरै कार्यकर्ता छन् भन्ने धङधङीमै रहनु, नयाँ दलहरुले जनअपेक्षा अनुसारको ब्यवहार देखिाउन नसक्नुले पनि जनतामा नयाँ पुराना दलहरुप्रति बिश्वासको संकट उत्पन्न भएको छ ।
विकास निर्माणमा भन्दा भाषणमा र नीतिगत समस्या समाधानमा भन्दा समस्या बल्झाउन दलहरु अगाडि छन् । जनताका पिरमर्का सुन्दैनन् । आफन्त केन्द्रीत छ । देश बनाउने भन्दा कमाउने धन्दामा छन् । जनताका कुरा सुन्दै सुन्दैनन् । यस्तो अवस्थामा जनताले दलहरुको बिश्वास कसरी गरुन् । अव दलहरु सच्चिनै पर्छ । अन्यथा जनताले आगामी निर्वाचनमा सोही अनुसारको ब्यवहार देखाउनेछन् । नेताहरुले पनि जनमैत्री ब्यवहार गर्नुपर्छ । आफ्नो भविष्य भन्दा पनि देशको भविष्यबारे सोच्नुपर्ने बेला आएको छ ।