तिनाउँका किसानको उत्पादन सिधै हाटबजारसम्म

0
330

पाल्पा । तिनाउँ गाउँपालिकाले गाउँपालिकाका किसानहरुले उत्पादन गरेको कृषि उत्पादनको बजारीकरणका लागि जिल्लामै नौलो अभ्यासको थालनी गरेको छ । बुटवल उप महानगरपालिकासँगको सहकार्यमा तिनाउँले बुटवल हाटबजार लाइनमा सटर भाडामा लिएर तिनाउँका किसानहरुको उत्पादनका लागि सिधै उपभोक्तासम्म पु¥याएको छ ।

तिनाउँ कृषि उपज बिक्री केन्द्र मार्फत किसानले उत्पादन गरेका तरकारीहरू सिधै विक्री वितरण हुँदै आएको छ । यसबाट किसान र उपभोक्ता दुबैलाई फाइदा भएको छ । गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले यो अभ्यास सम्भवतः लुम्बिनी प्रदेशमै नमुना भएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले किसानहरुले उत्पादन गरेका कृषि उत्पादनहरू बिक्री वितरण गर्न समस्या हुने गरेको गुनासो आइरहेको र यसमा पनि गाउँपालिकाले सहयोग गर्न सके हुन्थ्यो भन्ने किसानहरुकै सुझावका आधारमा गाउँपालिकाले यो प्रयास गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले किसानहरुले आफ्नो उत्पादनको उचित मुल्य नपाउँदासम्म उनीहरुको मनोवल पनि उच्च नहुने भएकोले किसानहरुको मनोवल बढाउन यो प्रयास सहयोगी हुने बताउनुभयो । गाउँपालिका भित्रका किसानहरुले काउली, बन्दा, टमाटर, खुर्सानी, धनिया, काक्रा फर्सी, करेला, सिमी, साग, लगायतका धेरै तरकारीहरू उत्पादन गर्दै आएको र उक्त सटरहरुबाट किसानहरुको उत्पादन सिधै बिक्री हुने भएकोले उपभोक्ताले पनि सहुलियत मुल्यमा अर्गानिक तरकारी किन्न पाउने बताउनुभयो ।

गाउँपालिका कृषि शाखा संयोजक हेमन्त शर्माले कृषि शाखाको स्वीकृत बार्षिक कार्यक्रम अन्तरगत किसान र माग र चाहना अनुसार चालु आर्थिक वर्षमा २ लाख ५० हजारबाट उक्त कार्य सुरू गरिएको बताउनुभयो । एउटा सटरबाट अहिले काम सुरू गरिएको छ र आगामी आगामी वर्षदेखि २ वटा सटर बनाउने योजना रहेको छ । हप्तामा तीन दिन शनिवार, बुधवार र सोमवार यो केन्द्रबाट तरकारी बिक्री बितरण हुदै आएको छ । गत साता करिब ११ मेट्रिकटन छ अर्थात् सात लाख रुपैया बराबरको तरकारी विक्री भएको उहाले बताउनुभयो । यो अभ्यास नया र नौलो भएकोले पनि किसानहरुलाई पनि सहज भएको उहाले बताउनुभयो । पहाडमा फलेको अर्गानिक तयारी सुपथ मुल्यमा किन्न पाएपनि उपभोक्ताहरु पनि खुशी भएका छन् ।

बजारीकरणका लागि गाउँपालिकाले २ जना कर्मचारीको व्यवस्था गरेको छ । तिनाउँमा कृषि एम्बुलेन्स मार्फत किसानहरुले समूहमा संकलन गरेका तरकारीहरू ढुवानी गरि हाटबजारसम्म पु¥याउने काम हुदै आएको छ । यसमा समन्वयकारी भूमिका यहाँ रहेका कृषि समूहहरुले पनि गर्दै आएका छन् ।

कृषि शाखा प्रमुख शर्माले गाउँपालिकाका सबै वडाहरू कृषि तथा पशुपालनका लागि राम्रो सम्भावना रहेको वडाहरुको रुपमा रहेको बताउनुभयो । यहाँको सत्यवती र कोलडाँडामा धनियाँ र खुर्सानीको उत्पादन हुदै आएको छ । दोभान क्षेत्रमा काक्रा, करेला, काउली, सिमी लगायतका तरकारीहरु उत्पादन हुदै आएको छ । वडा नं. ३ झुम्सा भुतखोला क्षेत्रमा च्याउ पकेट क्षेत्र रहेको छ । यहाँबाट मात्रै बार्षिक १ करोड बढीको च्याउ उत्पादन हुँदै आएको छ ।

वडा नं. १ ओखलढुंगामा संघीय कार्यक्रम अन्तरगत तरकारी पकेट कार्यक्रम सञ्चालन हुँदै आएको छ । यो कार्यक्रमबाट तरकारी तथा अन्य कृषि उत्पादन बिक्री भएन भनेर बस्ने किसानहरुका लागि खास फाइदा र सहजता भएको र उनीहरुमा कृषि प्रति उत्साह पनि बढेको शर्माले बताउनुभयो ।

समयको माग, जनचाहना, सम्भावित स्रोतहरुको परिचालन नै स्थानीय सरकारको मुख्य ध्येय भएकोले तिनाउँ गाउँपालिका भित्रका आम किसानहरुको माग बमोजिम यो प्रयासको थालनी गरेको र यसबाट धेरै किसानहरू खुशी हुनुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here