माथागढीमा गर्भवतीको घरमा हरियो झण्डा र अण्डा

0
421

पाल्पा । माथागढी गाउँपालिकाले नागरिकको सहज स्वास्थ्य सेवाको लागि विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको छ ।

गाउँपालिकाले स्वास्थ्य चौकीहरुको सेवाको गुणस्तरलाई समय सापेक्ष बृद्धि गर्दै नागरिकको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्नेतर्फ उन्मुख भएको माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो । स्वास्थ्य चौकीको पहुँचमा नरहेका नागरिकहरुलाई स्वास्थ्य अधिकारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस वर्ष ५ वटा सामुदायिक स्वास्थ्य इकाई समेत थप गरिएको अध्यक्ष चिदीले बताउनुभयो ।

माथागढी गउँपालिकाका केही वडाहरूमा भौगोलिक हिसावले पनि एउटा टोलबाट अर्को टोलमा पुग्न र स्वास्थ्य चौकीसम्म तत्काल सम्भव नभएका टोलहरू पनि रहेका छन् । ती इकाईहरुबाट स्वास्थ्य चौकीसम्म पुग्न सम्भव नभएका नागकिहरुले सेवा लिन सहज हुने अध्यक्ष चिदीले बताउनुभयो । पालिकाका नागरिकहरू स्वस्थ रहेमात्र स्वस्थ पालिका बन्न सक्ने भन्दै उहाँले गाउँपालिकाले स्वास्थ्य क्षेत्रको प्रवर्धनका लागि महत्वपूर्ण कार्यक्रमहरु बनाई कार्यान्वयन गर्दै आएको अध्यक्ष चिदीले बताउनुभयो । पालिका मार्फत विपन्न नागरिक स्वास्थ्य बिमा, हजार दिनका आमाहरुलाई पोषण, स्वास्थ्य प्रवर्धन कार्यक्रम, खोप अभियानलाई सार्थकताका साथ अगाडि बढाएको अध्यक्ष चिदीले बताउनुभयो ।

गर्भवतीलाई अण्डा र झण्डा
माथागढीले गर्भवती र महिलालाई अण्डा घरमा हरियो झण्डा कार्यक्रम सञ्चालन गर्दै आएको छ । अण्डाले आमा र बच्चालाई पोषण पुरा हुने र गर्भवतीको घरमा राखिएको घरमा हरियो झण्डाले माथागढी गाउँपालिका भित्र कति घरमा गर्भवती महिला छन् भनेर चिन्न सकिने भएकोले यो कार्यक्रम संचालन गरिएको बताइएको छ ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्र अन्र्तगत गर्भवती र सुत्केरीहरुका लागि बिशेष कार्यक्रम सञ्चालन गर्दै आइरहेको अध्यक्ष चिदीले बताउनुभयो । गर्भ रहेपछि स्वास्थ्य संस्थामा पहिलो पटक गर्भ जाँचका लागि गर्भवती स्वास्थ्य संस्थामा आउदा अण्डा र झण्डा दिएर पठाउने गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसीले बताउनुभयो । एक पटक झण्डा दिइने र क्रमशः परीक्षणको क्रममा आउँदा गर्भवतीको अवस्था हेरी ४ पटक अण्डा प्रदान गर्ने गरिएको उहाँले बताउनुभयो ।

अण्डाले गर्भवतीलाई पोषण दिने र झण्डाले छिमेकीहरुलाई समेत यो घरमा गर्भवती रहिछन् त्यसैले आवश्यक सहियोग गर्नुपर्छ भन्ने भावना जागृत गराउने भएकोले यो अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । संस्थागत सुत्केरी प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले अण्डा र झण्डा अभियानलाई पनि सँगसँगै अगाडि बढाएको उहाँले बताउनुभयो । गर्भवती महिलामा गर्भ रहेको सामान्यतया चार महिनादेखि नौ महिनासम्म गर्भ जाच गर्न आउदा स्वास्थ्य संस्थामार्फत नै अण्डा वितरण गर्न थालिएको उहाँले बताउनुभयो ।

यस वर्ष थपिए ५ वटा सामुदायिक स्वास्थ्य इकाई
माथागढी गाउँपालिकामा अहिले ७ वटा स्वास्थ्य चौकी रहेका छन् । त्यस्तै हात्तीलुङमा एउटा सामुदायिक स्वास्थ्य इकाई रहेको थियो । यस वर्ष पालिकाले स्वास्थ्य चौकीको सेवाप्रवाहबाट केही टाढा रहेका नागरिकहरुलाई सहज सेवाका लागि ५ वटा स्थानमा सामुदायिक स्वास्थ्य इकाई थप गरेको छ । चिदीपानीको धैरेनी, कसेनीको शिकारकोट, गोठादीको भुटुके, रहबासको मटेरी र बहादुरपुरको ताकातुङमा यस वर्ष देखि सामुदायिक स्वास्थ्य इकाई थपिएका छन् । सामुदायिक स्वास्थ्य इकाईमा सेवाका लागि यस वर्ष पालिका करारमा १२ जना स्वास्थ्यकर्मी थप गरेको छ । चिदीपानीको धैरेनी क्षेत्रबाट स्वास्थ्य चौकीसम्म आइपुग्न धेरै समय लाग्ने भएकोले यस क्षेत्रका बासिन्दाहरुलाई लक्षित गरि उक्त सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएको वडा नं. १ चिदीपानीका वडाध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । धैरेनी, रुमालडाँडा, बिरौटा गरि विभिन्न टोलका १ हजार ५ सय बढी नागरिकले सेवा लिने अध्यक्ष पन्थीले बताउनुभयो । निर्वाचनको समयमा आफुहरू जनताको घरदैलोमा पुग्दा जनताहरुले यस क्षेत्रका नागरिकहरूले सोंचेजस्तो स्वास्थ्य सेवा पाउन नसकेको गुनासो राख्नुभएको र सोही गुनासो सम्बोधन गर्दै स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएको पन्थीले बताउनुभयो ।

त्यस्तै माथागढी गाउँपालिकाका बिभिन्न ७ वटा वडामा बर्थिङ सेन्टर रहेकोमा ६ वटा बर्थिङ सेन्टरबाट अहिलेपनि निरन्तर सेवा प्रदान भइरहेको जिसीले बताउनुभयो । पालिका अन्तरगत २ वटा एम्बुलेन्स रहेका छन् । यी एम्बुलेन्स मार्फत अति विपन्न र पैसा तिर्न नसक्ने परिवारलाई निःशुल्क सेवा समेत प्रदान गरिएको छ ।

२०७७ मंसिर १५ गते जिल्लाका ३ स्थानीय तहमा एकैपटक शिलान्यास भएको अस्पतालमध्ये माथागढीको झडेवामा पनि १५ शैयाको अस्पताल शिलान्यास गरिएको थियो । सो अस्पताल निर्माण कार्य हालसम्म ३५ प्रतिशत पूरा भएको माथागढी गाउँपालिकाका इन्जिनियर धर्मेन्द्रकुमार यादवले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here