spot_img
Home Blog Page 16

मकैको बिउ बेचेर १२ लाख रुपैयाँ आम्दानी

पवित्रा पराजुली । पाल्पा
बगनासकाली २ पोखराथोककी मिना बिश्वकर्माले बारीमा भखैरै मात्र मकै छर्नुभयो । यो बर्ष लामो खडेरी परेका कारण मकै छर्न ढिलो भएको उहाँको भनाइ छ । मनकामना ३ उन्नत जातको मकै बिउ उत्पादन बाट गत बर्ष ५९ हजार रुपैयाँ आम्दानी गर्नुभएकी मिना मकै खेती बाट सन्तुष्ट हुनुहुन्छ । बैशाखमा छरिन्छ भदौमा पाक्छ । असोजबाट मकैको बिउ छोडाउने काम हुन्छ । मंसिरसम्म काम हुन्छ । अनि प्याकिङ गरेर राख्ने उहाँले भन्नुभयो ।

३८ जना कृषक आबद्ध रहेको बगनासकाली २ को शिबसक्ति बीउ विजन सहकारी सस्थाले करिब १५ हेक्टर क्षेत्रफलमा मकै बिउ उत्पादन गर्दै आएको छ । मागको आधारमा मकै बिउ बिक्री गरिने भएकोले बिक्रीका लागी केहि समस्या नभएको कृषक हरुको भनाइ छ । मकै मात्र उत्पादन गर्नु भन्दा बीउ मकै उत्पादान गर्दा फाइदा हुने र आम्दानी भएको रकमले बर्षभरिको खर्च टर्ने किसानहरुको भनाइ छ ।

सामान्य खेतीलाई सजिलो हुन्छ । यो बिउको लागि गरेको हुनाले अलि ख्याल गर्नुपर्छ । लगभग १/२ दिनमा बारीमा बसेर हेर्नुपर्छ । बल्ल गुणस्तरीय बिउ उत्पादन हुन्छ । स्थानीय किसान यमनाथ शर्माले भन्नुभयो ।

सामान्य मकै खेती गर्दै आएका बगनासकालिका किसानले ७९ सालबाट मकै पकेट कार्यक्रम संचालन भएपछी बीउ उत्पादन गर्न थालेको हुन । गाउँपालिकाको तीन वटा वडामा ६ वटा समूह र एउटा फर्म मा गरि करिव ३०० कृषकले मकैको बीउ उत्पादन गर्ने गरेका छन् । बगनासकाली २ पोखराथोकको शिबशक्ति बिउ बिजन सहकारी संस्थाले गत आर्थिक बर्ष २०८०/०८१ मा ८ टन मकै बिउ संकलन गरि १२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

बिउ उत्पादन भएपछि माग आउछ । सोही बमोजिम हामीले बिउ पठाउँछौं । कहाँ कसलाई कति उपलब्ध गराउने हो भन्ने लिस्ट बनाइन्छ । संस्थाका अध्यक्ष लेखनाथ गैरेले भन्नुभयो ।

मकै बिउ उत्पादनका लागी बगनासकालीको तीन वटा वडा उपयुक्त भएकै कारण संघ र प्रदेशले दुई बर्षमा ४० लाख मकै प्रवदनका लागि आर्थिक सहयोग गरेको छ भने गाउँपालिकाले आबश्यक प्राबिधिक तथा यान्त्रिक सहयोग गर्दै आएको छ ।

बगनासकाली गाउँपालिकाका कृषि शाखा प्रमुख रामहरी गैरेले यस वर्ष बिउमा ५० प्रतिशत अनुदान, मलमा अनुदान, खनजोत गर्न मिनिटिलर, मकै रोप्ने, छोडाउने मेसिन गाउँपालिकाले उपलब्ध गराएको बताउनुभयो ।

बगनासकाली गाँउपालिकाले तीन वडामा गरि गत बर्ष मनकामना जातको १४ टन मकै बिउ उत्पादन गरेको छ । सीमित क्षेत्रमा रहेको भूमिलाई उपयोग गर्दै गाउँपालिकाले ‘कृषि पकेट’ क्षेत्र बनाएर अघि बढ्दा कृषि उत्पादन बढाउन बल पुगेको छ ।

पूर्वखोलाको गौरब बन्दैछ ढोलीमारा होमस्टे

यज्ञमूर्ति तिमिल्सिना । पाल्पा
पाहुँना गाउँमा पुग्नै लाग्दा पञ्चेबाजा टोली दोबाटोसम्म बाजा बजाउँदै लिन आइपुग्छन् । स्थानीयले पाहुँनालाई फुलमालाले स्वागत गर्छन् र बाजा बजाउँदै पाहुँनालाई नचाउँदै होमस्टे भएको घरघरमा पु¥याउँछन् ।

चिटिक्क सजाइएका घर त्यस्तै राम्रा कोठाहरू । दुर्गम गाउँमा यति राम्रो ब्यवस्था देख्न पाउँदा पाहुँनाहरु पनि खुशी हुन्छन् र दङ्ग पर्छन् । यहाँको आतिथ्यता यहाँ पुगेका सबै पाहनालाई मन पर्छ । यो दृश्य पुर्वखोला गाउँपालिका–२ जल्पा ढोलीमाराको हो ।

ढोलीमारामा अहिले ब्यवस्थित रुपमा होमस्टे संचालन भइरहेको छ । यो कार्यक्रमबाट स्थानीय बासिन्दाहरुलाई स्वरोजगारीको अवसर मिलेको छ भने पर्यटन प्रवर्धन पनि भइरहेको छ । अझ थप प्रचार प्रसार हुन सक्ने हो अझ धेरै पाहुँनाहरुको संख्या बढ्ने बिश्वास स्थानीय होमस्टे संचालकहरुको छ ।

पहाडी भूभाग त्यसमा लेकमा छ ढोलीमारा गाउ“ । गर्मीको मौसममा यहाँ पुग्नेहरुले खुबै आनन्दको महसुस गर्छन् । हिमाल प्रष्टैसँग देखिने यो गाउँसम्म हिमालको चिसो हावा आइपुग्छ । गर्मी छल्न आएका पाहुँनालाई यो भन्दा ठूलो उपहार केही हुनै सक्दैन । होमस्टेका सचिव मन बहादुर ठाडाले यो होमस्टेमा यो वर्ष १९ सय बढी पाहुँनाहरू आइसक्नुभएको बताउनुभयो ।

होमस्टे प्रयोजनकै लागि १२ वटा घर छन् । यो सामुदायिक होमस्टे समेत भएकोले पाहुँनाको इच्छा अनुसार समूहमा बस्न चाहनेहरुलाई सामुदायिक रुपमा समूहमा र घरघरमा बस्न चाहनेहरुलाई सोही बमोमिज राख्ने गरिएको उहाँले बताउनुभयो । अहिले गर्मीको समय भएकोले पनि बुटवल लगायत गर्मी धेरै हुने तराईका स्थानबाट यो होमस्टेमा धेरै पाहुँनाहरू आउने गरेको उहाँले बताउनुभयो ।

बास बस्न आइपुगेका पाहुँनाको रोजाइँ अनुसार खाना खाजा खुवाइन्छ । साँझको समयमा सथनीय कलासंस्कृतिको प्रस्तुती हुन्छ । अर्को बिहान पाहुँनाले स्थानीय पर्यटकीय स्थलहरुको अवलोकन गर्छन्, फर्केपछि स्थानीय परिकारसहितको खाजा खुवाइन्छ र फर्कन चाहनेहरुलाई सम्मान बिदाई गरिन्छ । जल्पाका वडाध्यक्ष नीर बहादुर सारुले यो होमस्टे पूर्वखोलाकै गौरवको रुपमा अगाडि बढेको बताउनुभयो । २०७९ मंसिरबाट औपचारिक रुपमा सुरू भएको यो होमस्टे संचालनको प्रक्रिया, तालिम, सास्कृतिक कार्यक्रमका लागि पोशाक लगायतका बिषयमा गाउँपालिकाले सहयोग गरेको उहाँले बताउनुभयो ।

अहिले साँस्कृतिक कार्यक्रम खुल्ला मञ्चमा हुन्छ । पानी परेको अवस्थामा कार्यक्रम संचालनका लागि अप्ठेरो हुने भएकोले छिटै हल निर्माणको तयारी रहेको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले गाउँपालिकाको गौरवको रुपमा रहेको ढोलीमारा सामुदायिक होमस्टेले छोटो समयमै ग्रामीण पर्यटन विकासमा राम्रो फड्को मारेको बताउनुभयो ।

होमस्टे सुरू भएपछि पहिचान बढेको, स्थानीयहरुमा स्वरोजगार सिर्जना सम्भव भएको र गाउँको उत्पादन गाउँमै खपत हुन थालेको बताउनुभयो । किवीको पकेट क्षेत्र पनि नजिकै छ । गाउँपालिकाले प्रदेश सरकार र बन कार्यालयसँगको समन्वयमा पुर्वाधार निर्माणमा सहजीकरण पनि गरेको छ । अध्यक्ष थापाले भन्नुभयो ।

यहाँको भ्युटावर, पिकनिक स्थल, लायन पार्क, वृक्षारोपण गरिएका थरिथरिका फलफुल,आकर्षक फुलबारी उद्दान, रमणीय अम्रिसो खेती, किवी खेती यहाँको प्रमुख आकर्षण हो । यहाँका मादले गुफा,खाँणदेवी गुफा पनि पर्यटकका लागि आकर्षणको केन्द्र बनेको अध्यक्ष थापाले बताउनुभयो ।

पाल्पा पत्रकार महासंघले केन्द्रलाई भन्यो–शाखाको निर्णय आधिकारिक हो

पाल्पा । नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरण अभियान चलाइरहेको छ । सदस्यता शुद्धिकरणका सन्दर्भमा केन्द्रबाट सार्वजनिक पाल्पा शाखामा नविकरण हुने सदस्यहरुको बिवरण जिल्ला शाखाको निर्णय भन्दा बाहिर भएकोले जिल्ला शाखाको निर्णय बमोजिम कार्यान्वयन गरी सो बमोजिम नविकरणका लागि सिफारिस गर्न पाल्पा शाखाले केन्द्रीय समितिलाई अनुरोध गरेको छ ।

शाखाले २०८० साल असार ५ गते सम्पन्न कार्यसमितिको बैंठकले सिफारिस गरेका पत्रकारहरुको सदस्यता कायम राख्न लिखित रुपमा आग्रह गरेको हो । केही दिन अघि केन्द्रीय समितिका अध्यक्ष महासचिवद्वारा हस्ताक्षरित लिस्टको नामावलीले जिल्लामा विवाद बढाएको, न्योचित नभएको, कयौ पत्रकारहरु नाम लिष्टमा नपरेकाले यही अवस्थामा आसन्न निर्वाचन गर्न अप्ठेरो हुने शाखाले जनाएको छ ।

पाल्पा कार्यसमितिका बैठकले ९६ पत्रकार सदस्यहरुबाट ७१ जनाको नाम लिष्ट प्रदेश तथा केन्द्रमा सिफारिस गरेको थियो । पत्रकार महासंघ पाल्पाको २०८१ साल जेठ १५ गते बसेको कार्यसमितिको बैठकले विगतमा सिफारिस गरेको ७१ जनाको सदस्यता कायम राख्न केन्द्रिय महासंघलाई अनुरोध गरेको शाखा अध्यक्ष रेखीराम रानाले बताउनुभयो । शुद्धिकरणको नाम लिष्टमा धेरै पत्रकारहरुको नाम छुटेकाले जिल्ला कार्यसमितिले सिफारिस गरेको नामावलीलाई नै अन्तिम मान्न अनुरोध गरिएको अध्यक्ष रानाले बताउनुभयो ।

केन्द्रले पठाएको शुद्धिकरणको नामावली अनुसार शाखाको दैनिक कामकाज गर्न अप्ठ्यारो परेको र आसन्न निर्वाचन गराउन समेत कठिनाई हुने शाखा सचिव यज्ञमूर्ति तिमिल्सिनाले बताउनुभयो ।

 

मुना मेमोरियल ट्रष्टको बार्षिक कार्यक्रम तथा छात्रबृत्ति वितरण

पाल्पा । रामपुर नगरपालिका १० स्थित मुना मेमोरियल ट्रष्टको सामुदायिक भवनमा १४ औं मुना अधिकारी पौड्याल स्मृति समारोह तथा जनकल्याण मावि रामटारबाट २०८० को एसइई मा उत्कृष्ट अंक ल्याउन सफल छात्रा सविता पाठकलाई सम्मान गरिएको छ ।

छात्रा पाठकलाई नगद रु ७ हजार ५ सय र प्रशंसापत्रले सम्मान गरिएको हो । ट्रष्टका अध्यक्ष जनार्दन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिकाकी उपप्रमुख बालकुमारी थापाले संस्थाको छात्रबृत्ति वितरण कार्यक्रमले बिद्यार्थीमा हौसला दिने बताउनुभयो । उहाँले यसप्रकारको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले ट्रष्ट भवनको प्रांगण निर्माणमा नगरपालिकाको तर्फबाट बजेट बिनियोजन गरिने बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य पिताम्बर ओस्ती, जनकल्याण माविका अध्यक्ष बिष्णु प्रसाद भण्डारी, बिद्यालयका प्रअ आनन्द भण्डारी, शिक्षा सेवीहरु बावुराम तिमिल्सिना, शोभाकान्त भण्डारी, समाजसेवीहरु नोलराज भण्डारी, जगन्नाथ तिमिल्सिना, रामकृष्ण भण्डारी, ज्ञानप्रसाद भण्डारी, नेतृहरु द्ुर्गा भण्डारी, पार्वती न्यौपाने, पुरस्कृत बिद्यार्थी सविता पाठक, अभिभावक माया पाठक लगायतले मुना ममोरियल ट्रष्टको योगदानको कदर गर्नुभयो ।

ट्रष्टकी साधारण सदस्य सावित्रा अधिकारीको स्वागत तथा सचिव उपेन्द्र अधिकारीको संचालनमा कार्यक्रम चलेको थियो ।
उपेन्द्र अधिकारीबाट

 

सांसद नरहेपनि पाल्पाको विकासमा निरन्तर छुः पूर्व सांसद पाण्डेय

पाल्पा । पूर्वसांसद सोमप्रसाद पाण्डेयले आफू अहिले सांसदको रुपमा नरहेपनि पाल्पाको विकास र समृद्धिको लागि निरन्तर लागिपरेको बताउनुभएको छ । सोमवार पाल्पामा क्रियाशील पत्रकारहरुसँगको कुराकानीका क्रममा पूर्वमन्त्री समेत रहनुभएका पाण्डेयले आगामी वर्षको बजेटमा पाल्पाका बिशेष आवश्यकताका योजनाहरुलाई समेट्ने गरी सम्बन्धित मन्त्रालयमा आफूले बजेट माग सहित छलफल अन्तरक्रिया गरेको बताउनुभयो ।

पाल्पामा ब्लड बैंक स्थापना कार्यका लागि भवन निर्माणमा शहरी बिकास मन्त्रालयमा रु २ करोड बजेट बिनियोजनका लागि आफूले ध्यानाकर्षणपत्र बुझाएको पाण्डेयले बताउनुभयो । त्यस्तै टक्सारमा रहेको महाचैत्य बिहारको प्रवर्धनका लागि सभाहल निर्माण र अन्य जीर्णोद्धार कार्यका लागि पनि बजेट माग गरिएको र आगामी वर्षको बजेटमा उक्त विषयमा समावेश हुने बिश्वास रहेको पाण्डेले बताउनुभयो ।

माण्डब्य बहुमुखी क्याम्पस हातामा बहुउद्देश्यीय भवन निर्माण, बगनासकालीको दरुङ्गाबाट चिउरीबास राम्दी मोटरबाटो स्तरोन्नतीको लागि बजेट माग गरिएको उहाँले बताउनुभयो । स्थानीय तहहरुमार्फत माग भएका योजनाहरुमा मन्त्रालयहरुसँग समन्वय गर्ने, क्रमागत योजनाहरुको निरन्तरताको बिषयमा पहल गर्ने कार्यमा आफू लागि परेको उहाँले बताउनुभयो ।

पाण्डेयले तानसेनलाई ऐतिहासिक शहरको रुपमा विकास गर्ने, लुम्बिनी आएका बौद्धमार्गीहरुलाई तानसेनसम्म ल्याउने, तानसेनको श्रीनगरलाई बौद्ध गार्डेनको रुपमा विकास गर्ने गरी योजना बनाउनुपर्ने र उक्त कार्यका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।अव पाल्पाको भविष्य भनेकै पर्यटनमा छ । यहाँका पर्यटकीय स्थलहरुलाई प्रवर्धन गर्दै पाल्पाको विकास छुट्टै तरीकाले गर्ने दीर्घकालिन योजना बनाउनुपर्छ । सांसद पाण्डेयले भन्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले पूर्व सांसद पाण्डेयको पाल्पा विकास सम्वन्धी क्रियाशीलता र निरन्तरताबाट अन्य नेताहरुले पनि सिक्नुपर्ने बताउनुभयो ।

 

 

एमाले पाल्पाको १०औं जिल्ला अधिवेशन तयारी पूरा

अनुसन्धानात्मक लेखन तालिम सम्पन्न

गोपालप्रसाद वश्याल । पाल्पा
त्रिभुवन विश्वविद्यालय, अनुदान आयोग सानोठिमीको सहयोग र अनुसन्धान ब्यवस्थापन समिति, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको आयोजनामा आयोजित तीन दिने अनुसन्धनात्मक लेखन तालिम आज सम्पन्न भएको छ ।
त्रिभुवन बहुमुखी क्याम्पससहित पाल्पाका विभिन्न पाँच क्याम्पसका ५९ जना प्राध्यापकहरू सहभागी यस तालिममा डा. टंक पन्थ, डा. रामनाथ न्यौपाने, डा. निलम नेपाल, डा. पित बहादुर नेपाली, डा. लक्ष्मी सापकोटा, शारदा प्रसाद भट्टराई, शारदा खनाल, सन्तोष खनाल, गोपालप्रसाद वश्याल र राजु पराजुलीले अनुसन्धनात्मक लेखनका विभिन्न पक्षका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अनुसन्धान कार्य र अनुसन्धनात्मक लेखनका विधि, प्रक्रिया, शैली, ढाँचा लगायत अनुसन्धानका मूल्य, मान्यता र आचरणकासम्बन्धमा कार्यपत्र पेश गरिएको थियो ।
तालिम समापनका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन क्याम्पसका प्रमुख टंक प्रसाद भट्टराईले कक्षाशिक्षणमा नवीनतम विधि प्रविधिको प्रयोग गर्न आवश्यक रहेको र त्यसका लागि प्राध्यापकहरूको क्षमता विकासमा तालिम कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा भैरव बहुमुुखी क्याम्पस छहराका प्रमुख खिमराज घिमिरेले प्राध्यापकहरू  राष्ट्रकै गहना भएको बताउनुभयो । त्रिभुवन क्याम्पसका विद्यार्थी कल्याण समितिका संयोजक पुष्कर आचार्यले प्राध्यापकहरूले पारस्परिक आदानप्रदानबाट सिक्नुपर्ने बताउनुभयो ।
प्राध्यापक संघ इकाइ समितिका सभापति खिम बहादुर रानाले त्रिभुवन क्याम्पसमा प्राज्ञिक वातावरण सिर्जना भएको बताउनु भयो । कार्यक्रममा कर्मचारी संघ इकाइ सभापति डुकुलराज ढकाल, स्ववियु सभापति कृष्ण अर्यालले कार्यक्रम अनुसन्धनात्मक कार्यका लागि उत्प्ररणामूलक रहेको बताउनुभयो । त्यस्तै सहभागीका तर्फबाट लक्षिमा ज्ञवाली र तुलसीराम पोख्रेलले कार्यक्रमबाट प्राज्ञिक उन्नयन, ब्यक्तित्व विकास र ज्ञान सिप अद्यावधिक भएको बताउनु भयो ।
आजै स्टाटिस्टिक्स्का प्राध्यापक डा. लक्ष्मी प्रसाद सापकोटाले विद्यावारिधि उपाधि हासिल गर्नुभएकोमा क्याम्पस प्रमुख टंक भट्टराईले सम्मान एवम् बधाई ज्ञापन गर्नु भएको थियो । समापन कार्यक्रम अनुसन्धान ब्यवस्थापन समितिका संयोजक डा. शंकर गैरेको अध्यक्षता र डा रामनाथ न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

एमाले पाल्पाको अध्यक्ष को बन्ला ?

पाल्पा । नेकपा एमालेको अध्यक्षमा युवा नेता एवम् हालका सचिव रामजी पोखरेल र पुर्व पार्टी सचिव ओम बहादुर घर्तीको नाम चर्चामा छ ।

नेकपा एमालेको जिल्ला अधिवेशन नजिकिदै गर्दा नेतृत्वमा को आउने भन्ने चर्चा परिचर्चा सुरू हुन थालेको हो । एमालेमा पछिल्लो समय जिल्लामा युवाको नेतृत्व आउनुपर्ने चर्चा चलेको छ । एमाले पाल्पाको यहि जेठ ११ र १२ गते १० औं जिल्ला अधिवेशन हुँदैछ ।

एमाले जिल्ला अध्यक्षको लागि वर्तमान सचिव रामजी पोखरेल र पूूर्व पार्टी सचिव ओमबहादुर घर्तिमगर आ–आफ्नो तयारीमा जुट्नुभएको छ । दुबै उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित रहेको भन्दै अधिवेशन प्रतिनिधिहरुसँग मतदानको लागि फोन तथा भेटघाटलाई तीब्र बनाउनुभएको छ ।

पार्टीमा वर्तमान सचिवको जिम्मेवारी निर्वाह गर्दै आउनुभएका पोखरेलले संगठन चलाएको सचिवको हैसियतले स्वभाविक रुपमा अध्यक्षमा सर्वसम्मत रुपमै आफुले पाउनु पर्ने बताउनुभयो । सर्वसम्मत नभएपनि चुनावी प्रतिष्प्रर्धा हुँदा पनि युवादेखी दलित, जनजाति, महिला, पाका पुस्तासम्म सबैको रोजाईमा रामजी पोखरेल भएकाले अत्याधिक मत ल्याएर अध्यक्ष पदमा विजयी हुने अध्यक्षका उम्मेदवार पोखरेलले बताउनुभयो ।

अध्यक्ष पदका अर्का उम्मेदवार घर्तीले लामो सयमसम्म पार्टी सचिव भएर काम गरेको, कार्यकर्ताहरुको समस्या तथा मनोभावना बुझेको, सबैपक्षलाई समेटेर लैजाने क्षमता भएकाले पार्टीकार्यकर्ता तथा नेतृत्व वर्गले ओम घर्तीलाई नै सर्वसम्मत रुपमा अध्यक्ष बनाउनेमा आफु ढुक्क रहेको बताउनुभयो । निर्वाचन भईहालेमा पनि कार्यकर्ताहरुको पहिलो रोजाई नै घर्ती रहेकाले आफ्नो जित सुनिश्चित रहेको अध्यक्ष पदका उम्मेदवार घर्तिले बताउनुभयो । यद्यपी नेताहरु भने सर्वसम्मत नेतृत्व चयनको तयारीमा लागिपरेका छन् ।
तस्बिरः रेडियो मुक्तिनाथको सहयोगमा

माथागढीमा विकास आयोजनाहरुको काम तीव्र

पाल्पा । माथागढी गाउँपालिकामा विकास योजनाका कामहरुले तीव्रता पाएको छ । पालिकाका बिभिन्न वडाहरुमा संचालित भवन, बाटो, सिंचाई लगायतका योजानहरुको काम धमाधम भइरहेको पालिकाका इन्जिनियर धर्मेन्द्र कुमार यादवले बताउनुभयो ।

माथागढी गाउँपालिकाको वडा नं. ४ झडेवामा निर्माणधिन १५ शैयाको प्राथमिक अस्पताल निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । यो अस्पताल निर्माणको काम प्राकृतिक निर्माण प्रालिले गर्दै आएको छ । १२ करोड १८ लाख ९९ हजार ५ सय ९१ रुपैयाँमा यो अस्पतालको निर्माण कार्य भइरहेको र हालसम्म ५५ प्रतिशत बित्तिय प्रगति भएको इन्जिनियर यादवले बताउनुभयो ।

कसेनी स्वास्थ्य चौकीको भवन निर्माण कार्य पनि ९० प्रतिशत सम्पन्न भएको छ । नेरिसा कन्स्ट्रक्सन प्रालिले १ करोड ६० लाख ६२ हजार १५ रुपैयाँमा सम्झौता गरी स्वास्थ्य चौकी भवन निर्माण कार्य गरिरहेको छ । वडा नं. १ चिदीपानी वडा कार्यालय भवनको निर्माण कार्य ९० प्रतिशत बढी सम्पन्न भएको छ । गणेश ओम श्री कालासिला जेभिले १ करोड १७ लाख २२ हजार ९४८ मा सम्झौता गरी भवन निर्माण गरिरहेको छ ।

देवीनगर झडेवाबाटो स्तरोन्नतीको काम ४० प्रतिशतले सम्पन्न भएको छ । यो बाटोको काम यस कन्ट्रक्सन एण्ड सप्लायर्सले ४० लाख १ हजार ८ सय ४९ रुपैयाँमा सम्झौता गरी निर्माण प्रक्रिया आगडि बढाएको हो । त्यस्तै देवगीर देबीनगर मोटरबाटो स्तरोन्नतीको काम पनि लगभग सम्पन्न हुने अवस्थामा छ । यो बाटोको काम ८० प्रतिशत बढी सम्पन्न भएको छ । यो बाटोको काम यस कन्ट्रक्सन एण्ड सप्लायर्सले ३८ लाख ८४ हजार ५ सय १७ रुपैयाँमा सम्झौता गरी निर्माण प्रक्रिया आगडि बढाएको हो ।

त्यस्तै मोहने मन्के दोहोरा फेदी मोटरबाटो स्तरोन्नतीको काम सम्पन्न हुने अवस्थामा छ । त्यस्तै सराई एक्लेबर दमार भैसीकट्टा मोटरबाटोको काम सम्पन्न भएको छ । सराई अगेनी बिस्कुनडाँडा सिलङ्गी मोटरबाटोको काम २५ प्रतिशतले सम्पन्न भएको छ । किसान मावि भवन निर्माणको काम १० प्रतिशत सकिएको छ । किउरेढापमा २८ मिटरको स्टील पुल बनाउने कार्य सम्पन्न भई फरफारक भइसकेको छ । त्यस्तै सडक अन्तरगत नै जगात पधेराटारी थान्सिङ मोटरबाटोको काम सम्झौता भई कार्य प्रक्रिया अगाडि बढेको छ । माथागढी पहुच मार्ग, गाउँपालिका प्रवेशद्धार निर्माण लगायतका योजनाहरू तीव्र रुपमा संचालन भइरहेका छन् ।

त्यस्तै बिशेष ससर्त आयोजना अन्तरगत उपभोक्ता समिति मार्फत पनि माथागढीमा बिभिन्न योजनाहरु संचालन भइरहेका छन् । कृषि उपज संकलन केन्द्र निर्माणको प्रक्रिया अगाडि बढेको छ । यो योजनाका लागि १५ लाख रुपैयाँ रहेको छ । ओखरीगौडा मोटरबाटो स्तरोन्नती वडा नं. ७ का लागि १० लाख रुपैयाँ बिनियोजन भएकोमा यो योजना फरफारक भइसकेको छ । हात्तीलुङ पारसान मोटरबाटो वडा नं. ५ का लागि १० लाख रुपैयाँ बिनियोजन भएकोमा यो योजना पनि सम्पन्न भई फरफारक भइसकेको छ । बेतनी बाघमारा बहादुर मोटरबाटो स्तरोन्नती वडा नं. ८ का लागि १० लाख रुपैयाँ बिनियोजन भएकोमा यो कार्य पनि सम्पन्न भइ फरफारक भइसकेको छ । टारीखेत ताकातुङ सिंचाई योजनाका लागि १० लाख, ठाडेखोला मोजखर्क कराङचाका केबरेढाप सिंचाई योजना वडा नं ७ का लागि १० लाख रुपैया“ बिनियोजन भएकोमा कार्य सम्पन्न भई फरफारक समेत भइसकेको छ । त्यस्तै तल्लो केरउली लिफ्टििङ खानेपानी बिद्युत बिस्तार माथागढी ४ का लागि १० लाख बिनियोजन भएकोमा ५० प्रतिशत काम सम्पन्न भएको छ ।

गाउँपालिका भित्र रहेका येजनाहरुलाई गुणस्तरीय रुपमा निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी लागिपरेको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो । उहाँले पालिकाका ८ वटै वडामा प्राविधिकहरू खटाइएको र प्राविधिकहरुले बेला बेलामा अनुमगन गरी योजनाको अवस्थाबारे जानकारी लिने र गुणस्तरीयताको बिषयमा पनि निगरानी गर्ने गरेको बताउनुभयो ।

गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले अनुगमनहरुको अनुगमन र प्राविधिकहरुले स्थलगत रुपमा तयार पारेको स्थलगत प्रतिबेदन तथा मुल्यांकनको आधारमा मात्र भुक्तानी गर्ने गरिएको बताउनुभयो ।

पाल्पाका ९ हजार ४ सय ६७ बालबालिकालाई आइपिभी खोप लगाइदै

पाल्पा । पाल्पामा पोलियो बिरुद्धको खोप अभियानबारे जिल्ला खोप समन्वय समिति, पाल्पाका पत्रकार तथा संचारकर्मी अभिमुखीकरण गरेको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले आईपीभी खोप खोप अभियान प्रभावकारी बनाउन सबैको उत्तिकै भूमिका रहेको बताउनुभयो । उहाँले वि.स. २०७३ बैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका खोप अभावका कारण छुटेका बालबालिकालाई मात्र आइपीभी खोप लगाइने बताउनुभयो । उक्त अवधिका छुट भएका बालबालिको संख्या पाल्पामा ९ हजार ४ सय ६७ लाई पोलियो बिरुद्धको खोप लगाइने बताउनुभयो ।

पाल्पामा दुई चरणमा खोप अभियान सञ्चालन हुनेछ । अभियान यही जेष्ठ १३ गतेदेखि २७ गतेसम्म खोप अभियान सञ्चालन हुने बताइएको छ । यस पटक बालबालिकाले विद्यालयमै खोप लगाउन पाउने छन् । खोप केन्द्र नै विद्यालयमा बनाएर खोप लगाउने तयारी गरिएको प्रमुख गिरीले बताउनुभयो ।

अभियान पहिलो चरणमा जेठ १३ गतेदेखि २० गतेसम्म जिल्लाका ६ स्थानीय तहहरु तानसेन नगरपालिका, रिव्दीकोट गाउ“पालिका, बगनासकाली गाउँपालिका, रैनादेवी छहरा गाउपालिका, तिनाउँ गाउपालिका र माथागढी गाउपालिकामा खोप लगाइनेछ । यस्तै दोस्रो चरणमा जेठ २१ गतेदेखि २७ गतेसम्म रामपुर नगरपालिका, रम्भा गाउँपालिका, पूर्वखोला गाउपालिका र निस्दी गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । खोप लगाउनका लागि विभिन्न विद्यालयमा ४ सय ४८ खोप केन्द्र र ८१ वटा स्वास्थ्य संस्थामा केन्द्र तोकिएको छ । ५ सय २७ जना स्वास्थ्यकर्मी र ५ सय २९ जना स्वयम्सेवक परिचालन हुनेछन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा सिंजाली, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानालगायतले खोप अभियान सफल बनाउनुपर्ने बताउनुभयो ।