बगनासकालीको गौरवको योजनाः चिलाङ्दी मालारानी सडक स्तरोन्नतीको प्राविधिक कार्य अगाडि बढ्यो

0
971

पाल्पा । बगनासकाली गाउँपालिकाको आर्थिक वर्ष २०८०।०८१ को गौरवको योजनाको रुपमा रहेको चिलाङ्दी गोपाल्दी मालारानी सडकको स्तरोन्नतीका लागि प्राविधिक कार्य अगाडि बढेको छ । आइतवार गाउँपालिका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, गाउँपालिकाका इन्जिनियर प्रमोद कुँवर लगायतको टोलीले स्थलगत रुपमा अनुगमन, सर्भे प्राविधिक स्टेमेट गरेका छन् ।

गाउँपालिकाले यस वर्ष यो बाटोका लागि रु १ करोड रुपैयाँ बिनियोजन गरेको छ । यो पालिका अन्तरगतको बजेटको सबै भन्दा ठूलो योजना हो । अघिल्लो आर्थिक वर्षमा ५० लाख रुपैयाँसम्मका योजनाहरु मात्र रहेका थिए । यो बाटोको पहुँचमा बगनासकाली गाउँपालिका अन्तरगतका ५ वटा वडाहरु रहेका छन् । चापपानी, बरांगदी, खानीगाउँ, यम्घा र दर्लमडाँडाका नागरिकहरु यो बाटोबाट प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् । त्यस्तै राम्दीसम्म जोडिने भएकोले तानसेनमा छरितो रुपमा राम्दी हुँदै स्यांगजा पोखरा जान सकिन्छ । धेरै वर्ष अघि ओटासिल गरिएको यो बाटो जीर्ण भइसकेको छ ।

यो बाटोको स्तरोन्नती हुनुपर्ने माग यस क्षेत्रका नागरिकहरुको रहेको थिए । सोही बमोजिम पालिकाले यस वर्षको गौरवको योजनाको रुपमा यो बाटोलाई अगाडि बढाएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । उहाँले यो बाटोको स्तरोन्नती कार्य समयमै सम्पन्न हुने गरि कार्य प्रारम्भिक कार्य अगाडि बढाइएको बताउनुभयो । गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले यो बाटोले बगनासकाली गाउँपालिकाको आधा भन्दा बढी भुभाग समेट्ने भएकोले पनि बाटोको स्तरोन्नतीका लागि गाउँपालिकामा धेरै नागरिकहरुको माग भइ आएको र आवश्यकताको पहिचान गरि पालिका लागिपरेको बताउनुभयो ।

प्राविधिक स्टेमेट संकलन तथा स्थलगत अनुगमन कार्यमा बगनासकाली गाउँपालिका वडा नं. ९ का अध्यक्ष ठानेश्वर तिमिल्सिना, ५ का अध्यक्ष ओमप्रकाश गैरे, ७ का अध्यक्ष गण बहादुर बुढाथोकी, ८ का अध्यक्ष मोतिलाल बस्याल सहित गाउँपालिकाका इन्जिनियर प्राविधिक कर्मचारी, गाउँसभा सदस्यहरु कृष्ण भुसाल, जंग उचै, प्रकाश न्यौपाने लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

यो बाटोको स्तरोन्नती हुने भएपछि यस क्षेत्रका नागरिकहरु हर्षित भएका छन् । सदरमुकामबाट नजिक भएर पनि यो बाटो राम्रो हुन नसक्दा यस क्षेत्र ओझेलमा परेको छ । यो बाटो जीर्ण तथा ठूला ठूला खाल्डाखुल्डी रहेकोले दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । यो बाटो निर्माण कार्य सम्पन्न भएपछि सहज यातायातको पहुँच पुग्ने बिश्वास रहेको छ । यो योजना अन्तरगत चिलाङ्दी गोपाल्दी, मालारानी सडक जीर्ण भएकोले थप फराकिलो हुने गरि पिच गर्ने योजना रहेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here